आइतबार, मंसिर १७, २०८०
  • गृहपृष्ठ
  • संवाद
  • विमान र चालकलाई दोष दिने होइन, नियामक बलियो हुनुपर्छः वरिष्ठ क्याप्टेन कुमार पाण्डेय [अन्तर्वार्ता]

विमान र चालकलाई दोष दिने होइन, नियामक बलियो हुनुपर्छः वरिष्ठ क्याप्टेन कुमार पाण्डेय [अन्तर्वार्ता]

अख्तियारका आयुक्त नै जेल पर्ने देश हो नेपाल। आकाश र पाइटललाई मात्र दोष दिएर हुँदैन। सरकारले पार्टीका झोलेहरूलाई राजनीतिक नियुक्ति दिने नभई सक्षम व्यक्तिलाई नियामक निकायमा जिम्मेवारी दिनुपर्छ।
 |  बिहीबार, माघ ५, २०७९
averest bankaverest bank

यज्ञराज जोशी

यज्ञराज जोशी

बिहीबार, माघ ५, २०७९

गत आइतबार पोखरामा ७२ जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनाले एक पटक फेरि सबैलाई झस्काइदिएको छ। यती एयरलाइन्सको ९ एन–एएनसी जहाज पोखरा विमानस्थलमा अवतरण हुनै लाग्दा दुर्घटनामा परेको थियो। त्यसपछि नेपाली आकाश र उड्डयन क्षेत्रलाई लिएर आम जनमानसमा त्रास फैलिएको छ। कतिपयले पुराना विमानका कारण नेपालमा दुर्घटना हुने क्रम बढ्दो रहेको बताइरहेका छन् त कतिपयले नेपाली आकाश नै सुरक्षित नरहेको तर्क गरिरहेका छन्। कतिपयले चालकलाई नै पनि दोष दिने गरेको पाइन्छ। आखिर विमान दुर्घटनाको प्रमुख कारण के हो? यसै विषयमा केन्द्रित रहेर नेपाल समयका लागि यज्ञराज जोशीले करिब १६ वर्ष विदेशी आकाश नेपालीमा जहाज उडाएका वरिष्ठ क्याप्टेन कुमार पाण्डेयसँग संवाद गरेका छन्।

sagarmatha cement

विमान दुर्घटना हुँदा हामी सबै ताते पनि एक–दुई दिनमै सेलाउँछौं। पोखरा विमान दुर्घटनापछि थुप्रै प्रश्न उठिरहेका छन्। नेपाली आकाश कति सुरक्षित छ?
कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तथ्यबिनाका कुराहरू आइरहेका छन्। विभिन्न अफवाह फैलिरहेका छन्। सबै नेपाली नागरिकलाई ती अफवाहको पछि नलाग्न आग्रह गर्छु। नेपालको आकाश र नेपालका प्लेन सुरक्षित छन्। सम्बन्धित निकायले सुधार गर्नुपर्ने थुप्रै कुरा छन्। तर, नेपाली आकाश र प्लेनलाई दोष दिनु हुँदैन। म सबै नागरिकलाई प्लेन चढ्न आग्रह गर्छु।

नेपाली प्लेनमा कुनै खराबी छैन भन्ने विश्वास दिलाउन चाहन्छु। नेपालमा एक्सपर्ट पाइलट छन्, राम्रा–राम्रा इन्जिनियर छन्। एक–दुई दुर्घटना हुँदैमा आत्तिनु हुँदैन। प्लेन र आकाशलाई दोष दिएर उड्डयन क्षेत्र सुरक्षित हुने होइन। उड्डयन क्षेत्रलाई सुरक्षित तुल्याउन हामीले मानवीय कमजोरीलाई सुधार्नुपर्छ। दिनहुँ गाडी दुर्घटना हुन्छन्। ती दुर्घटनाबाट पनि थुप्रै मानिसले ज्यान गुमाएका हुन्छन्। यसभित्रका कमजोरीलाई खोज्दै सुधार गर्दै लैजाने हो। हवाई क्षेत्रमा थुप्रैले रोजगारी पाएका छन्। ठूलो अर्थतन्त्र धानिएको छ।

अहिले भारतीय सञ्चारमाध्यमले पनि नेपाली आकाशको बारेमा थुप्रै अपवाह फैलाएको पाइएको छ। त्यो हुनु हुँदैन। मैले लामो समय भारतको आकाशमा पनि प्लेन उडाएको छु। त्यसैले यस्ता अफवाह नफैलाउन भारतीय सञ्चारमाध्यमलाई पनि आग्रह गर्छु। सबै देशका पर्यटकलाई हाम्रो आकाश र प्लेन सुरक्षित रहेको र निर्धक्क यात्रा गर्न आग्रह गर्छु। हाम्रा केही कमजोरी रहेकोमा भने त्यसलाई हटाउनतर्फ लाग्नुपर्छ।

के विमान पुरानो हुँदैमा दुर्घटना हुन्छ?
प्लेन २५–३० वर्षसम्म पुरानो हुँदैन। जहाजको हरेक कुराको लाइफ हुन्छ। नट–बोल्ट समेत निश्चित समयमा फेर्नैपर्छ। ल्यान्डिङ गेयरको लाइफ हुन्छ। सबै इक्युपमेन्टको लाइफ हुन्छ। इन्जिनियरहरूले सबै इक्युपमेन्टको टेक्निकल लगबुक राखेका हुन्छन्। सबै रेकर्ड राखिएको हुन्छ। उहाँहरूले सबै काम गर्नुहुन्छ। उहाँहरूले सबै काम गर्नुभएको छ कि छैन भन्ने अनुगमन भने नियामक निकायले गर्नुपर्छ। त्यसैले प्लेन पुरानो हुँदैन।

मैले करिब १६–१७ वर्ष विदेशमा प्लेन उडाएको छु। सानो घटना मेरो पनि भएको छ। त्यो हुँदा प्लेनले मलाई यसो गर त्यसो गर भनेर सिकाएको छ। यसमा (एटीआर जहाजमा) सेफ्टी एकदमै राम्रो छ। प्लेन र पाइलटलाई बदनाम गर्नु हुँदैन। नियमित चेकजाँच भएको छ कि छैन भनेर नियामक निकायलाई नियमनको लागि प्रेसर दिने हो। नियमित इक्युपमेन्टको चेकजाँच हुँदा प्लेन पूर्ण रुपमा सुरक्षित हुन्छ। एयरलाइन्सलाई प्रेसर दिने हो। पाइलटलाई पनि अनुशासित बन्न भनेर प्रेसर दिने हो। हाम्रो साह्रै बदनाम भइसक्यो। म नेपालको पाइलट हुँ भन्दा पनि मानिसले नाक खुम्च्याउने अवस्था सिर्जना भएको छ। यो अवस्थालाई रोक्न सबै लाग्नुपर्छ।

पाइलटको भूमिका कस्तो हुनुपर्छ, पाइलटका कमीकमजोरी के कस्ता रहन्छन्?
पाइलटको भूमिका महत्वपूर्ण हुन्छ किनकी ऊ कमान्डर हो। उसको हातमा हुन्छ सबैको जीवन। घरको समस्या भए घरमा राखेर आउने, आर्थिक समस्या भए बैंकमा राखेर आउने गर्नुपर्छ। म प्लेन उडाउन जाँदैछु, मेरो पनि परिवार छ भन्ने सोच्नुपर्छ। त्यसमा म्यानेजमेन्टको दबाब पर्नु हुँदैन। नागरिकको दबाब पर्नु हुँदैन। रिल्याक्स गरेर उड्ने वातावरण हुनुपर्छ। कम्पनीले चाँडो जा, यसरी आइज, इन्धन बचा जस्ता प्रेसर आउँदा ती प्रेसरको वास्ता गर्नु हुँदैन। हामीले आफूलाई सुपर देखाउनका लागि नियमको बेवास्ता गर्नु हुँदैन। सबै मान्छे पर्फेक्ट हुँदैनन्। कमजोरी भएरै यस्ता दुर्घटना भइरहेका छन्। त्यसैले सबैले कमजोरी सुधार गर्नतर्फ ध्यान केन्द्रित गर्नुपर्छ।

अख्तियारका आयुक्त नै जेल पर्ने देश हो नेपाल। आकाश र पाइटललाई मात्र दोष दिएर हुँदैन। सरकारले पार्टीका झोलेहरूलाई राजनीतिक नियुक्ति दिने नभई सक्षम व्यक्तिलाई नियामक निकायमा जिम्मेवारी दिनुपर्छ।
राज्यको भूमिका र दायित्व कस्तो हुनुपर्छ?
राज्यको दायित्व सबैभन्दा महत्त्वपूर्ण र जवाफदेही हुनुपर्छ। मन्त्रीहरूले जवाफदेही रुपमा काम गर्न प्रेरित गर्नुपर्छ। प्रलोभनमा पर्नु हुँदैन। इन्जिनियरहरूले इमान्दार भएर चेकजाँच गर्नुपर्छ। आयु सिद्धिएका पार्ट चेन्ज गर्न भन्नुपर्छ। यी सबै कुरा गराउनै पर्छ। यसमा सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ। उनीहरूले इन्डिपेन्टेन्ड इन्जिनियर, पाइलटहरू जो रिटायर्ड भएर बस्नुभएको छ, उहाँहरूलाई हवाई सुरक्षाको टिम बनाएर राखेर अनुगमन गर्ने अधिकार दिनुपर्छ। हातखुट्टा बाँधेर अधिकार दिने होइन, खुला अधिकार दिनुपर्छ। त्यो मान्छेले पनि त्यहाँ कुनै प्रलोभनमा परेर गलत काम गरे कडाभन्दा कडा सजाय दिनुपर्छ। अहिले कसलाई जेल हाल्ने? कसको के कमजोरी भन्ने? त्यसैले गाह्रो भएको हो।

नियमन नहुँदा कमसल सामान प्रयोगको जोखिम पनि बढ्ला नि?
हो, त्यो हुन्छ। हुनेमात्र होइन, त्यो गरिरहेका छन्। मेन्टिनेन्स हुँदा प्लेनमा कुनै समस्या हुँदैन। मेन्टिनेन्स भएन र नागरिक उड्डयन प्राधिकरणमा गएर हाम्रो प्लेनलाई अर्को एक वर्षका लागि निरन्तर गरिदिनुस्, के हुन्छ र? भनेर प्रलोभन देखाउनु हुँदैन। त्यो गर्छन् पनि। नेपाल भ्रष्टाचार व्यापक भएको ठाउँ हो। त्यो गर्छन् पनि। नेपालको जुनसुकै क्षेत्रमा पनि तलदेखि माथिसम्म भ्रष्टाचार छ। यस्ता काम गर्ने केही मान्छेलाई कडा कारबाही गर्नेबित्तिकै धेरै ट्र्याकमा आउँछन्।

अख्तियारका आयुक्त नै जेल पर्ने देश हो नेपाल। यहाँ आकाश र पाइटललाई मात्र दोष दिएर हुँदैन। त्यसैले जनताले कुरा बुझेका छैनन्, उनीहरूलाई थोत्रो प्लेनका कारण दुर्घटना भयो लाग्छ। प्लेन थोत्रो नहुने र मेन्टिनेन्स भएर भने दुर्भाग्य हुन्छ। त्यसैले सरकारले पार्टीका झोलेहरूलाई राजनीतिक नियुक्ति दिने नभई सक्षम व्यक्तिलाई जिम्मेवारी दिनुपर्छ। पढेको, जानेको, बुझेको मान्छेलाई जिम्मेवारी दिनुपर्छ। त्यस्ता व्यक्तिले सम्बन्धित निकायलाई  र्‍याखर्‍याख्ती पार्न सक्छन्। मान्छेको जीवनको सवाल हुने भएकाले ती व्यक्तिले पनि बदमासी गरेको थाहा पाइए कडा कानुनी कारबाही गर्नुपर्छ।

ब्ल्याक बक्सले दुर्घटनाको कारण पत्ता लाग्छ भनिन्छ। के हो ब्ल्याक बक्स?
त्यसमा एयरक्राफ्टको सबै डेटा हुन्छ। कहाँ गएर टर्न गर्नुभयो, हेडिङ कहाँ के थियो, एयरक्राफ्ट ठोक्किँदा असर कति पर्‍यो त्यो सबै रेकर्ड हुन्छ। प्लेन स्टार्ट भएदेखिको सबै रेकर्ड त्यसैमा हुन्छ। त्यसका अलावा ककपिटमा एउटा भ्वाइस रेकर्डर हुन्छ। त्यसलाई सिभिआर भनिन्छ। एउटा एफडिआर हुन्छ। त्यसमा को पाइलट र क्याप्टेनको बीचमा के कुरा भयो, पाइल–पाइलटले के कुरा गरेका छन्। नियमन फलो गरेको छ कि छैन, ल्यान्डिङ गेयर कहाँ झारेको छ। कुन हेडिङमा झारेको छ, कति टर्नमा गएको छ आदि कुरा हुन्छ। 

पोखरा दुर्घटनाको कुरा गर्दा मौसम खराब थिएन, सबै कन्डिसन ठिक थियो भनिन्छ। के कारणले भयो जस्तो लाग्छ दुर्घटना?
यस विषयमा प्रारम्भिक जाँच भइरहेको छ। सत्य कुरा त्यसपछि नै बाहिर आउला। सत्य कुरालाई बाहिर ल्याउनु पनि पर्छ। अहिले सार्वजनिक भएको भिडियो क्लिपहरु हेर्दा ल्यान्डिङको क्रममा एयरक्राफ्ट स्टल भएको हो कि भन्ने लाग्छ। प्लेन तलको लेभलमा आइसकेपछि रिकभर गर्ने चान्स निकै कम हुन्छ। अझ प्रस्ट रुपमा भन्दा उहाँहरू (पाइलट–कोपाइलट) ल्यान्ड गर्न आउनुभयो । ल्यान्डिङ गर्ने क्रममा अलिकति रनवेलाई क्रस गर्नुभयो।

रनवे क्रस भइसकेपछि रनवेतर्फ फर्किनुपर्‍यो भनेर घुमाउँदा ब्याङ एंगल अलि बढी भयो। ल्यान्डिङ गिएर झरिसकेको, पावर काटिसकेको अवस्थामा एयरक्राफ्टलाई त्यसरी घुमाउँदा आफूलाई थाम्नै सकेन र दुर्घटना भयो भन्ने लाग्छ। मैले भिडियो क्लिपको आधारमा भनेको हो। अहिले नै यही भएको हो भन्न गाह्रो छ। यस्तो अवस्थामा लोड लिन नसकेर ढुंगा खसेजस्तो खसेको हो।

प्रकाशित: Jan 19, 2023| 07:49 बिहीबार, माघ ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नेपालमा अमेरिकी लगानी भारतविरुद्धका गतिविधिमा प्रयोग भइरहेको छ: डा. निहार आर नायक [अन्तर्वार्ता]

नेपालमा अमेरिकी लगानी भारतविरुद्धका गतिविधिमा प्रयोग भइरहेको छ: डा. निहार आर नायक [अन्तर्वार्ता]

नेपालमा अमेरिकी नीति भारत र अमेरिकाबीचको बलियो साझेदारीसँग केही हदसम्म भिन्‍न देखिन्छ।
इजरायलको घटनाले हामीलाई पाठ पनि सिकाएको छ: परराष्ट्रमन्त्री साउद [अन्तर्वार्ता]

इजरायलको घटनाले हामीलाई पाठ पनि सिकाएको छ: परराष्ट्रमन्त्री साउद [अन्तर्वार्ता]

विदेशमा हामीले कानुनी रूपमा र सुरक्षित रूपमा पठाएका नागरिकमाथि पनि सांघातिक आक्रमण भएको यस घटनाले हामीलाई पाठ सिकाएको छ।
वाणिज्य विभागका महानिर्देशक चिलुवाल भन्छन् - बदमासी गर्ने व्यवसायीलाई छाड्दैनौं [अन्तर्वार्ता]

वाणिज्य विभागका महानिर्देशक चिलुवाल भन्छन् - बदमासी गर्ने व्यवसायीलाई छाड्दैनौं [अन्तर्वार्ता]

दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न हामीले हस्तक्षेपकारी भूमिका बढाएका छौं। उपभोक्ता संरक्षण ऐनबमोजिम कैफियत गर्ने व्यापारीलाई कारबाही गर्छौं।
वन्यजन्तुको संख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छ: वनमन्त्री महतो [अन्तर्वार्ता]

वन्यजन्तुको संख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छ: वनमन्त्री महतो [अन्तर्वार्ता]

मुलुकमा वन जंगलको क्षेत्रफल बढेर ४५ प्रतिशत पुगेको छ। वन्यजन्तुको संख्या पनि निकै बढेको छ। यसमा उचित व्यवस्थापन गर्न नसक्दा एकातिर मानव-वन्यजन्तु द्वन्द्व बढेको छ...