काठमाडौं- क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पोखरा प्रिमियर लिग (पिपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल रहने भएको छ।
आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि सोमबार आयोजित कार्यक्रममा आयोजक क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामा र ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा चक्रराज पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार उक्त अस्पतालले पिपीएलका लागि आवश्यक पर्ने चिकित्सकसहित फिजियोथेरापिस्टका साथै खेल सञ्चालन हुने मैदानमा पनि स्वास्थ्यकर्मीसहित औषधि र अन्य उपकरण उपलब्ध गराउनेछ।
उक्त अस्पतालका मेडिकल डाइरेक्टर डा पाण्डेले विगत लामो समयदेखि आफूहरूले घाइते खेलाडीको उपचार गर्दै आएको र पिपीएलसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए भने आयोजक क्विन्सका प्रबन्ध निर्देशक लामाले क्रिकेट खेलाडीको उपचारमा उक्त अस्पतालले उल्लेखनीय सहयोग गरेको बताए।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले ग्राण्डी अस्पतालले लामो समयदेखि राष्ट्रिय टोलीका खेलाडीको सफल उपचार गरी खेल मैदानमा फर्काउन सफल भएको बताए। उक्त प्रतियोगितामा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौँ रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी छ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४