काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरहरुलाई आफ्नो पहिलो प्राथमिकतामा पारेका छन् ।
काठमाडौँ छिर्ने मुख्य नाकामा देखिएको लामो जामको समस्यालाई आजको अन्नपूर्ण पोस्ट र नागरिक दैनिकले मुख्य समाचार बनाएका छन् ।
यसैगरि आजको नयाँ पत्रिकाले ८ महिनामा ९ पटक इन्धनको मूल्यवृद्धि भएको विषयलाई प्रमुख खबर बनाएको छ । कान्तिपुरले भने सांसदहरुले आफूखुसी योजना छनोट गर्ने र खर्च गर्न मिल्ने नियमावली सरकारले जारी गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।
मुख्य समाचारका रुपमा अन्नपूर्ण पोस्ट्ले राजधानी छिर्न ४५ किमि जाम शीर्षकमा खबर लेखेको छ भने नागरिक दैनिकले कलंकी नौबिसे सडक जाम ः पार गर्न ९ घण्टा शीर्षकमा खबर छापेको छ । जामकै कारण एम्बुलेन्समै बिरामीको मृत्यु भएको खबर पनि दुबै पत्रिकाले लेखेको छन् ।
जामका कारण एम्बुलेन्समै मृत्यु
अन्नपूर्ण पोस्टमा प्रकाशित खबर अनुसार चितवनको भरतपुरबाट उपचारका लागि काठमाडौं लाने क्रममा एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको छ। नौबिसे–नागढुङ्गा सडकखण्ड पार गर्न घण्टौँ लागेपछि बिरामीको बुधबार बिहान १० बजे त्रिभुवन राजपथस्थित टायलघर भन्ने ठाउँमा पुगेपछि मृत्यु भएको हो।
चितवनको सौराहा निवासी अन्दाजी ५५ वर्षीया रजनी चौधरीलाई भरतपुरस्थित एक निजी अस्पतालले काठमाडौं रिफर गरेको थियो। तर नागढुङ्गा–नौबिसे सडकखण्डमा घण्टौ जाम हुँदा बिरामीको एम्बुलेन्समै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
चौधरीलाई बोकेको एम्बुलेन्स मुस्किलले पृथ्वी राजमार्ग पार गरेको भएपनि त्रिभुवन राजपथ सुरु हुने बित्तिकैको टायलघर पार गर्न नसक्दा उनको मृत्यु भएको हो। बाटोमै बिरामीको मृत्यु भएपछि जाम खुल्नासाथ एम्बुलेन्स शव लिएर चितवन फर्किएको छ।
नौबिसेदेखी नागढुङगासम्म सधैजसो हुने जाम हटाउन भन्दै काठमाडौँ जिल्लाको पिपलामोड क्षेत्रकाे दुई किलोमिटर बाटो मर्मत थालिएसँगै जाम बढेको छ। यो सडकखण्डमा जाम हुँदा यात्रुको बिचल्ली हुने गरेको छ। राजधानी भित्रने गाडीको लाइन नागढुङगादेखि ४५ किलोमिटरको दूरीमा रहेको सिम्ले बजारसम्म पुग्ने गरेको छ।
जामको विषय बाहेक आजको अन्नपूर्णले अख्तियारले नेपाल एयरलाइन्सको बाइडबडी विमान खरिदमा भएको अनियमितता छानविन सुरु गरेको र भारतले गरेको अतिक्रमणका कारण सुस्ताबासी विस्थापित बनेको विषयलाई पनि महत्वका साथ पहिलो पृष्ठमा छापेको छ ।
यस्तै नागरिक दैनिकले अपार्टमेन्टमा खुलेको काठमाडौं नेसनल मेडिकल कलेजलाई अस्पताल बनाउन चलखेल भएको विषयलाई विशेष महत्वका साथा प्रकाशित गरेको छ । काठमाडौं नेसनल मेडिकल कलेज प्रालिले तीनसय शय्याको अस्पताल सञ्चालन स्वीकृति पाउँ भनेर निवेदन दिएको छ । तर, पचास शय्याको अस्पताल सञ्चालन स्विकृति दिन पनि उपयुक्त नरहेको अनुगमन टोलीको निष्कर्ष छ ।
आजको नयाँ पत्रिकाले पटक पटक भइरहेको इन्धनको मूल्यवृद्धिको विषयमा विशेष रिपोर्ट छापेको छ । ८ महिनामा ९ पटक मूल्यवृद्धि शीर्षकमा खबर लेखेको उसले मुल्यवृद्धिको ४ कारण समेत उल्लेख गरेको छ । अनियन्त्रित प्रशासनिक खर्च, चुहावट नियन्त्रणमा निगमको उदासिनता, अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि र भारतमा महँगो हुँदा ट्यांकरबाटै तस्करी भएकाले इन्धनको मूल्यवृद्धि भएको नयाँ पत्रिकाले लेखेको छ । निगमले एक वर्षमा हुने एक अर्बको चुहाबटलाई वैधानिक मान्यता दिएको समेत उसले उल्लेख गरेको छ ।
कान्तिपुरले भने सांसदहरुले आफूखुसी योजना छनोट गर्ने र खर्च गर्न मिल्ने नियमावली सरकारले जारी गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ । ४ करोडका ५ योजनामा मात्रै खर्चन पाउने बजेटको प्रावधानविपरीत जुनसुकै क्षेत्रका २० योजनामा खर्च गर्न पाउने नियमावली ल्याइएको समाचारमा जनाइएको छ । यस्तै कान्तिपुरले विकास भन्दै चुरे विनास शीर्षकमा पनि विशेष खबर छापेको छ ।
तमोर पनिबिनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई शीर्षकमा मुख्य समाचार छापेको आजको कारोबार दैनिकले वाग्मति अञ्चल कार्यालयमा दुई पांग्रे सवारी दर्ता रोकिएको विषयलाई विशेष महत्वका साथ प्रकाशित गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४