जनकपुरधाम- लामो समयदेखि काम गर्दै आइरहेपनि कार्यालयले सुविधा नदिएको भन्दै विद्युत मिटर रिडरहरु आन्दोलनमा उत्रेका छन्। अन्य स्थानमा ज्यालादारी कामदारहरुको सुविधा थपेपनि आफूहरुको माग सुनवाइ नभएको भन्दै प्राधिकरणको जनकपुर-सगरमाथा क्षेत्रीय कार्यालयअन्तर्गत कार्यरत मिटर रिडरहरु बुधबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन्।
माग पुरागर्न प्राधिकरणमाथि दबाब दिने उद्देश्यले कामकाज ठप्प पारी उनीहरु जनकपुरस्थित क्षेत्रीय कार्यालयमा धर्ना शुरु गरेका छन्। २०६८ सालदेखि न्यून ज्यालामा काम गर्दै आइरहे पनि आफूहरुको पीडालाई प्राधिकरणले नबुझेको उनीहरुको आरोप छ।
क्षेत्रीय कार्यालय जनकपुर अन्तर्गतका धनुषा, महोत्तरी, सिरहा र सप्तरी गरी साढे तीन सयभन्दा बढी मिटर रिडरहरु आफूहरुलाई पनि ज्यालादारी कर्मचारी सरह सुविधा दिइनुपर्ने माग राखेर धर्नामा बसेका हुन्।
प्राधिकरणले १७ भाद्रमा ज्यालादारी कर्मचारीहरुको सेवासुविधा बढाउने निर्णय गरेपनि आफूहरुलाई ध्यान नदिएको भन्दै उनीहरुले गुनासो गरेका छन्। प्राधिकरणले ज्यालादारी कर्मचारीहरुलाई काम गरेको प्रत्येक दिनको नियमानुसार तोकिए बमोजिम ज्याला दिने, शिफ्टमा काममा लगाइए शिफ्ट भत्ता र तोकिएको भन्दा बढी कामगरे ओभरटाईम लगायतको सुविधा दिने निर्णय गरेको छ।
तर आफूहरु अझै गोटा गन्तीको आधारमा मिटर रिडिङ गर्दै आएको मिटर रिडिर संघर्ष समितिका अध्यक्ष भिम रिजालले बताए। रिजालका अनुसार अहिले कार्यरत मिटर रिडरहरुले प्रति मिटर रिडिङ गरे वापत तीन रुपैयाँ पारिश्रमिक पाउने गरेका छन्। माग सम्बोधनका लागि पटकपटक सरोकारबलाहरुको ध्यानाकर्षण गराउँदै आइरहेपनि सुनवाइ नभएको उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४