काठमाडौं- आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन्। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ७६ दलबाट ६८ निवेदन परेका छन्।
प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं १ मा विभिन्न ६३ दलबाट ५५ निवेदन, मधेस प्रदेशमा ६७ दलबाट ५९ निवेदन, बागमती प्रदेशमा ६६ दलबाट ५८ निवेदन परेको छ। गण्डकी प्रदेशमा ६० दलबाट ५२ निवेदन, लुम्बिनी प्रदेशमा ६२ दलबाट ५४ निवेदन, कर्णाली प्रदेशमा ५७ दलबाट ४९ निवेदन र सुदूरपश्चिम प्रदेशमा ५८, दलबाट ५० निवेदन परेको आयोगले जनाएको छ।
निर्वाचन आयोगले शुक्रबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिनका लागि दल दर्ता सुरु गरेको हो। यो प्रणालीका लागि आयोगले निर्वाचन अधिकृतको कार्यालय आयोगको कार्यालयमा तोकेको छ। आयोगले प्राप्त निवेदनमध्ये प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ८७ दलले भाग लिन पाउने गरी क्रम निर्धारण गरिसकेको छ।