काठमाडौं- बंगलादेशको ढाकामा जारी यू-२० साफ च्याम्पिनयनसिपअन्तर्गत मंगलबारको दोस्रो खेलमा बंगलादेशले जित निकालेको छ। ढाकाको वीर सहिद श्रेष्ठ सिपाही मोस्तफा कमल रंगशालामा सम्पन्न खेलमा बंगलादेशले भुटानलाई ५–० ले हराएको हो।
बंगलादेशका लागि साम्सुनहरले ह्याट्रिक गरिन् भने अक्लिमाले दुई गोल गरिन्। अक्लिमाले खेलको २२औं मिनेटमा सुरुआति गोल गरेकी थिइन्। साम्सुनहरले २९औं मिनेटमा पहिलो गोल गरिन्। उनले ५३औं मिनेट र ६०औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरिन्।
यसअघि आजकै अर्को खेलमा नेपालले भारतलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको नेपाल दोस्रो हाफमा तीन गोल फर्काउँदै फाइनलमा पुगेको थियो।
उक्त खेलमा हार बेहारे पनि भारतको फाइनल पुग्ने समीकरण कायमै थियो। तर, अन्तिम खेलमा बंगलादेशले भुटानविरुद्ध सानदार जित निकालेपछि फाइनलमा नेपाल र बंगलादेशको भेट निश्चित भएको हो।