शनिबार, भदौ ६, २०८३

सवारी दुर्घटनामा पाँचको मृत्यु, दुईजना मृत भेटिए

 |  शनिबार, वैशाख २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २, २०८०

काठमाडौं- देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने दुईजना मृत फेला परेका छन्।

प्रहरीका अनुसार कञ्चनपुरको शुक्लाफाटा नगरपालिका-५ शुक्लाफाटा राष्ट्रिय निकुञ्ज नजिक सडकमा रोकी राखेको ना.५ ख ९७३२ नम्बरको ट्रकमा सु.प.प्र.०२००३ प ४४८२ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक बेदकोट नगरपालिका-३ बस्ने ३६ वर्षीय कमलावती पाण्डेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर भएका कमलावतीको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रुपन्देही, देवदह नगरपालिका-१ भवरावारीमा लु.१ ह ३८१४ नम्बरको अटो र लु.५२ प ५०३३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा मोटरसाइकलमा सवार देवदह नगरपालिका-२ बस्ने २३ वर्षीय युवराज सारु मगर र अटोमा सवार नवलपरासी सुनवल नगरपालिका-८ बस्ने २५ वर्षीया दिलमाया सुनार रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल र अटोमा सवार अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार अटो चालकको प्रहरीले खोजी गरिररहेको छ।

मोरङ, रंगेली नगरपालिका-३ आमतोलास्थित सडकमा प्र १-०१-००१ त ९५५३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ग्रामथान गाउँपालिका-५ तेतरीया बस्ने ६० वर्षीया बैशाखी चौधरी र सोही ठाउँ बस्ने ५१ वर्षीया रिता कुमारी माझी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते रिता कुमारीको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो भने बैशाखीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका अन्य १७ जनाको रंगेली अस्पताल र गोल्डेन अस्पताल बिराटनगरमा उपचार भइरहेको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

करेन्ट लागेर मृत्यु

बाराको कलैया उपमहानगरपालिका-२ पक्डी बस्ने ३० वर्षीय भाजु रामको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको छ। आफ्नै घरमा बिद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

डुबेर मृत्यु

दाङको लमही नगरपालिका-२ सोनपुर बस्ने गणेश चौधरीकी छोरी १ वर्षीया आयुषा चौधरीको आफ्नै घर नजिकै रहेको माछा पोखरीमा खेल्ने क्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

मृत फेला

कालीकोट, रास्कोट नगरपालिका-४ बस्ने ३६ वर्षीय मेघराज उपाध्याय सोही नगरपालिका-३ स्थित सडकमा शनिबार मृत अवस्थामा फेला परेका छन्। 

रूपन्देही, बुटवल उपमहानगरपालिका-११ बिनापाते डेरा गरी बस्ने नवलपरासी (पूर्व) कावासोती नगरपालिका-९ घर भएका ४० वर्षीया माया चौधरी शौचालयभित्र शनिबार मृत अवस्थामा फेला परेकी छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Apr 15, 2023| 18:40 शनिबार, वैशाख २, २०८०
प्रतिक्रिया दिनुहोस्