भैरहवा- अवैध रुपमा नेपाल भित्रिएको ५ हजार ६ सय गोटा कुखुराको चल्ला सशस्त्र प्रहरी बल नेपाल गुल्म राजस्व एवं भन्सार गस्ती सुरक्षा रुपन्देही ३८ नम्बर डण्डाले बरामद गरी नष्ट गरेको छ।
सशस्त्र प्रहरी बलका डिएसपी गोविन्द बहादुर खातीको कमाण्डमा खटिएको टोलीले बुधबार राति लुम्बिनी साँस्कृतिक नगरपालिका-५ तेनुहवा इलाकामा चेकजाँचका क्रममा उक्त अवैध चल्ला बरामद गरेको हो ।
बरामद गरिएका चल्लाको बजार मुल्य ५ लाख ६७ हजार ५ सय रहेको डिएसपी खातीले जनाए। बरामद चल्लालाई पशु क्वाराइन्टाइन, नेपाल ह्याचरी संघ लगायतको रोहबरमा नष्ट गरिएको हो।
उक्त कार्यालयको टोलीले केही दिन अघि पनि अवैध चल्ला बरामद गरेको थियो। नेपालमा प्रतिबन्धित कुखुराको चल्ला चोरी तस्करी गरेर पछिल्लो समय रुपन्देही, कपिलवस्तु र नवलपरासीको सीमाक्षेत्रबाट नेपाल भित्र्याइने गरेको छ। भारतमा ४० रुपैयाँ प्रतिगोटामा पाइने उक्त चल्ला नेपालमा प्रतिगोटा ८० रुपैयाँ पर्ने गरेको जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४