काठमाडौं-दशैं नजिकिएसँगै दैनिक उपभोग्य सामग्रीहरूको मूल्य आकासिएको छ।
कीर्तिपुरस्थित एक खुद्रा पसलमा भेटिएकी गृहिणी लक्ष्मी महर्जनले दशैंको मुखमा दैनिक अत्यावश्यक उपभोग्य अधिकांश वस्तु तथा सामग्रीको मूल्य बढेको गुनासो गरिन्। ‘साता–दश दिनभित्रै तेल, चिनी, मैदा, आँटालगायतको मूल्य अचम्मैगरी बढेको छ,’ उनले भनिन्।
नजिकैको अर्को पसलमा भेटिएकी त्रिवि केन्द्रीय क्याम्पसमा अध्ययनरत समीक्षा शर्माले पनि दशैंको मुखमा एकाएक दैनिक अत्यावश्यक सामग्रीको मूल्य बढेको बताइन्। ‘दैनिक खरिद गर्दै आएको तेलमा प्रतिलिटर १० रुपैयाँ, चिनीमा प्रतिकिलो १० रुपैयाँ बढेको छ,’ उनले भनिन्। किलोमा १०/१० रुपैयाँ बढ्दा पनि सरकार तथा सरोकारवाला निकायले केही गर्न नसकेको उनको दुखेसो छ। ‘यो त हदै भएको छ। दैनिक उपभोग्य सामग्रीसँगै चाउचाउ, पेस्ट, साबुन, स्याम्पुलगायतमा समेत केही न केही मूल्य बढेको छ।’
खुद्रा व्यवसायीहरूले पनि दैनिक उपभोग्य सामग्रीलगायत विभिन्न खाद्य तथा पेय पदार्थको मूल्य बढेको स्वीकारेका छन्। उनीहरूका अनुसार दैनिक अत्यावश्यक सामग्रीहरूमा प्रतिकिलो/लिटर १० रुपैयाँसम्म बढेको छ। स्प्राइट, कोक, फ्यान्टालगायतमा पनि सवा दुई लिटरमा १० रुपैयाँ बढेको छ। पेस्ट/साबुनमा प्रतिगोटा २/३, स्याम्पुमा परिमाणअनुसार २० रुपैयाँसम्म, प्रतिगोटा चाउचाउमा दुई रुपैयाँ बढेको उनीहरू स्वीकार्छन्।
नयाँ बानेश्वरका एक खुद्रा व्यवसायीले अहिले विभिन्न दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थहरूको भाउ बढेको जानकारी दिए। उनका अनुसार दशैंमा बढी माग रहेको किसमिस, बदामलगायत प्रतिकिलो सय रुपैयाँसम्म बढेको छ।
नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यले बजारमा थोक व्यवसायीहरूबाटै मूल्य बढेकाले खुद्रा व्यापारीहरू पनि भाउ बढाउन बाध्य भएको बताए। स्टकमा रहेका सामग्रीहरू नबढे पनि बढेर आएको सामग्रीहरूको मूल्य भने बढाउनुपरेको उनी बताउँछन्। अहिले सोयाबिन तेलमा प्रतिलिटर १०, प्रतिलिटर धारा तेलमा १०, मैदामा प्रतिकिलो १० रुपैयाँ बढेको उनले जानकारी दिए।
उनका अनुसार सातादिनअघि प्रतिलिटर एक सय ३५ रुपैयाँ पर्ने सोयाबिन तेल अहिले एक सय ४५, प्रतिलिटर दुई सय १० रुपैयाँ पर्ने धारा तेल अहिले बढेर दुई सय २०, प्रतिकिलो ४५ रुपैयाँ पर्ने मैदा बढेर ५५ रुपैयाँ पुगेका छन्।
५/६ महिनाअघि मात्रै ‘लङ रेन्ज’को चामलमा ५० देखि दुई सय रुपैयाँसम्म बढेको थियो। ‘२० देखि ३० किलोसम्म बोराको चामलको मूल्य त्यसरी बढेको हो,’ उनले भने, ‘बजेट आएसँग चामल, तेल, मदिरालगायत खाद्य तथा पेय पदार्थको मूल्य बढेको थियो।’
‘साता–दश दिनभित्रै तेल, चिनी, मैदा, आँटालगायतको मूल्य अचम्मैगरी बढेको छ।’
त्यसयता दशैंको अवसर पारी थोक व्यवसायीले मूल्य बढाएको उनको भनाइ छ। दशैंमा सधैं यस्तो समस्या आउने गरेको उनले जानकारी दिए।
दशैंमा जहिल्यै यस प्रकारको समस्या बेहोर्नुपर्ने कुरा सरकारी निकायहरूलाई जानकारी नभएको होइन। उपभोक्ताप्रति गैरजिम्मेवार बनिदिँदा समस्या नसुल्झिएको बज्राचार्यको बुझाइ छ।
‘सरकारकै कमजोरीले बजारमा मूल्य बढ्न गएको हो,’ उनले भने, ‘दशैंमा मूल्य बढाउने चलखेल हुन्छ भन्ने जान्दाजान्दै मूल्यवृद्धि रोक्न पूर्वतयारी गरेको देखिँदैन।’
पछिल्लो समय मैदा, आँटा, चिनीलगायतको मूल्य बढेको नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले स्वीकारे। खाने तेलको अधिकांश कच्चा पदार्थ आयात गर्नुपर्ने भएकाले डलर बढेसँगै ती कच्चा पदार्थको मूल्यसमेत बढेको उनले बताए। त्यसको प्रभाव मूल्यमा परेको हो।
‘तेलका लागि आवश्यक कच्चा पदार्थ विभिन्न देशबाट आयात गर्दै आएका छौं,’ उनले भने, ‘डलरको भाउ बढेकाले मूल्य बढेको छ।’ यस्तै, नेपाली बजारमा गहुँ, मैदालगायतको पनि मूल्यसमेत बढेको उनको भनाइ छ। यीबाहेक अन्य सामग्रीको मूल्य नबढेको उनको तर्क छ।
उनका अनुसार सोयाबिन तेलको शतप्रतिशत कच्चा पदार्थहरू आयात गरिन्छ। तोरीको कच्चा पदार्थ केही स्वदेशमै उत्पादन भए पनि बाँकी सबै आयात गरिन्छ।
उपभोक्ता, सरोकारवाला तथा उपभोक्तावादीहरूले भने सरकारको लाचारिपनको कारणले दैनिक अत्यावश्यक उपभोग्य वस्तु तथा सामग्रीलगायतको मूल्य बढेको आरोप लगाएका छन्। उनीहरूले पछिल्लो समय सरकारले आवश्यक मात्रामा बजारको अनुगमन गर्न नसकेको बताएका छन्।
राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले चिनीको आयात रोकिएको, गाडीभाडा बढेकोलगायत बहानामा दैनिक अत्यावश्यक उपभोग्य सामग्रीको मूल्य खुद्रा र थोक व्यापारी तथा उद्योगीहरूले बढाएको बताए। प्रतिकिलो ७० पर्ने गरेको चिनी अहिले बढाएर ८०/८५ रुपैयाँसम्म पुगेको उनले बताए। यस्तै, मैदा, आँटा, खानेतेललगायत हरेक सामग्रीमा भाउ बढाएको उनको भनाइ छ।
अनुगमन गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका निकायहरूले बजार अनुगमन ठोस रूपमा अघि बढाउन नसकेको उनको बुझाइ छ। उपभोक्तावादीहरूका अनुसार सरकारसँग दैनिक उपभोग्य वस्तु तथा सामग्रीहरूको मूल्यसूची नहुनु, बजार नियन्त्रणभन्दा बाहिर जानु, उपभोक्तामैत्री नबन्नुलगायत कारणले व्यवसायीहरूले मनपरि मूल्य बढाएका हुन्।
अहिले तरकारीमा शतप्रतिशतसम्म मूल्य बढेको अध्यक्ष तिमिल्सिनाले बताए। ‘धादिङबाट आउने आलु सातादिनअघि धार्नी (२.५ किलो)को एकसय ३५ रुपैयाँमा पाइन्थ्यो, अहिले बढेर दुई सय रुपैयाँ पुगेको छ,’ उनले भने, ‘केही तरकारीबाहेक अधिकांशको मूल्य बढेको छ।’
मासुको मूल्यमा पनि मनपरि छ। सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले मासुको तथा साल्ट ट्रेडिङ कर्पोरेसनले चिनीको यकिन मूल्य तोक्न सकेका छैनन्। विभिन्न डिपार्टमेन्टल स्टोरहरूमा चिनीको मूल्य साल्ट ट्रेडिङमा भन्दा कम रहेको उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४