मंगलबार, साउन ५, २०८३

नेकपाभित्र किन मडारियो निराशाको बादल ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
तीन सय ६५ दिन र ६ ऋतुहरूको समयचक्र पार गर्दै नेकपाको एकता प्रक्रिया अनुभव र उपलब्धिहरूमा रमाउँदैछ। १७ असोज त्यही स्वागतयोग्य दिन हो, जहाँबाट नेपालको कम्युनिस्ट आन्दोलनले ‘कोर्स करेक्सन’को शुरुवात गरेको थियो। यसैका कारणले नेकपा आज ठूला विजयहरूको हकदार बनेको छ र देशको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ।

तर, यो खुशी साटासाटको उल्लासमय एक वर्षको अन्तिम दुई साता निकै संवेदनशील भएर देखापरेको छ। वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटीका सदस्यहरूको सम्मानमा आयोजना गरेको चियापान कार्यक्रम र संसदको मन्तव्यले राष्ट्रिय तरंग पैदा गर्यो। सदभाव र सौहार्द्रको चियापनको पेटबोलीमा नेकपाको सचिवालय बैठकले अनपेक्षित र अप्रत्यासित रूपमा गरेका निर्णयहरूको सन्दर्भसमेत थियो भन्ने पनि जगजाहेर नै छ। एक नेताले आफ्ना सहकर्मीहरूसँग आफ्ना विचारहरू प्रस्तुत गरेको प्रसंग र त्यसविरुद्ध सचिवालय सदस्यहरूकै कडा टिप्पणीहरूले एकता प्रक्रियामा नयाँ परिच्छेद थपिदिएको अनुभूति गर्न सकिन्छ।

सामान्य समस्या पनि समयमा समाधान नगर्दा जटिल बन्दै जान्छ भने एक विशाल पार्टी सञ्चालन विधिका समस्याहरू सामान्य विषय होइन। तथापि, यसप्रति उपेक्षा गर्ने नेतृत्वको हठले सामान्यलाई असामान्यतिर र परिधीय समस्यालाई केन्द्रभागतिर धकेल्दै लान सक्छ भन्ने कुरा अनुभवी नेताहरूलाई जानकारी भएकै हुनुपर्छ। आज पार्टीलाई एक सुव्यवस्थित पद्धतिबाट सञ्चालन गर्ने विषयमा उत्पन्न समस्यालाई समुचित सम्बोधन गर्ने वा कमजोर आधारमा टेकेर गरिएको कथित निर्णयलाई पुनर्विचार नै नगर्ने भन्ने दुई संगठनात्मक सोचहरूमा टकराव देखिएको छ।

सरकारको जागृतिका लागि उठाइएका प्रश्नहरूलाई विषको पोको देख्ने र पार्टीको सुसंस्कृतिका लागि उठाइएका प्रश्नहरूलाई पार्टीविरुद्धका गतिविधि देख्ने विश्लेषण गर्न थालियो भने हामी स्तुतिगान र भक्ति परम्पराका अनुयायी र उत्प्रेरक मात्र बन्न पुग्छौं। आफूले जीवन अर्पण गरेको पार्टीभित्र आफैं भेदभावमा र कोपभाजनमा परेको महशुस गर्ने हेपिएका आवाजहरूको कदर गर्नेभन्दा अपमान गर्ने दूराशय हुनु, भइरहनु र सुधारको संकेत नदेखिएको परिस्थितिलाई उँभोमतिको लक्षण मान्न सकिँदैन। 

आजको पार्टीका तल्ला तहसम्मको एकीकरणको प्रक्रियालाई सजीव छलफल नगरी, विधि र आधारहरू नबनाई औपचारिक केन्द्रीयता र यान्त्रिक निर्णयबाट निष्कर्षमा पुर्याउने जुन चेष्टा गरेको देखिन्छ, त्यसका प्रत्येक निर्णयहरूले निर्णय गरेकै समयदेखि विभक्त मानसिकता र नयाँ शिराको द्वन्द्वको आधार तयार गरिदिनेछ।

विधिबाट चले दल हुन्छ, भेदभावबाट चले दलदल हुन्छ भन्ने हेक्का राखेर नै नेतृत्व चल्नेछ भन्ने आशालाई मर्न नदिने संकल्प बोकेर काम गरिन्छ कि गरिँदैन, समयले पर्खिरहेको छ। तर, विडम्बना के छ भने हिजो फलानो नेताले पनि त यस्तो गल्ती गरेका थिए नि  आज किन यस्तो प्रश्न ? वा हिजो अमुक व्यक्तित्वलाई अन्याय पर्दा त बोलेकै थिएनन्, आज किन बोल्नुपर्योजस्ता प्रश्नहरू अगाडि सारेर आज पनि सुधारको विषयलाई होच्याउने र मूल नेतृत्वलाई दुरुत्साहित गर्ने ‘कोर लिडर’हरूको अभिव्यक्तिले नेकपालाई गतिशील र प्रगतिशील दुवै बन्न नदिने लक्षण देखाएको छ।

हिजो गल्ती थियो भने आजदेखि राम्रो कामको शुरुवात गरौं भन्ने सोच राख्नुभन्दा मलाई के मतलब भन्ने आत्मघाती बाटो रोज्न सजिलो लागेको हो भने पार्टीलाई थप विवादित हुनबाट कसैले बचाउन सक्दैन।

सक्षम, एकताबद्ध र स्वच्छ पार्टी निर्माण नगरी राम्रा उद्देश्यहरू प्राप्त गर्न सकिँदैन। तर, राम्रो कुराको शुरुवात गर्ने विचारलाई औचित्यहीन भनी सावित गर्न कोशिस गर्नु झन् बढी
दुःखदायी हुन्छ।


पार्टीमा तलदेखि माथिसम्म यो समस्या छ भन्ने तीतो सत्यलाई स्वीकार गर्ने हो भने भेदभावको पल्टनमा पनि सिपाहीदेखि महारथीसम्मको फौज छ र तिनले आ-आफ्नो हैसियतमा भेदभाव गरिरहेका थिए र गरिरहेका छन् भन्ने पनि छर्लंग छ। तसर्थ, नेकपाको नयाँ आधारशीला खडा गर्दा निर्माण गर्नुपर्ने संस्कृतिको मानक के बनाउने यसको पहिलो प्रश्न त महारथीहरूलाई नै जान्छ।

माधव नेपालको आलोचना गर्दा आफूलाई भर्खरै प्रशोधित २४ क्यारेटको अकबरी सुनझैं सम्झनेहरूले त्यही सुनको आभूषण बनाउँदा रसायनहरूको प्रयोगले अशुद्ध बनाइसकिएको हुन्छ भन्ने पनि सम्झेकै हुनुपर्ने हो। गहनागृहले जर्तीहरू हालेर तौल बराबर पारेको भएतापनि हरेक आभुषणको मूल्य घटिसकेको हुन्छ भन्ने सबैलाई जानकारी छ। राजनीतिका अकबरी सुनहरूको तौल पनि त्यसैगरी घट्ने हो। तसर्थ, सबै नेतृत्व पुञ्जले समग्रतामा नयाँपन र कम्युनिस्ट राजनीतिको सांस्कृतिक उन्नयनको प्रयास गर्नु उत्तम हुनेछ।

सरकार सुखी नेपाली र समृद्ध नेपालको जन-सपनालाई पूरा गर्न मूल ध्येय बोकेर हिँडिरहेका बेलामा जनताको दैनिक जीवनका कष्टकर समय र चुनौतीहरूले दिएको सकसलाई समाधान गर्ने कठिन कामहरू पनि गर्नैपर्नेछ। शहरको धुलो र हिलोमा निस्सासिँदै यात्रा गरिरहेको मानिस, महँगी र मूल्यवृद्धिले ढाड भाँचेर कुप्रिएको शरीरलाई उठाउन मुस्किल परेको मानिस, हत्या, अपहरण र बलात्कारका चित्कारहरूबाट त्रासमा बाँचिरहेको मानिस, राष्ट्रिय अखण्डताको विरुद्धमा लगाइएका नाराहरूको कर्कश आवाजले कानको जाली फुटाउन लागेको आहत मानिस र सडकको छेउमा थुपारिएको फोहोरको दुर्गन्धजस्तै अमूक दिशाबाट व्हारव्हार भ्रष्टाचारको दुर्गन्ध आइरहेको वातावरणमा छटपटाइरहेको मानिस त्यही हो, जसले केही महिना अगाडि कम्युनिस्ट पार्टीले आफ्ना दुःखका दिनहरूको अन्त्य गर्छ भन्ने सुन्दर सपनाका साथ मतदान गरेको थियो।

जब ऊ सडकमा, चोकमा, सार्वजनिक स्थलमा, सभामा र मानिसहरूको भीडमा पुग्छ, सबैको एकै प्रकारको आहट सुनेपछि उद्विग्न हुन्छ। उनीहरूले जस्तै आफूले भोगेका समस्या पनि समान भएको सम्झिन्छ, हिजो आफूले बाकसमा खसालेको मतपत्र सम्झिन्छ। र, ऊ आफ्नै विश्वासमाथि पहिलो प्रश्न गर्छ र एक पटक सरकारको आलोचना गरेर मन हल्का बनाउँछ। यो उसको दोष होइन, केवल हतारो हुनसक्छ, सरकारका प्रयासहरूले किन गति लिन नसकेको सरकारलाई थाहा होला तर जनताले र परिणाम हेर्न चाहेको छ। यो नागरिकले भोगेको जिन्दगी हो। यो कुनै प्रतिक्रियावाद होइन, उकासिएको व्यक्ति पनि होइन र वैरत्व गर्ने पात्र पनि होइन।

निश्छल कम्युनिस्ट मतदाता पनि खिन्न मानिरहेको यो समयमा समग्र देश पनि सुशासनका विषयमा चिन्तित हुनु स्वाभाविक छ भने बदनियत नै राखेर असिनपसिन हुँदै दौडिरहेका विरोधीहरू पनि सल्बलाउँछन्। त्यसैले विरोधीहरूको अभियानलाई अलिक पर राखौं। तर, ‘जनार्दन’ भनिएका जनताका आवाजहरूलाई पनि षडयन्त्र र प्रतिक्रियावाद देख्न थाल्यो भने प्रष्ट छ, हामी केही गर्न सक्दैनौं।

जब प्रेरणाको स्रोतलाई गलत देख्न थाल्छौं, तब गम्भीर असफलता हात पर्न थाल्छ। थाहा छ, छोटो समयमा ठूला कामहरूको आधार तयार गर्दै बित्छ, यो सरकारको सीमा हो तर सेवा र सुशासनका दैनिक कार्यहरूमा सरकारको इमानदार प्रयास र सुधारको सुवास आइरहेको छ कि छैन, यसैमा अन्तरनिहित तथ्यहरूले जनमानसमा निराशाका बादलहरू मडारिएका छन्।

तर, जनताको बीचमा संयम र यथार्थबोधको सचेतनाको विस्तार गर्न अग्रदस्तामा रहने पार्टीपंक्तिलाई जागरुक र स्वप्रेरित गर्न प्रयास गर्नुको साटो पक्षपात, अपमान र कटाक्षको वाण-वर्षा गरिन्छ भने सबैभन्दा पहिले त्यहींबाट मनोवैज्ञानिक पराजयको शुरुवात हुनेछ।

निश्चय नै नेकपाका लागि चुनौतीहरू छन् तर त सबै चुनौतीहरूले नेकपालाई तल झार्न होइन, माथि उठाउनका लागि अनन्त सम्भावनाहरू प्रदान गरेका छन्। नेपाली विशेषताको समाजवाद निर्माण गर्ने हाम्रा अठोटहरू छन्, त्यसलाई एक प्रगतिशील चरित्र भएको पार्टीले मात्र पूरा गर्न सक्छ। पार्टीको यही चरित्रले नै जनमनमा पार्टीको हैसियत र आधारभूत तहमा सम्मानसहितको राजनीतिक सत्ता स्थापित गरिदिनेछ।

सक्षम, एकताबद्ध र स्वच्छ पार्टी निर्माण नगरी राम्रा उद्देश्यहरू प्राप्त गर्न सकिँदैन। तर, राम्रो कुराको शुरुवात गर्ने विचारलाई औचित्यहीन भनी सावित गर्न कोशिस गर्नु झन् बढी दुःखदायी हुन्छ।

उन्नत विधि र संस्कृतिमा आधारित पार्टी निर्माण गर्ने आजको आवाज नेता विशेषको होइन, आम नेता र कार्यकर्ताहरूको हो। यी सम्झौताहरूमा परित्याग गरिने विषय पनि होइन। एक सबल पार्टी निर्माणको आधारशीलालाई उपेक्षा गर्नु द्वन्द्वको समाधान होइन, बरु द्वन्द्वको नवीकरण र विस्तार हुन पुग्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।