बुटवल- लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन्। अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
बैठकलगत्तैै मुख्यमन्त्रीले राजीनामा दिने बैठकमा सहभागी एक मन्त्रीले बताए। सत्ता टिकाउन अन्तिमम समयसम्म प्रयास गरे पनि विपक्षीले पेश गरेको अविश्वास प्रस्तावमाथि छलफलका लागि दिउँसो १ बजे विशेष अधिवेशन बस्ने भएपछि पोखरेलले राजीनामा दिन लागेका हुन्।
पोखरेल २०७४ फागुन ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। तत्कालीन कार्यगत एकता सहितको चुनावबाट एमाले र माओवादी गरी ६१ सांसदको शक्तिशाली मुख्यमन्त्रीका रुपमा नियुुक्त भएका हुन्।
दोस्रो पटक भने २०७८ वैशाख १९ गते एकल बहुमत प्राप्त दलका रुपमा मुख्यमन्त्री नियुक्त भएका थिए। ४१ सांसद रहेको एमालेसँग अहिले सांसदको राजीनामा, पार्टी अदलबदल गरी ३८ मात्रै सांसद छन्। प्रदेशसभामा ८० सदस्य कायम छ।
संविधानको धारा १६८ को १ अनुसारको सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउन नपाउने भन्दै सत्तासिन दलकै सांसदले सर्वोच्चमा रिट दिएका छन्।