सप्तरी - निर्मला पन्त बलात्कार घटनामा संलग्न दोषीलाई कारवाहीको माग गर्दै देशभर आन्दोलन चलि रहँदा सप्तरीमा एकैदिन एक वृद्धा र एक बालिका बलात्कारको शिकार भएका छन्। सप्तरीको छुट्टाछुट्टै स्थानमा ती वृद्धा र बालिका बलात्कृत भएका हुन्।
एक वृद्धा र बालिका बलात्कृत भएको पीडितलाई उदृत गर्दै प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार जिल्लाको खड्ग नगरपालिकामा वृद्धा र डाक्नेश्वरी नगरपालिकामा बालिकासँग बलात्कार भएको हो।
वृद्धा र बालिका दुबैजना मंगलबार साँझ बलात्कारको शिकार भएपनि बुधबारमात्र प्रहरीलाई जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी भावेश रिमालले जानकारी दिए।
जानकारी पाए लगत्तै पीडितहरुको मेडिकल जाँच गराइ घटनामा संलग्नहरुको खोजी थालिएको रिमालले बताए। परिवारका सदस्यहरु जितिया पर्वमा व्यस्त रहेका बेला ती बालिका स्थानीय १८ वर्षीय किशोरबाट बलात्कृत भएको प्रहरीले जनाएको छ।
यसैगरी ४० वर्षीय एक युवकले डर त्रास देखाइ ७० वर्षीया बृद्धाको बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ। बलात्कारमा संलग्न दुबैजनाको पहिचान भइसकेको र प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४