काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललार्इ कटाक्ष गर्दै हावाले पात हल्लाएमा त्यसैको पछि कुदेर राजनीति गर्दा दिगो नहुने बताएका छन्।
संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै भने, 'हावाले पात हल्लाएमा त्यसैको पछि कुदेर राजनीति गर्ने काम धेरै टिक्दैन। म त्यसो नगर्न आग्रह गर्छु।' एक वर्षअघि चुनावी तालमेल गरेदेखि नै मानिसहरू चकित भएको र आत्तिएको उनले बताए। 'सरकारका कामहरूबाट केही मानिस आत्तिएका छन्। त्यसैले अनेकथरी कुरा आइरहेका छन्,' ओलीले भने। प्रधानमन्त्रीले माधव नेपालको नाम नलिर्इ भने, 'उहाँले पुरानो गीत सम्झिनुभएको हो भन्ने मैले सुनेको छु। त्यस विषयलार्इ अन्यथा लिनु हुँदैन।'
आफूले नेपालको दूरगामी योजना, प्राथमिकता, आवश्यकता र उपलब्धीलार्इ विश्व समुदायसामु प्रस्ट रूपमा राखेको ओलीले बताए। उनले भने, 'हामीले भारत र चीनका साथै विश्वका अन्य मुलुकहरूलार्इ समेत नेपालको सुमधुर सम्बन्ध र विकासलार्इ गति दिने विषयमा छलफल गरेका छौं।' सरकारको लक्षण र गति हेर्दा पनि सफलताको बाटोमा अघि बढिरहेको
उनको जिकिर थियो। प्रधानमन्त्रीले भने, 'यो सरकार पाँच वर्ष चल्छ र आगामी पाँच वर्षपछि थप बलियो भएर आउँछ।'
प्रधानमन्त्री ओलीको विदेश भ्रमणको विषय उल्लेखित मन्तव्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पढेर सुनाएका थिए। उनले प्रधानमन्त्रीको भ्रमण नेपालको हित प्रबर्द्धनमा केन्द्रित भएको जानकारी गराए।
उनले भने, 'नेपालले लिएका दूरगामी योजनाहरूलार्इ विश्वसामु जानकारी गराउनु आवश्यक थियो। नेपाललार्इ आवश्यक परेको सहयोगका विषयमा अन्तर्राष्ट्रिय समुदायलार्इ आग्रह गर्नु थियो।' एक सय २१ राष्ट्र सहभागी राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले नेपालको राजनीतिक संक्रमण अन्त्य भएको जानकारी गराएका थिए। राष्ट्रसंघीय शान्ति मिसनमा पाँचौं स्थानमा रहेको नेपालले अझै सशक्त भएर प्रस्तुत हुने विषयमा प्रतिबद्धता जनाइएको मन्त्री ज्ञवालीले जानकारी दिए। 'लगानी र पर्यटनका माध्यमबाट नेपालको विकासमा जोड दिइएको छ,' ज्ञवालीले भने।
प्रधानमन्त्रीको मन्तव्य जस्ताको त्यस्तै
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४