काठमाडौं– राजधानीमा पुस २२ गतेबाट सुरु भएर माघ १ गते सकिएको पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा सबैभन्दा सन्तुष्ट टिम हेल्प नेपाल क्लब र नेपाल पुलिस क्लब रहे।
किनभने यी क्लबले क्रमशः पुरुष र महिलाका उपाधि चुमे। महिलातर्फ पुलिसकी पूरा सेटकी सोलो स्पाइकर उषा भण्डारी सर्वोत्कृष्ट बनिन्। उनले व्यक्तिगत उपाधि चुम्दा टिमले पनि पहिलो स्थान हासिल गरेको थियो। उपाधि जितेपछि उनले भनिन्, ‘सपनाजस्तै अनुभव भइरहेको छ।’
फाइनल जितेपछि उषालाई धेरैले सोधे– कस्तो फिल भयो? फाइनल सिट्ठी बजेपछिको भावना कस्तो रह्यो त? यो प्रश्न उनीहरुले नै सोधे जसले पहिलो सोध्ने गर्थे– तिम्रो जीवनमा सपना के छ? उनी भन्ने गर्थिन्, ‘मेरो ड्रिम भनेकै एनभीए जित्ने हो।’ उनी अगाडि भन्छिन्, ‘अझै पनि भन्नै सक्दिन कि हामीले गर्यौं, हामीले गरेको हो। हामीले आफैंले सोचेका थिएनौं त्यति राम्रो खेल्छौं भनेर, तर खेल्यौं।
जब सिट्ठी बज्यो, त्यो खुसी बयानै गर्न सक्दिनन् उषा। एनभीए लिग वा च्याम्पियनसिप जित्ने उनको सपना थियो। लक्ष्य पनि थियो। यही कुरा उनले आफ्ना नजिकका सबैलाई सुनाएकी थिइन्। त्यो आइतबारको फाइनलमा पूरा भएको छ। तर उषालाई यो पत्याउन धेरै समय लाग्यो कि उनले उपाधि जितिन्। पहिलो घरेलु ठूलो प्रतियोगिताको उपाधि विशेष हुन्छ सायद! उपाधि जितेको भोलिपल्ट उनले भनिन्, ‘मलाई पनि थाहा थिएन पुलिसले एनभीएको उपाधि नजितेको १० भर्ष भयो भनेर। जितेपछि पनि सपनामै छु भन्ने फिल भइरहेको छ।’
एक दिन अघिकै कुरामा उनी नोस्टाल्जिक बनिन्, ‘अहिले पनि सपनामा छु झैं फिल भइरा‘को छ। अझै खेल बाँकी नै छ भन्ने लाग्छ। झन् १० वर्ष भयो भनेको सुन्दा त उत्तिकै धेरै खुसी लागिरहेको छ। त्यो खुसी सकिएकै छैन।’
एक हप्ताअघि प्रतियोगिता सुरु हुँदा उनलाई लागेको थिएन कि आफ्नो टिमको खेल त्यतिविधि प्रतिस्पर्धात्मक होला र आफूले जितौंला। पछिल्लो पटक लिगमा पनि पुलिसले न्यु डायमन्डसँग हारेको थियोा। च्याम्पियनसिपमा पनि पुलिसले जित निकाल्न नसकेको साँचो हो।
छैटौंमा पनि पुलिस चौथो भयो। त्यो कुराले पनि पुलिसलाई घोचिरहेको थियो कतै जित्नुपर्छ भनेर। ‘त्यसैले हामीले अहिले चाहिँ गर्यौं है भन्ने लागेको छ। नेपालमा गर्व गर्न लायक उपाधि जितेका छौं,’ उनले भनिन्, ‘सबै नयाँ खेलाडी हो हामी। पुरानो भनेको कमला (पुन) र कोपिला(राना) दिदी मात्र हुनुहुन्थ्यो। अनि अहिले जितेर पुलिस ब्याक भएको छ भनेर प्रमाणित गरेका छौं।’
पछिल्लो लिगमा आर्मी र एपिएफ फाइनलमा पुगेका थिए। तर अहिले दुवै टिम पुगेनन्। एफिएफले घरेलु भलिबलमा लामै समय राज गरेको थियो। उसका सबैजसो खेलाडी राष्ट्रिय टिममा रहन्थे। तर अहिले पुलिसले उपाधि जितेपछि त्यो शक्ति विस्तारै युवा खेलाडी भएको पुलिसतर्फ सरेको भान हुन्छ। तर अझै पनि एपिएफ र न्यु डायमन्ड बलियो टोलीका रुपमा लिन्छिन् उषा। भन्छिन्, ‘अहिले चाहिँ चारमा चार (आर्मी, पुलिस, एपिएफ र न्यु डायमन्ड) नै बलिया छन्। अहिले सबैमा नयाँ पुराना खेलाडी छन्। अनि धेरैमा अनुभवको कमी छ। त्यसैले कुन बेला कुन टिमले जित्छ भन्ने नै थाहा छैन। कसले जित्छ भन्ने टुंगो नै छैन। चारै टिम बलियो छन्।’
प्रतियोगितामा सेमिफाइनल र फाइनल पुलिसका लागि उस्तै रह्यो। सेमिफाइनलमा पुलिसले एपिएफको सामना गरेको हो। पुलिसलाई त लागेको थियो– आर्मीसँग परिदिए हन्थ्यो। तर त्यस्तो भएन। धेरै अनुभव भएका खेलाडीले भरिएको एपिएफसँगै पुलिसले सेमिफाइनलमै भिड्नुपर्ने भयो। ‘उनीहरुविरुद्ध खेल्न गाह्रो थियो। त्यसैले सेमिफाइनलमा जित निकालेपछि चाहिँ हामीलाई फाइनल केहि सहज हुन्छ कि भन्ने लागेको हो,’ उषाले प्रतियोगिताको यात्राबारे सुनाइन्।सेमिफाइनलमा पनि पुलिसले कम सास्ती खप्नु परेन। उसले पछि परेको अवस्थाबाट कमब्याक गर्यो। पहिलो सेट जितेर दुई सेट गुमाएर कमब्याक गरेको थियो। फाइनल पनि त्यस्तै भयो। पुलिसलाई फाइनल सहज होला भन्ने थियो तर उस्तै गाह्रो भएको उषाको भनाइ छ। किनभने न्यु डायमन्डमा प्रतिभा (माली) र सलिना (श्रेष्ठ)बाहेक सबैजसो राष्ट्रिय टिममा नखेलेका र नयाँ थिए।
त्यसैले होला– पुलिसले न्यु डायमन्ड फाइनलमै पुग्ला भनेर सोचेन। कि एपिएफले फाइनल खेल्छ भन्ने थियो पुलिसलाई। तर त्यस्तो भएन। फाइनलमा धेरै दर्शकहरु न्यु डायमन्डको समर्थनमा थिए। ‘धेरैले सोचेका थिए न्यु डायमन्डले जित्छ। त्यो कुरा नै धेरैले देखेर आइरहेको हो तर हामीले जित्यौं,’ उषाले केहि उत्साहका साथ भनिन्।
पछिल्लो लिगमा पनि बेस्ट अफ फाइभ खेलेर पुलिसले जितेको थियो। योपालि पनि त्यस्तै भयो। यद्यपि अहिले पुलिसमा राष्ट्रिय टिमका खेलाडी खासै छैनन्। तीन जना मात्र हो– कामना विष्ट, पुनम चन्द र उषा। कमलाले धेरै पहिले लिब्रोबाट खेलेकी थिइन्, सेटरको अभावमा उनी पुलिसको सेटर बनेकी छन्। यद्यपि पुलिसले गरेको अभ्यास र टिमवर्कलाई नजरअन्दाज गर्न मिल्दैन।
‘भित्रभित्र धेरै अभ्यास गरेर बनाएको अनुभव हो। त्यसका साथै टिमवर्क गज्जबको भयो। एक जना नचल्दा अरु चले। पहिले एक जना चल्न सकेन भने अरु पनि चल्न नसक्ने हुन्थ्यो। अहिले त्यस्तो भएन,’ उषाले भनिन्, ‘आफ्नो खेल खेल्ने हो। टिमवर्क छ भनेर देखाउने हो। त्यो नै भएको हो।’
अनि फाइनलमा रणनीति चाहिँ कस्तो थियो? उषाले बयान गरिन्, ‘न्यु डायमन्डको पहिले ब्लक कमजोर थियो। अहिले उचाइ धेरै भएका खेलाडी आएर ब्लक बलियो भएको रहेछ। तर फाइनलमा पर्फमेन्स भन्दा पनि माइन्ड गेम खेलेर नै हामीले जितेको हो।’
प्रतियोगिताको पहिले र सेमिफाइनलमा प्लेयर अफ दि म्याच बनेकी उषा सर्वोत्कृष्ट बनिन्। ‘मेरो टिमलाई उपाधि दिलाउने र आफू सर्वाेत्कृष्ट बन्ने लक्ष्य थियो। त्यो मेरो सपना नै हो। अब म प्रतियोगिताको लागि माल्दिभ्स जाँदै छु,’ उनले भनिन्।
विभागीय दबदबा रोक्यौंप्रतियागितामा निकै उत्कृष्ट देखिएको हेल्प नेपालले भने तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेको थियो। पछिल्लो समय भारतका पूर्व कप्तानसहितका खेलाडी अनुबन्ध गरेको हेल्प नेपालले यो पटक भने पाकिस्तानको राष्ट्रिय टिममा खेलिरहेका उपकप्तान मुवासर राजा, उसमान फरयाद अली र मुहम्मद शा शिफ नभिद अनुबन्ध गरेको थियो। ‘उहाँहरु पाकिस्तानको पनि सेटको खेलाडी हुनुहुन्थ्यो। हामीसँग राष्ट्रिय टिमका खेलाडी पनि थियौं।
पाकिस्तानबाहेक नेपालका पूर्व, पश्चिम, गण्डकी सबैतिरका खेलाडी थिए,’ उपाधि जितेपछि नेपाल समयसँगको कुराकानीमा कप्तान सञ्जुविक्रम शाहले भनेका छन्। अनि उपाधि जित्दा चाहिँ कस्तो अनुभव भयो? प्रश्न खस्न नपाउँदै उनको जवाफ थियो, ‘यो वर्ष हामीले उनीहरुलाई ह्याट्रिक हान्न दिइएन। साथै यो फाइनलमा जित निकाल्न पाउँदा धेरै नै खुसी छौं। गौरवको अनुभूति भइरहेको छ। पहिले फाइनलमा हारेको नि हामी, अहिले बदला पनि लिएजस्तै।’ हेल्प नेपालले गत वर्षको लिगमा आर्मीसँग नै फाइनलमा हार बेहोरेको थियो।
वैशाखमा भएको लिगमा पाँचौं सेटमा गएको फाइनलमा आर्मीले जित निकालेको थियो। ‘च्याम्पियनसिपको फाइनलमा चाहिँ हामीले जितेको हो। तर लिगमा ट्रफी उचाल्न सकेनौं,’ उपाधिको उत्सव मनाउँदै उनले भने, ‘प्राउड फिल भइरहेको छ।’ राष्ट्रिय स्तरको प्रतियोगितामा जित निकाल्न पाउँदा उनलाई खुसी लागेको छ। ‘सबैको सपोर्ट र मायाले जित्न सकियो। त्यो नै ठूलो र खुसीको कुरा हो,’ भन्छन्, ‘हाम्रो तयारी राम्रो थियो। हाम्रो टिममा लापरवाही थिएन। रिसाएर खेल्ने कोही थिएन बरु कभर गरेर खेल्नुपर्छ भन्ने लागेको थियो।’
विषेशगरी सर्भर र ब्लकमा धेरै राम्रो देखियो हेल्प नेपाल। उसका लिब्रो दीपक थापा उत्कृड डिफेन्स रहे। उनीहरुले विभागीय टिमलाई फाइनलमा कुनै सेट जित्नै दिएनन्। ‘विभागीय दबदबा तोड्दा धेरै खुसी छौं,’ सञ्जुले भने। उनलाई विदेशी खेलाडी नेपालमा आएर खेल सिक्न मौका मिलेकोमा खुसी लागेको छ। उनले आउने दिनमा पनि अझै सिक्न सकिने बताएका छन्। यसरी राम्रो देशका उत्कृष्ट खेलाडी नेपाल आए नेपालको पनि स्तर वृद्धि हुने र यसले अर्थ राख्ने उनले बताए।
टुट्यो न्यु डायमन्डको सपना
यो प्रतियोगिताक न्यु डायमन्डका लागि साचेको जस्तो भएन। यसपालि उपाधि जित्ने लक्ष्यका साथ आएको भए पनि उसले उपविजेतामा चित्त बुझाउनु पर्यो। ‘अहिले आएर गर्दागर्दा केके केके भयो जितिएन,’ प्रतियोगिता सकिएपछि प्रशिक्षक कुमार राईले भने।
१० नम्बरकी खेलाडी सुमित्रा रेग्मीले भलिबल खेल्न थालेको ६–७ महिनाजति भएको छ। उनलाई एउटा मुख्य रोल दिएको थियो न्यु डायमन्डले तर त्यसमा सुमित्रा केही स्लो देखिइन् वा अनुभवको कमीले खेल्न सकिनन्। ‘फाइनलमा हाम्रो मेन खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। उनले बल छोएको नै वैशाखको अन्तिमतिर हो। त्यसअघि कहिल्यै खेलेकै थिएन। बीचमा परीक्षा भयो के भयो। अभ्यास पनि निरन्तर हुन सकेन र केहि खराबी भयो,’ प्रशिक्षक कुमारले भने, ‘छ महिना पनि राम्रो सिकेको छैन।’ न्यु डायमन्डका बाँकी खेलाडी पनि युवा छन्।
सलिना बुढा मगर, सुुमित्रा र निशा महरा निकै युवा खेलाडी हुन्। उनीहरुका लागि त यो प्रतियोतिामा खेल्न पाउनु नै ठूलो कुरा हो। सलिना त १५ वर्षकी मात्र भइन्। त्यसबाहेक अर्की नयाँ खेलाडी हुन्, जेनिशा विश्वकर्मा। यी धेरै युवा खेलाडी भए पनि सम्भावना बोकेका खेलाडी भएको यो प्रतियोगिताले देखाएको छ। ‘राष्ट्रिय टिममा पुग्नका लागि दुई तीन जना त क्युमै छन्। अहिले हाम्रो सेटमा भएका खेलाडीमा पनि सलिना नेसनलमा आउने सम्भावना छ। रिमा कुँवरले पनि राम्रो गर्दै गयो भने राम्रो नै हुन्छ,’ आफ्ना खेलाडीबारे न्यु डायमन्डका प्रशिक्षक कुमार राईले भने।
खेलाडी युवा भए पनि धेरै राम्रो प्रदर्शन रह्यो। लिग जितेको आर्मीलाई सेमिफाइनलमा हराउन न्यु डायमन्डका लागि सजिलो थिएन। उसले त्यो कठिन यात्रा पूरा गरेर फाइनल पुगेको थियो। ‘हाम्रो त प्लेग्राउन्ड नै छैन। त्यसको तनावमा छौं। अभ्यास गराउन पनि पाएको छैन। मैदान बनेपछि मजासँगले अभ्यास गराउन पाइयो भने भनेजस्तो खेलाडी आउने गर्छन्। अहिले त दोस्रो स्थान पनि ठूलै हो,’ प्रशिक्षक कुमारले भने।
च्याम्पियनसिपमा पुरुष टिमहरुले विदेशका राम्रा खेलाडी ल्याएर खेलाउँदै उपाधि जिते पनि महिलाका कुनै टिमले विदेशी खेलाडी अनुबन्ध गरेनन्। गण्डकीले गर्ने प्रयास गरेको थियो। तर, अन्तिम समयमा रद्द भयो। तर यसअघि नेपालमा विदेशी खेलाडी आउने गरेका थिए। कुमारले नै नेपालमा पहिलो पटक भारतबाट खेलाडी अनुबन्ध गरेर खेलाएका थिए। ‘गोरखपुरबाट ल्या‘र खेलाएको हो। पहिले खर्च गरेको हो। तर पछि कस्तो लाग्यो भने हामीले नेपालकै खेलाडी राम्रो बनाउनुपर्छ र विदेश पठाउनु पर्छ,’ प्रशिक्षक कुमारले भने, ‘हाम्रो नानीहरु चाहिँ यस्तो च्याम्पियनसिप खेल्नका लागि विदेश जाने बनाउनुपर्छ भन्ने लाग्छ।’
उनले निकै जोड लगाएर थपे, ‘खेलाडीलाई यस्तो बनाउँ कि युरोपमा पनि डिमान्ड होस्। एकदमै अद्भूत खेलाडी जन्माउन सकौं भन्ने विश्वास छ। पछिल्लो क्षणमा भगवान् भरोसा जस्तो गरी क्लब चलाएका छौं। खेलप्रेमीको साथ पाएँ भने एकै वर्षमा त भन्दिनँ, पाँच वर्षको समयभित्र एक्सट्राअर्डिनरी खेलाडी निकाल्छु। जसले नेपालकै इज्जत रहन्छ भन्ने लागेको छ।’
न्यु डायमन्ड महिला खेलाडी उत्पादन गर्नका लागि धेरै चिनिएको क्लब हो। तर उसका खेलाडी विभागले तान्ने गरेपछि क्लबले जहिल्यै संघर्ष गरिरहेको हुन्छ। यता विभाग बाहिरबाट आएका खेलाडीलाई नै भित्र्याउने प्रयासमा रहन्छ।
‘हामीले राम्रो बनाएको खेलाडी विभागमै जाने हो, विभागले खेलाउने हाम्रो खेलाडी नै हो। त्यसैले विभागले हामीलाई सहयोग गर्नुपर्ने हो,’ कुमारले सरकारी पक्षको ध्यानाकर्षण गराएका छन्, ‘सरकारले पनि सहयोग गर्नुपर्ने हो। किनभने देशकै लागि खेल्ने खेलाडी जन्माउने हो। अहिले नभए पनि अलिअलि लगानी गरिरहेका छौं। भविष्यमा ठिकै होला भन्ने लागेको छ। विभागीय टिमका केहि खेलाडीले सहयोग गरिरहेका छन्। कोहि जोडिनेवाला होलान्।’