जनकपुरधाम-पोलियो विरुद्धको एफआइपिभी खोप प्रदेश २ बाट शुभारम्भ भएको छ। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बिहीबार जनकपुरमा आयोजना गरिएको एक कार्यक्रमकाबीच खोपको शुभारम्भ गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले एफआइपिभी खोप बक्स स्वास्थ्यकर्मी सुनिता यादवलाई हस्तान्तरण गरेर खोपको शुभारम्भ गरेका छन् । उक्त अवसरमा स्वास्थ्यकर्मी यादवले डेढ महिने एक शिशुलाई सुई लगाएर खोपको आरम्भ गरेकी थिइन् ।
विगतमा थोपा खुवाएर दिइने पोलियो खोपलाई विस्थापित गर्दै सुईको माध्यमबाट यो खोप दिइने जनाइएको छ । नेपालमा यसअघि नै एफआइपिभी खोपको शुरुवात भइसकेपनि विहिबारबाट यसको औपचारिक शुरुवात भएको हो ।
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले जिल्लाबाट जनस्वास्थ्य कार्यालय विस्थापित हुन गइरहेको हल्ला निराधार रहेको बताउँदै ७७ वटै जिल्लामा यथावत रहने जानकारी गराए । ‘७७ वटै जिल्लामा जनस्वास्थ्य कार्यालय यथावत राख्ने निर्णय भइसकेको छ,’ यादवले भने,‘कार्यालयको साइज घटबढ हुन सक्दछ । तर कार्यालय जिल्लामै रहन्छ ।’
विपन्न तथा गरिब परिवारलाई लक्षित गरी सरकारले निःशुल्क स्वास्थ्य विमा कार्यक्रम छिट्टै लागु हुने उनले जानकारी दिए।
विगतमा दिइने पोलियो खोपको तुलनामा अहिले सुईबाट दिइने खोपको पोलियोविरुद्ध बढी प्रतिरोत्मक क्षमताको रहेको बालस्वास्थ्य सेवा विभागका खोप प्रमुख झलक गौतमले बताए । बच्चा जन्मेको ६ हप्तापछि पहिलो पटक र १४ हप्तापछि दोस्रो पटक गरी दुईटा खोप लगाइ सकेपछि बालबालिका पोलियोको जोखिमबाट मुक्त हुने उनले जानकारी दिए।
कार्यक्रममा बोल्दै परिवार कल्याण महाशाखाका निर्देशक रामदार्थ विच्छाले अन्य प्रदेशको तुलनामा प्रदेश २ मा खोपको अवस्था चुनौतीपूर्ण देखिएको जानकारी गराए।
प्रदेश २ मा अन्य प्रदेशको तुलनामा खोपको अवस्था खस्किदो अवस्थामा रहेको भन्दै यसतर्फ प्रदेश र स्थानीय सरकार सचेत हुनुपर्ने बताए । प्रदेश २ मा ७८ प्रतिशत बालबालिकामात्र पूर्ण खोप लिएको तथ्यांकबारे जानकारी गराउँदै शतप्रतिशत पुर्याउन प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुने उनले बताए।
नेपाल उन्मुलनको अन्तिम चरणमा रहेको जानकारी गराउँदै एफआइपिभी खोप लगाइ सकेपछि पोलियो भाइरस संक्रमणको सम्भावना सकेर जाने उनको भनाइ थियो । नेपालमा अन्तिम पटक सन् २०१० मा प्रदेश २ को रौतहट जिल्लामा पोलियो रोगी फेला परेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४