जनकपुरधाम- जनकपुरसहित यस क्षेत्रको चर्चित गीत ‘इएह छी हमर जनकपुर’ को भिडियो रिलिज भएको छ। शुक्रबार जनकपुरस्थित गिरिजा चलचित्र मन्दिरमा प्रिमियर शोको आयोजना गरी ‘इएह छी हमर जनकपुर’ को भिडियो रिलिज गरिएको हो।
जनकपुरस्थित नवरस स्टुडियोको प्रस्तुति र मिथिला नाट्यकला परिषदको सहकार्यमा तयार पारिएको भिडियो प्रदेश २ का पर्यटनमन्त्री रामनरेश रायले रिलिज गरेका हुन्।
जनकपुरधामको पवित्र गंगा सागरमा हुने गंगा आरतीमा प्रत्येक दिन साँझ र अधिकांश कार्यक्रमको मञ्चहरुमा यो गीत बज्दै आएको छ। सर्वसाधारबीच गीतले चर्चा कमाएपछि यसको भिडियो पनि बजारमा ल्याइएको नवरस स्टुडियोका सञ्चालक सुनिल मल्लिकले जानकारी दिएका छन्।
राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका नाट्य विभागका पूर्व प्रमुख रमेश रञ्जनद्धारा लिखित गीतमा सुनिल–प्रवेशले संगीत दिएका छन्। गीतमा सुनिल मल्लिक, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, शिवानी भगत, संगीता देव र निहारिका मल्लिकले स्वर दिएका छन्। विकास साहको निर्देशनमा तयार पारिएको ‘इएह छी हमर जनकपुर’ को भिडियोमा धिरज ठाकुरले नृत्य निर्देशन गरेका छन्।
जनकपुरका स्थानीय कलाकारहरुको सहयोगमा तयार पारिएको ‘इएह छी हमर जनकपुर’ को भिडियो गीत झैँ सबैले मन पराउने प्रस्तोता सुनिलको विश्वास छ। ‘इएह छी हमर जनकपुर’ को प्रिमियर शो हेर्न जनकपुरका बुद्धिजिवी, कलाकारसहित पाँचसय भन्दा बढीको संख्यामा दर्शकहरु पुगेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४