मंगलबार, साउन ५, २०८३

पेट्रोलको विकल्प चिनी !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आयातीत इन्धनमा निर्भरता कटौती गर्न दक्षिणी छिमेकी भारतले चिनी उत्पादन वृद्धिमा जोड दिए पनि नेपालमा यसबारे अझैसम्म ठोस गृहकार्य शुरु हुन सकेको छैन।

भारतले चिनी उद्योगलाई दिइँदै  आएको ऋण अनुदानलाई ४४ सय ४० करोड भारुबाट ३८ प्रतिशत वृद्धि गरेर ६१ सय ३९ करोड भारु पुर्याउने भएको छ। फाइनान्सियल एक्सप्रेसको अनलाइन संस्करणका अनुसार ऋण अनुदान र हालै गरिएको इथानोलको मूल्यवृद्धिबाट भारत सरकारले निजी क्षेत्रलाई उत्पादन वृद्धिका लागि क्षमता बढाउन प्रेरित गर्ने उद्देश्य लिएको छ।

विज्ञहरूका अनुसार पेट्रोलमा १० देखि १५ प्रतिशतसम्म इथानोल मिसाएर इन्धनकै रूपमा प्रयोग गर्न सकिन्छ। उखु पेलेर चिनी उत्पादन गर्ने क्रममा इथानोल सहउत्पादन (बाइप्रोडक्ट) का रूपमा निस्किन्छ। सहउत्पादनकै रूपमा निस्किने खुदो (मोलासिस) प्रशोधन गरेपछि स्पिरिट उत्पादन हुन्छ। स्पिरिटलाई थप प्रशोधन गरेपछि इथानोल उत्पादन हुन्छ। इथानोलको व्यावसायिक प्रबद्र्धन हुन नसक्दा अहिले घरेलु बजारमा स्पिरिटको प्रयोग मदिरा उत्पादनमा सीमित हुन पुगेको छ।

भारतीय खाद्य मन्त्रालयले अनुदान सहयोगका लागि एक सय १४ वटा ठूला चिनी उद्योगलाई छनोट गरेको छ।

'नेपाल सरकारले भने अहिलेसम्म यसबारे कुनै नीति नियम बनाएको छैन,' नेपाल चिनी उत्पादक संघका महासचिव राजेश केडियाले नेपाल समयसँग भने, 'सरकारले यसबारे धेरै पहिले नै चर्चा गरे पनि कार्यान्वयनको पक्ष ज्यादै सुस्त छ।'

अमेरिकाले इरानविरुद्ध प्रतिबन्ध घोषणा गरेलगत्तै अहिले विश्वभर नै इन्धनको मूल्यवृद्धि भइरहेको छ। यो क्रम अझै केही समय कायम रहनेछ।

नेपालमा पनि निजी क्षेत्रले इथानोल मिसाएर इन्धन उत्पादनलाई किफायती बनाउन एक दशक अघिदेखि नै सुझाव दिँदै आएको छ। तर, हालसम्म यसबारे नीतिगत स्पष्टता र कार्यविधि तयार हुन सकेको छैन।

एक लिटर पेट्रोलको खुद्रा बजारमू्ल्य एक सय १४ रुपैयाँ छ। इथानोलको मूल्य ४५ रुपैयाँ मात्र पर्छ।


स्वदेशी चिनी उत्पादकले सरकारलाई वार्षिक २२ हजार हेक्टोलिटर इथानोल उपलब्ध गराउन सकिने बताउँदै आए पनि सरकारले चासो देखाएको छैन।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान खुमलटारले ०६५ सालमा वैकल्पिक ऊर्जा प्रवद्र्धनका लागि बायो इथानोल प्रयोगमा ल्याउन सुझाइसकेको छ। प्रतिष्ठानले विज्ञान तथा प्रविधि मन्त्रालयका लागि ठूला चिनी मिलमा अध्ययन गरेर प्रतिवेदन दिएको थियो।

प्रतिवेदनले इन्धनको गुणस्तर सुनिश्चित गर्न व्यवस्थित प्रयोगशालाको स्थापना र इथानोल ब्लेन्डका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने पनि सुझाएको छ। प्रतिवेदनमा भनिएको छ, 'यो जैविक तत्वबाट निस्किने भएकाले वातावरण प्रदूषण नियन्त्रणको दृष्टिबाट पनि उपयोगी छ।'

नेपाल आयल निगमका अनुसार आव ०७४/७५ मा चार लाख ८८ हजार ६ सय ७५ किलोलिटर पेट्रोल आयात भएको छ। एक किलोलिटरमा एक हजार लिटर इन्धन हुन्छ। एक लिटर पेट्रोलको खुद्रा बजारमू्ल्य एक सय १४ रुपैयाँ छ। इथानोलको मूल्य ४५ रुपैयाँ मात्र पर्छ।



उखुको खोस्टाबाट बिजुली

यसै साता विद्युत प्राधिकरणले बाराको रिलायन्स, महोत्तरीको एभरेस्ट र सर्लाहीको इन्दुशंकर चिनी मिलसँग विद्युत खरिद सम्झौता गरेको छ। यी उद्योगले क्रमशः १५ र ३/३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा आपूर्ति गर्नेछन्। चिनी मिलले उखु पेलेर बाँकी रहने खोस्टा (बगास) जलाएर निस्किने वाष्प ऊर्जाको मद्दतबाट टर्बाइन घुमाई विद्युत उत्पादन गर्नेछन्।

'शहरी क्षेत्रमा प्रसारण लाइन विस्तारमा समस्या नभए चार महिनामै प्राधिकरणको सब-स्टेसनमा विद्युत पुर्याउनेछौं,' इन्दुशंकर चिनी मिलका सञ्चालकसमेत रहेका केडियाले भने, 'अन्यत्र सफल परीक्षण भइसके पनि हाम्रा लागि यो पाइलट प्रोजेक्ट हो।' 

पहिलो चरणको उत्पादन सफलतासँगै दोस्रो चरणमा १२.५ मेगावाट उत्पादन गर्ने योजना रहेको केडियाले जानकारी दिए। चिनी उद्योगहरूसँग कुल एक सय ५० मेगावाट विद्युत उत्पादन गर्न सक्ने क्षमता रहेको चिनी उत्पादक संघले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।