बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

रोएरै फिल्म चलाउन खोज्‍नेहरु

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
काठमाडौं- भनिन्छ, फिल्ममा सबैभन्दा सहजै बिक्ने केही छ भने त्यो आँशु नै हो। खासगरी पर्दामा चल्ने फिल्म दृश्यका कारण दर्शकको आँखाबाट आँशु झर्न सक्यो भने त्यो फिल्मको सफलताको बाटो त्यहींबाट कोरियो भन्ने जान्दा हुन्छ। 

निर्देशक शिव रेग्मी दर्शक रुवाउने मामिलामा खुब अगाडि थिए। त्यसैले पनि उनका अधिकांश फिल्म सफल छन्। कतिपय निर्माता, निर्देशकले भने फिल्मले रुवाउने दाबीसहित हलबाहिर दर्शकलाई रुमाल बाँड्दै पनि बसे। 

आँशु पुछ्ने रुमाल नै दिएपछि पक्कै पनि फिल्म गतिलै बनेको आशा गरेर पनि दर्शक फिल्म हेर्न गए। पछि तिनै दर्शकले आँशु त होइन, सिंगान पुछ्न काम लाग्यो भनेर फिल्मको आलोचना गरेको पनि सुनिएको थियो।

जे होस्, आँशु फिल्म चलाउने गतिलो हतियार पहिले पनि थियो र अहिले पनि छ। अहिले यति फरक छ, फिल्म हेरेर दर्शकको आँशु आउने नभई स्वयं कलाकारले चुहाउन थालेका छन्। फिल्म चल्नै छाडेपछि अचेल रोएरै भए पनि फिल्म चलाउन मरिहत्ते गर्ने परिपाटी फस्टाएको छ।
 
पत्रकार डब्बु क्षत्री निर्देशित फिल्म 'राहदानी'को प्रिमियर सो हेरेपछि तत्कालीन कृषि मन्त्री हरिबोल गजुरेल मिडियाका अघिल्तिर अप्रत्याशित रूपमा डाँको छोडेरै रोए। वैदेशिक रोजगारसम्बन्धि फिल्मको कथावस्तु केही संवेदनशील पक्कै थियो। प्रिमियरमा फिल्म हेर्ने अरू पनि थिए। तर, रुने सवालमा मन्त्री गजुरेल अपवाद निस्किदिए। परिस्थिति यस्तो थियो कि मन्त्रीको रोदनमा पनि शंका जन्मियो। 

फिल्म पक्षधरले मन्त्री रुवाएर फिल्मको प्रचार गर्न खोजेको आरोप पनि सुनियो। हुन पनि, रिलिजपछि कतिपय दर्शकले टिकट काउन्टरमा गएर मन्त्री रोएको फिल्मको टिकट दिनूस् न भनेको पनि सुनियो। तर, फिल्मले मन्त्री रुवाउन सफल भए पनि दर्शक रुवाउन सकेन, फ्लप भयो।

नेपालमा अझै पनि बलियो कथावस्तु र प्रस्तुतिमा नगण्य फिल्म बन्छन्। बन्छन् त केवल कि हँसाउनका लागि कि रुवाउन। चुट्किला शैलीको कमेडीमा फिल्म चलाउने छक्कापञ्जा शैली एकातर्फ चलेकै छ भने फिल्मकै कलाकारका रुवाबासीले दर्शकमा समवेदना निकालेर हलसम्म तान्ने प्रयास पनि सँगसँगै चलिरहेको छ।

फिल्म कोहिनूर रिलिजको तेस्रो दिन सबेरै यसका निर्माता तथा नायक श्रीकृष्ण श्रेष्ठको असामयिक निधनको खबर आयो। श्रेष्ठले एक महिनाअघि मात्रै सोही फिल्मकी नायिका श्वेता खड्कासँग विवाह गरेका थिए। पतिको असामयिक निधनले श्वेता मुर्छितजस्तै भइन्। जनमानसको लर्को शवयात्रादेखि हलसम्म तन्कियो। श्वेताको पीडालाई दर्शकले हलसम्म गएर भए 

पनि मल्हम लगाइदिए। फिल्मले रेकर्ड ब्रेक व्यापार गरिदियो। पछि तिनै श्वेता आफ्नै निर्माण तथा अभिनय रहेको फिल्म 'कान्छी' रिलिजताका पनि पतिलाई नै सम्झेर चार वर्षपछि पनि बारबार रोइन्।

उनका अन्तरवार्ता युट्युबमा खुब हेरिन्थे भने 'कान्छी' हेर्न पनि दर्शक फेरि आइदिए। तर यसपालि दर्शकमा पनि त्यो समवेदनाको पारो धेरै घटेको पाइयो। कतिपयले त श्वेताको रोदनमा व्यापारिक स्वार्थ पनि मिसिन थालेको शंका पनि गरे। जब-जब फिल्म चल्न थाल्छ, तब श्वेताको रुवाइ शुरु हुनुले पनि त्यसरी शंका गर्नेलाई बल पुगेको हुनुपर्छ।

केही साताअघि मात्रै रिलिज फिल्म 'इन्टु मिन्टु लन्डनमा'को प्रिमियर सोमा यसकी निर्देशक रिनाशा राई मिडियाकै सामू अचानक रोइन्। माइक समाएर केही बोल्न खोजेकी उनको वाक्य नै फुट्न गाह्रो भइदियो।

अरूले गएर सम्हाल्नुपर्ने स्थिति नै आयो। मिडियामा रिनाशाको त्यही आँशु चल्यो भने त्यसले फिल्मको टिकट पनि बिकिदियो। फिल्मले यस वर्षको सबैभन्दा बम्पर ओपनिङ नै गरिदियो। पछि उनै रिनाशा फिल्म प्रदर्शनको चार दिन नहुँदै सक्सेस पार्टीमा खुशी-खुशी केक काट्न व्यस्त थिइन्।

हुन त, पीर नपरी, मनमा चोट नलागी वा अति नै भावुक नभई हत्तपत्त आँशु झर्दैन। कलाकार रुनै पर्ने दृश्यमा समेत आँशु झार्न नसकेर ग्लिसिरिनको सहायता लिने गर्छन्। 

तरअचम्म, अचेल कलाकारको आँखाबाट चाहिएको बेला आँशु झर्न छाडेको छ। फिल्मकै अभिनयका बेला झार्न नसकेको आँशु अचेल पर्दा बाहिर अभिनय गरेरै झार्न थालेका छन्। 

कसैका आँखाबाट झरेको आँशुलाई गोहीका आँशु भनी टिप्पणी गरिहाल्नु ठूलो जोखिम मोल्नु हो। तर, समय र परिस्थितिको आकलन गर्दा कुठाउँमा झर्ने ती आँशुले बारम्बार शंका उत्पन्न गराउने गरेका छन्।

फिल्म थियो, सेक्स कमेडी जानराको 'पण्डित बाजेको लौरी' हेरेपछि यसकी नायिका सन्ध्या केसी भने मिडियालाई साक्षी राखेर धरधरी रोइन्। किन र केका लागि रोइन्, त्यो सन्ध्याले नै जानून्। तर, उनको रुवाइले पनि फिल्मको प्रचारमा खासै ठूलो फरक पारेन। उता, फिल्म हेर्न बोलाइएकी नायिका रेखा थापा पूर्वपति छवि ओझाको 'मंगलम' हेरेपछिको प्रतिक्रिया माग्दा मिडिया अघिल्तिर रोइदिइन्। जबकि, रेखा हत्तपत्त रोइहाल्ने खालकी नायिका होइनन्। कतै त्यो रुवाइमा छविको दबाब पनि थियो कि? 

तर, फिल्म भने रुवाउन सक्ने खालको भने अवश्य थियो। छक्कापञ्जाकै बेला दीपाश्री निरौला चाबहिलको गोपीकृष्ण हल प्रांगणमा फिल्मकी नायिका प्रियंका कार्कीको सहायता लिएर रुन भ्याइहालिन्। पहिलो पटक निर्देशनमा डेब्यू गरिरहँदा मनमा देखिएको डरलाई हलमा भएका दर्शक चाप देखेपछि आँशु थाम्न नसकेर रोएको निरौला बताउँछिन्। तर, पछि फिल्म चल्नुमा उनको आँशुले पनि केही हदसम्म अर्थ राख्यो। 

कमेडी फिल्म चलाउन पनि आँशु नै बिकिदियो। त्यसो त, प्रियंका हालैको आफ्नै फिल्म कथा काठमाडौंको सो हेरेपछि पनि रोइदिइन्। हुनेवाला सासु रविना देशराजसँग हल पुगेकी प्रियंका आँशु झार्न व्यस्त रहिन् भने रविना उनको आँशु पुछ्दै बसिरहिन्। अँध्यारो हलमा सुटुक्कै बहने आँशु पनि पछि युट्युबभर छायो। 

बच्चाबच्चीको प्रेम र त्यसमा ठूलै रोगको तगारो हालेर मर्मस्पर्शी गीतको पृष्ठभूमिमा दर्शक रुवाउन माहिर मानिन्छन्, 'नाईं नभन्नु ल' सिरिजका निर्देशक विकास आचार्य। तर, यसपालिको उनको 'नाईं नभन्नु ल ५'ले उतिसारो ओपनिंग गरेन। केही हलका त फस्ट सो नै दर्शक नआएर रद्द पनि गरिए। पछि फिल्मकै कलाकार सेड्रिना शर्माको हलमै रुवाबासी भन्ने खबर आए। यसपछि फिल्मले तानतून व्यापार गरिदियो। 

पत्रकारितामा दुनियाँलाई खरो प्रश्न सोध्ने कडा मिजासका ऋषि धमला पनि पहिलो पटक फिल्म क्षेत्रमा आएपछि एकाएक पग्लिए। आफैंले निर्माण गरेको र पत्नीलाई नायिका बनाएको फिल्म अनुराग हेरेपछि धमला पनि रुन भ्याए। मिडियामा उनी आफ्नै फिल्म हेरेपछि रोएको खबर छाए। गायक योगेश्वर अमात्यले गीतमा छोरो मान्छे भएर रुनु हुन्न रे भने पनि रोएका धमलालाई पनि शायद रोएरै फिल्म चल्छ भन्ने गलत बुझाइ परेको पो हो कि? तर, फिल्म पत्तासाफ नै भयो।

वास्तविक प्रेम जोडीको कथालाई कथानक दिइएको फिल्म 'बोबी'को प्रचारदेखि रिलिजसम्मै यसका जोडी कविता गुरुङ र उमेश खड्का निरन्तर रोए। मिडियामा कुरा गर्दागर्दै उनीहरू भक्कानिन्थे। शायद, आफ्नो अतीतको पीडा सम्झेर पनि आँशु झरेको थियो। जेहोस्, उनीहरूको त्यो आँशुले भने मूल्य पायो। बोबी हेर्न दर्शक धाएर हलसम्म पुगे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्