काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित बन्दै गएको छ। पार्टीको नेविसंघ हेर्ने समितिले विधान र नियमावली पारित नगर्दा महाधिवेशन अनिश्चित बन्दै गएको हो।
अघिल्लो महिना सम्पन्न नेविसंघको केन्द्रीय समितिको बैठकले ११औं महाधिवेशनमा लगाइएको ३२ वर्षे उमेरहद हटाउने प्रस्तावसहित विधान र नियमावली पार्टीलाई बुझाएको थियो।
नेविसंघको वर्तमान कार्यसमितिको म्याद २ भदौमा सकिएकाले पार्टीले तीन महिनाभित्र निर्वाचन सम्पन्न गर्न निर्देशन दिएबमोजिम आगामी २ मंसिरमा म्याद सकिँदैछ।
पार्टीबाट विधान र नियमावली अनुमोदन भएपछि ७ असोजमा देशभरका माध्यामिक विद्यालय र क्याम्पसमा अधिवेशन, १२ असोजमा सबै स्थानीय तह, १५ असोजमा क्षेत्रीय, २१ असोजमा ७७ वटै जिल्ला, २३ असोजमा उपत्यकाभित्रका क्याम्पस, १०-११ कात्तिकमा सातै प्रदेश र १६-१८ कात्तिकमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तालिका पार्टीलाई बुझाएको थियो।
समितिको निर्देशनअनुसार नै समय तालिका, विधान र नियमावली निर्देशन समितिलाई बुझाउँदा पनि निर्वाचन टार्ने खेल भइरहेको नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारीले बताए। 'संस्थापन पक्ष ३२ वर्ष उमेर हदको कारण देखाएर महाधिवेशन टार्ने पक्षमा देखिन्छ,' उनले भने। पछिल्लो समय अन्य भातृ संगठन आफ्नो समूहबाट पराजित हुँदै गएपछि संस्थापन पक्ष निर्वाचन गर्ने पक्षमा नरहेको उनको भनाइ छ।
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक फोरमबाट कांग्रेसमा प्रवेश गरेका विजयकुमार गच्छदार समूहसँगै नेविसंघमा एक महामन्त्रीसहित १५ केन्द्रीय सदस्य विस्तार गरेपछि चर्काचर्की भएको छ। निर्देशन समितिले गरेको आलटालका कारण तोकिएकै समयमा निर्वाचन नहुने आशंका बढेको नेविसंघका कोषाध्यक्ष शिव रिमालले बताए। 'निर्वाचनको सुनिश्चितताका लागि निर्देशन समितिले विधान र नियमावली तत्काल टुंग्याउनुपर्छ,' उनले भने।
महाधिवेशनको मुखमा अध्यक्षले कार्यसमिति विस्तार गर्दा नेविसंघको महाधिवेशन नहुने हो कि भन्ने आशंका पैदा भएको विद्यार्थी नेता मोतीलाल भण्डारीले बताए। केन्द्रीय समितिको बैठकले विधान संशोधन नगरेका कारण १२औं महाधिवेशन अन्योलमा परेको नेविसंघका सहमहामन्त्री एवं प्रवक्ता प्रेमराज जोशीले बताए। 'नेविसंघको महाधिवेशनका लागि पार्टी सभापतिसहित केन्द्रीय समितिको ध्यानाकर्षण गराउनेछौं,' उनले भने, 'महाधिवेशनको विकल्प महाधिवेशन मात्र भएकाले यथाशक्य छिटो सम्पन्न गराउने पक्षमा दबाब सिर्जना गर्छौं।'
अब बस्ने केन्द्रीय समिति बैठकमा नेविसंघको विधान र नियमावलीबारे छलफल हुने निर्देशन समितिका सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४