काठमाडौं- यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जनालार्इ संयुक्त रुपमा प्रदान गरिएको छ।
इन्जाइमको निर्देशित आविष्कार गरेको भन्दै क्यालिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजीकी फ्रान्सेस एच आर्नल्ड र पेपटाइड्स र एन्टीबडीको पेजका विषयमा अनुसन्धान गरेको भन्दै मिसौरी युनर्भसिटिका जर्ज स्मिथ र एमआरसी ल्याबरेटोरी अफ मोलिक्युलर बायोलोजी, क्याम्ब्रिजका ग्रेगोरी वीन्टरलार्इ बुधबार प्रदान गरिएको हो।
आर्नल्डलार्इ आधा र बाँक दुर्इ जना स्मिथ र वीन्टरलार्इ आधा-आधा हुने गरी पुरस्कार प्रदान गरिएको हो।
सन् २०१८ को भौतिकशास्त्रतर्फको नोबल पुरस्कार अमेरिकाका आर्थर आस्किन, फ्रान्सका जेरार्ड मुराउ र क्यानडाकी डोना स्ट्रिकल्याण्डलाई दिने मंगलबार घोषणा गरिएको हो।
जसमा आस्किनलाई आधा र बाँकी दुई जनाले आधा पुरस्कार पाएका छन्। लेजर फिजिक्सको क्षेत्रमा गरिएको अभूतपूर्व उपलब्धीका लागि उनीहरुलाई नोबल पुरस्कार दिइएको नोबेल फाउन्डेसनले जनाएको छ। उनीहरुले एकदम सानो वस्तुबाट पनि तीव्रगतिमा काम गर्न सकिने विषयमा उनीहरुले अनुसन्धान गरेका थिए।
सोमबार चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिक जेम्स पी एलिसन र जापानी वैज्ञानिक टासुकु होन्जुलार्इ प्रदान गरिने घोषणा गरिएको थियो। उनीहरूलार्इ 'क्यान्सर थेरापी' को अनुसन्धानमा योगदान गरेको बताउँदै यस वर्षको नोबेल पुरस्कार दिने सोमबार घोषणा गरिएको हो।
त्यसैगरी शुक्रबार शान्तितर्फको पुरस्कारको घोषणा गरिने नोबेल फाउन्डेसनले जनाएको छ।
हरेक वर्ष पाँच विधा साहित्य, रसायन विज्ञान, भौतिक शास्त्र, शान्ति र क्रिया विज्ञान तथा चिकित्सा क्षेत्रमा योगदान गरेवापत प्रदान गरिँदै आएको छ। सन् १८९५ मा स्विडेन निवासी रसायनविज्ञ तथा इन्जिनियर अल्फ्रेड बेर्नार्ड नोबेलको नाममा नोबेल फाउन्डेसन स्थापना गरी यो पुरस्कार प्रदाथ गरिँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४