काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्नेमा जोड दिएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज बधाई तथा शुभकामना दिँदै उहाँले सरकार र निजी क्षेत्रले एकले अर्कालाई सहयोग गर्नुपर्ने बताए।
“वर्तमान समयमा निजी उद्योगी व्यवसायीमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस हुन्छ। तर केही नहुने अवस्थामा हामी पुगिसकेका छैनौँ, केही अप्ठ्यारा र व्यवधान छन्, सरकार र निजी क्षेत्र मिलेर यी अप्ठ्यारा र व्यवधान हटाउनुपर्छ”, उनले भने , “देशको अर्थ व्यवस्थाबारे यहाँहरू जानकार हुनुहुन्छ, समाधान गर्ने पहल गरौँ। यो अप्ठ्यारोमा एकअर्कालाई सहयोग गर्ने समय हो।”
सहज अवस्थामा कसैले कसैलाई सहयोगको आवश्यकता नपर्ने उल्लेख गर्दै उनले अप्ठ्यारो समयमै एकले अर्कालाई सहयोग गर्नुपर्ने बताए। “सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन। यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ। म स्वीकार गर्न तयार छु। सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ। देशको कार्यक्षमता बढाउने चुनौती छ”, उनले भने।
आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीति विषय र आर्थिक दायित्वबीचको तादात्म्य नहुँदा कतिपय समस्या सिर्जना भएको उल्लेख गर्दै मन्त्री महतले बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक स्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादात्म्यका साथ सँगसँगै लैजानुपर्ने बताए। “तर राजनीतिक निर्णय एकपछि अर्को हुँदै गयो, त्यसमा हामीले प्रतिस्पर्धा गर्दै गइयो, परिवेश र वास्तविकता अर्कोतिर थियो। हामीले यथार्थ विश्लेषण गरेर आफ्नो क्षेत्रबाट कति योगदान दिन सक्छौँ, अहिलेको परिवेशमा त्यो महत्त्वपूर्ण छ”, मन्त्री महतले भने।
अर्थतन्त्रलाई सबल बनाउन आफूले राष्ट्र बैंकको नेतृत्वसँग औपचारिक र अनौपचारिक छलफल गरेको उल्लेख गर्दै उनले अब विस्तारै आर्थिक सूचकाङ्क सकारात्मक हुँदै जाने विश्वास व्यक्त गरे।