काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको जवाफ सत्तासीन दल नेपाली कांग्रेसले फर्काएको छ। संयुक्त सरकारका साझा न्यूनतम कार्यक्रमका बुँदाबुँदामा टिप्पणी गरेका ओलीलाई कांग्रेसले जवाफ फर्काएको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बोल्ने विभाग ओलीको जिम्मामा रहेको र त्यो विभाग अझसम्म ओलीकै जिम्मामा रहेको भन्दै जवाफ फर्काएका हुन्।
ओलीले संसदबाट बोले जरी साढे तीन वर्ष काम गरिदिएको भए स्थिति अर्कै हुने प्रवक्ता शर्माको भनाइ छ। यद्यपि, प्रतिपक्षी आवाज सम्मान गर्दै, कर्मले जवाफ दिने कर्तव्य निर्वाह गर्नुपर्ने दायित्व सरकारका सामु रहेको उनको भनाइ छ।
'केपी शर्मा ओलीले संसदमा जसरी बोल्नुभयो, साढे ३ वर्ष त्यसरी काम गरिदिएको भए, स्थिति अर्कै हुन्थ्यो,' उनले सामाजिक संजालमा भनेका छन्, 'अब १५ महिनामा सबै काम चाहियो, प्रश्नको भारी महिनादिनमै। तर प्रतिपक्षी आवाज सम्मान गर्दै, कर्मले जवाफ दिने कर्तव्य निर्वाह गर्नुछ। बोल्ने विभाग कमरेड ओलीकै जिम्मा थियो, छँदैछ।'