इटहरीः सोमबारबाट सुनसरी सदरमुकाम इनरुवामा रात्रिकालिन क्रिकेट प्रतियोगिता शुुरु भएको छ। यो प्रतियोगिता नेपालकै पहिलो रात्रिकालिन क्रिकेट प्रतियोगिता भएको आयोजकको दाबी छ।
टि–२० क्रिकेट प्रतियोगिताको आयोजना फूलबारी क्रिकेट क्लबले गरेको छ। प्रतियोगिता आगाडि असोज २८ गतेसम्म हुनेछ भने आयोजकले बताएको छ। आयोजक फूलबारी क्लबका अध्यक्ष शिव यादवका अनुसार हिमाली क्रिकेट क्लब झापादेखी धनगढी क्रिकेट एकेडेमीसम्म रहेका छन्।
इनरुवामा जारी क्रिकेट प्रतियोगिता मात्रै हैन प्रदेश १ मा यस अगाडि नै दुइ रात्रिकालिन खेलहरु भइसकेका छन्। विराटनगरमा गत चैत्र १७ देखी २६ गतेसम्म डे–नाइट विराट गोल्ड कप फूटबल प्रतियोगिता भएको थियो।
थ्रि–स्टारले जितेको उक्त प्रतियोगिता नै प्रदेश १ मा भएको पहिलो रात्रीकालिन खेलकुद प्रतियागिता थियो। प्रतियोगितापछि आयोजकले अस्थायी फ्लडलाइट स्थायी गर्न माग गरेका थिए।
यस्तैगरी विराटनगरमा पहिलोपटक प्रदेश १ मा रात्रिकालिन खेलकुद भएको दुई महिनापछि इटहरीमा पनि रात्रीकालिन भलिबल प्रतियोगिता भयो।
इटहरीस्थित बहुउद्देश्यीय क्षेत्रिय रंगशालामा रहेको भलिबल कोर्टमा भएको प्रतियोगिता जेष्ठ १७ गतेदेखि २० गतेसम्म संचालन भएको थियो। जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको यो प्रतियोगिताको बिजेता शसस्त्र प्रहरी बलको टोली भएको थियो ।
दर्शक छन, पुर्वाधार छैनन
प्रदेश १ का विराटनगर, इटहरी र इनरुवाजस्ता सहरले रात्रिकालिन खेलकुद प्रतियोगिता गरिसकेका छन्। प्रतियोगितामा दर्शकहरु राम्रोसँग आएका छन्। विराट गोल्डकपमा त दर्शकको भिड थाम्न नसकिएको आयोजकका अध्यक्ष नविन रिजालले बताए। फाइनल खेलको टिकट पु¥याउन हम्मेहम्मे भएको रिजालले बताए।
विराटनगरमा मात्रै हैन इटहरीमा समेत दर्शकहरु राम्रोसँग आएका थिए। दिउँसो आफ्नो कर्मक्षेत्रमा रमेर राती खेलकुद हेर्न आउन पाउने भएकाले भिड बढि भएको आयोजक जिल्ला खेलकुद विकास समितिका सदस्य बसन्त सुवेदीले बताए। उनले भने, ‘हाम्रोमा नयाँ अभ्यास भएर र मान्छेलाइ कामको चाप कम भएको भएर हुनुपर्छ, रातीको खेलमा राम्रोसँग दर्शकहरु आए।’
रात्रिकालिन खेलकुद गरिसकेका विराटनगर र इटहरीमा मात्रै हैन इनरुवामा जारि रात्रिकालिन क्रिकेट प्रतियोगितामा पनि उस्तै भिड भएको आयोजकले बताएको छ। आयोजक फूलबारी क्रिकेट क्लबका अध्यक्ष शिव यादवले सोमबारको पहिलो खेलमै धेरै दर्शक आएकाले आशावादी बनाएको बताए।
दर्शकले साथ दिएपनि लाइटको दीर्घकालिन व्यवस्था नभएकाले समस्या भने भएको आयोजकहरुको दुःखेसो छ। विराट गोल्डकप आयोजकले करोड बढी खर्चेर फुटबल खेल्न मिल्नेगरि फ्लड लाइटको व्यवस्था गर्यो।

प्रतियोगिता सकिएसँगै ति लाइटहरु हटाइए। आयोजकले मेयरदेखी मुख्यमन्त्रीसम्मलाइ अस्थायी फ्लड लाइट स्थायी गर्न माग गरे। सबैले सार्वजनिक भाषणमार्फत सहमत जनाए। तर, अझैसम्म विराटनगरको शहिद मैदानमा फ्लड लाइटको दीर्घकालिन जडान भएको छैन्।
इटहरीको अवस्था उस्तै छ। आयोजकले एक लाख बढी खर्चेर जडान गरेको लाइट प्रतियागिता सकिएपछि निकालियो। सदस्य सचिवको गृहनगर इटहरीमा स्थायी लाइटको व्यवस्था हुनुपर्ने माग इटहरीका खेल पेमीहरुले गरिहेका छन्।
इनरुवामा आयोजकले क्रिकेट खेल्न मिल्नेगरि महँगो शुल्क लगाएको लाइट पनि स्थायी हैन। यसलाइ स्थायी बनाएर दीर्घकालीन खेलकुद गर्नुपर्ने आयोजकको माग छ। आयोजक क्लबका अध्यक्ष यादव भन्छन, ‘हामीले रात्रिकालिन क्रिकेट दुःखले गरेरहेका छौँ। यस्तो दुःख अरुबेला नहुनलाइ स्थायी लाइट चाहिन्छ। जुन स्थानीय र प्रदेश सरकारले मात्रै गर्न सक्छन ।’
स्थायी लाइटको व्यवस्थापन हुनासाथ अत्यन्तै गर्मी भएको समयमा स्तरीय खेल अभ्यास गर्ने, प्रतियोगिताहरु गर्ने आधार बलियो हुने पूर्व अन्तराष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ बताउँछन । उनी भन्छन, ‘रात्रीकालिन खेलमा दर्शक पर्याप्त छन । सुरक्षा पनि पुग्दो छ। अब बाँकि भनेको स्थायी फ्लड लाइटसहितका फुटबल मैदान, क्रिकेट पीच र भलिबल कोर्ट मात्रै हुन।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४