जनकपुरधाम- उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले निर्माण नै नभएको अस्पताल भवनको उद्घाटन गरेका छन्। जनकपुर अञ्चल अस्पालत परिसरभित्र निर्माणाधीन अवस्थामा रहेको अस्पताल भवनको उपप्रधानमन्त्री यादवले बिहिबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन्।
निर्माणाधीन अवस्थामा रहेको अस्पतालको नयाँ भवनमा लिफ्ट जडान गर्न बाँकी छ भने वार्डहरुमा शैय्यासमेत राखिएको छैन्। पचास प्रतिशतभन्दा बढी काम सकिन बाँकी रहेको अवस्थामा उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले अस्पताल भवनको उद्घाटन गरेका हुन्।
कुल १९ करोडको लागतमा नयाँ भवन निर्माण गरिरहेका निर्माण व्यवसायीले ६ करोड भुक्तानी पाउनसमेत बाँकी रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अस्पतालले निर्माण कम्पनीलाई १३ करोड रुपैयाँ भुक्तानी दिएको थिएको थियो। निर्माण नै पुरा नभएको भवनको हतारमा उद्घाटन गरिएको अस्पतालमा कार्यरत कर्मचारीहरुले टिप्पणी गरेका छन्।
यता निर्माणाधीन अस्पताल भवनको उद्घाटन कार्यक्रममा उपप्रधान एवम स्वास्थ्यमन्त्री यादवले जनकपुरलाई फोहोरको थुप्रो बताएका छन् । ‘जनकपुर फोहोरको थुप्रो बनेको छ,’यादवले भने,‘जनकपुर प्रवेश गर्ने बित्तिकै पिडाडी चोक गन्हाउँछ । सरसफाइका लागि कुनै काम भएको छैन्।’
फोहोर व्यवस्थापनको लागि पर्याप्त बजेट आउँदासमेत जनप्रतिनिधिहरुले कुनै काम गर्न नसकेको यादवको आरोप थियो। ‘जनकपुरभरी फोहोरको डंगुर छ, नाक बन्द गरेर हिँड्नुपर्ने अवस्था छ,’उपप्रधानमन्त्री यादवले भने,‘सीता अहिले जम्किएको भए, जनकपुरमा जन्म नहोस भन्थे । सरसफाइका लागि कुनै काम भएको छैन । अनि मानिस रोगी हुँदैन त।’
बजेट पाएर पनि स्थानीय सरकारले काम नगरे अमेरिकाबाट मान्छे आएर सफाइ गर्छन त उनको प्रश्न थियो । उनले स्वच्छ, सफा तथा हराभरा जनकपुर बनाउन प्रदेश सरकार र स्थानीय सरकारले अभियान चलाउनुपर्ने बताए।
निःशुल्क आधारभूत स्वास्थ्य सेवाका लागि संसदमा प्रस्ताव लगि सकेको जानकारी दिँदै यादवले अब नगरपालिका, गाउँपालिकादेखि हरेक वडामा स्वास्थ्य चौकी खोल्ने उदघोष समेत गरेका छन्। प्रदेश २ स्वास्थ्य सेवामा पछि परेको भन्दै स्वास्थ्य क्षेत्रको विकासका लागि स्तरीय स्वास्थ्य प्रतिष्ठान र प्रादेशिक आयुर्वेदिक अस्पताल खोल्न संसदमा विधेयक लगि सेकेको उनले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४