काठमाडौं- मुठ्ठीभरको ऋण दिन दुई गुणा रात चौगुणा बढाउँदै साहुले घरबार हत्याएका मिटरब्याज पीडित किसान दोस्रोपटक काठमाडौं आएर माइतीघरमा आन्दोलन गरिरहेका छन्। सुदखोरहरूबाट प्रताडित उनीहरूले आठौँ दिन पनि माइतीघरमा प्रदर्शन जारी राखेका हुन्। यसअघि गत असारमा पनि उनीहरू राजधानी आएर धर्ना दिएका थिए। तर स्थानीय साहुसँग सहमति गर्ने भन्दै उनीहरू फर्किएपनि साहुले झन् बढी ऋण लिएको देखाएपछि उनीहरू दोस्रो पटक धर्नाका कार्यक्रम लिएर राजधानी आउन बाध्य भएका हुन्।
यो समस्या नवलपरासीमा मात्र सीमित छैन। गत साता मिटरब्याज पीडितले सिरहामा पनि प्रदर्शन गरेका थिए। मिटरब्याजमा लगानी गरी जर्बजस्ती रकम असुल्ने विराटनगरको घटना पनि त्यति पुरानो होइन। २०७७ पुसमा विराटनगर-९ का मिटरब्याजमा लगानी गर्ने गिरोहका नाइके एजाज अहमदको पक्राउ पनि परेका थिए। ३२ वर्षीय एक पुरुषलाई १५ लाख रुपैयाँ ऋण दिएर अपहरण गरी १ करोड १० लाख रुपैयाँ असुलेको आरोप लागेका उनलाई जिल्ला अदालत मोरङले २०७७ माघ ५ गते ९ लाख धरौटीमा छाडेको थियो।
‘सबै प्रक्रिया पुर्याए पनि हामीलाई बैंकले ऋण दिँदैन। तर साहुले सजिलै दिन्छन्। अनि बाध्य भएर मिटरब्याजमा साहुसँगै ऋण लिनुपर्छ।’
यसरी साहुहरूले कम रकम ऋणमा दिने, दोब्बर रकम दिएको कागज बनाएर दिने, महँगो ब्याजदर लगाउने र जति रकम तिरे पनि बढाएको बढाई लैजाने (मिटरब्याज) व्यवसाय फस्टाउँदो छ। बैंकमा कम ब्याजदरमा ऋण पाइने भए पनि आखिर कोही किन यस्ता मिटरब्याजीको चंगुलमा फस्छन्? मिटरब्याज पीडित नवलपरासी सुस्तापूर्वका किसान महातम चमार भन्छन्, ‘सबै प्रक्रिया पुर्याए पनि हामीलाई बैंकले ऋण दिँदैन। तर साहुले सजिलै दिन्छन्। अनि बाध्य भएर मिटरब्याजमा साहुसँगै ऋण लिनुपर्छ।’
आठ दिनदेखि माइतीघरमा धर्ना दिइरहेका उनी तीन वर्षअघि ऋण लिन कुन बैंकमा पुगेनन्? लालपूर्जाको फोटोकपी, चार किल्ला प्रमाणीकरण, आम्दानीको स्रोत सबै बोकेर उनी शुरुमा राष्ट्रिय वाणिज्य बैंकको शाखामा पुगे। बैंकले ऋण दिने पनि बतायो। तर उनलाई बैंकले यसरी झुलायो कि अन्ततः उनी थाके र कृषि विकास बैंकमा गए। त्यहाँबाट पनि पार नलागेपछि स्थानीय केही विकास बैंकमा पनि पुगे। तर कुनै पनि बैंक तथा विकास बैंकले ऋण दिएन। ‘बैंकले ऋण नदिएपछि मजबुरीले मिटरब्याजीबाट ऋण लिएँ,’ आफ्नो बाध्यता उनले सुनाए।
स्थानीय मिटरब्याजी सुजित बानियाँसँग २०७६ सालमा चार लाख ८० हजार ऋण लिएका उनले २ वर्षमा ९ लाख ९५ बुझाए। तर पनि साहुले जग्गा फुकुवा गरिदिएको छैन।
000
न्यायका लागि आन्दोलनरत अर्का व्यक्ति अवधेश कुशवाहले पनि बैंकले ऋण नदिएपछि बाध्य भएर साहुकहाँ पुग्नु परेको बताए। ‘बुवा (विन्ध्याचल कुशवाह)ले पहिले त बैंकबाटै ऋण लिने कोसिस गर्नुभएको थियो,’ उनले भने, ‘तर बैंकले झुलाएर ऋण नदिएपछि सुनील बानियाँसँग २०६५ सालमा १ लाख रुपैयाँ ऋण लिनुभएको रहेछ।’ अहिलेसम्म दुई चरणमा कुल १२ कठ्ठा १ धुर (९ कठ्ठा ११ धुर र २ कठ्ठा १२ धुर गरी) जग्गा बेचेर ६ लाख बढी तिरिसकेको उनले बताए। आन्दोलनपछि गत असार १५ गते जिल्ला प्रहरी कार्यालय नवलपरासीमा छलफलका क्रममा मात्रै साहुले तमसुक च्यातेको जानकारी उनले दिए।
आफूहरूसँग तीन बिघा जग्गा भएर पनि बैंकले ऋण नदिएको तर साहुलाई फोनकै भरमा ऋण दिएको गुनासो उनको छ। ‘बैंकले पनि साहुसँग मिलेर मिटर खेल्छन्, किसानले सबै प्रक्रिया पुर्याउँदा पनि ऋण नदिने बैंक साहुसँग फोनमै ऋण फाइनल गर्छन्,’ उनले बताए।
सुरुमा ६५ परिवार र पछि थपिन आएकासहित जम्मा १३५ परिवारमध्ये धेरै त बैंकबाट ऋण नपाएपछि साहुकहाँ पुगेको मिटरब्याजी पीडित तथा ठगीविरुद्धको संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ताले दाबी गरे।
बैंक र प्रशासनकै संरक्षण
जेठ २९ गते आन्दोलन गर्न काठमाडौँ आएका नवलपरासीका मिटरब्याज पीडित किसान १४ गते फर्किएका थिए। १५ गते जिल्ला प्रहरी कार्यालयमा छलफल भयो।
छलफल चलिरहेकै बेला पूर्वसांसद् हृदयेश त्रिपाठी डीएसपीको क्याबिनमै पुगे। साहुहरू निकट भएर आफूहरूलाई सहयोग नगरेको आरोप लगाउँदै आएका किसानहरूकै विरुद्धमा उनले मिलाउन मिलाउन आदेश दिएको आन्दोलनरत एक किसानले बताए। ‘हामी पहिले पनि एकपटक उनलाई भेट्न गएका थियौँ। हृदयेशले मेरोमा नआउनू भनेर पठाएका थिए,’ उनले भने। यस विषयमा नेपाल समयसँगको संवादमा पूर्वसांसद त्रिपाठीले आफूले अन्यायमा परेका किसानहरूलाई न्याय दिलाउने गरी छानबिन गर्न अनुरोध गरेको बताएका छन्।
२०६० सालदेखि नवलपरासीका किसानहरू मिटरब्याजीबाट प्रताडित रहे पनि हामलसम्म यी दुवै सांसदले आफ्नो क्षेत्रका किसानको उक्त विषय सार्वजनिक रूपमा उठाएका छैनन्।
पूर्वसांसद देवकरण जैसवालले पनि साहुहरूलाई सहयोग गरिरहेको अर्का एक किसानले बताए। उनले भने, ‘जैसवाल खुलेरै साहुको समर्थन गरिरहेका छन्।’ जैसवालकहाँ पनि आफूहरू अन्यायमा परेको भन्दै पहिले पुगेकोमा उल्टै ‘पैसा तिर्नू, तिमीहरू कमजोर छौ, मुद्दा लडेपछि हार्छौ’ भनेको उनी बताउँछन्। उनले भने, ‘अर्कोपटक भेट्दा, म तिमीहरूलाई हेर्नै चाहन्नँ। मकहाँ नआउनू भनेर पठाए।’
२०६० सालदेखि नवलपरासीका किसानहरू मिटरब्याजीबाट प्रताडित रहे पनि हामलसम्म यी दुवै सांसदले आफ्नो क्षेत्रका किसानको उक्त विषय सार्वजनिक रूपमा उठाएका छैनन्।
यस्तै साहुहरूलाई स्थानीय सरकारले पनि सहयोग गरिरहेको बताउँछन् संघर्ष समितिका अध्यक्ष गुप्ता। प्रतापपुर नगरपालिकाको कार्यालय सुनील बानियाँको घरमा छ। उनी भन्छन्, ‘नगरपालिकाका मेयर उमेश यादव बानियाँ निकट छन्। हामीले गुनासो लिएर जाँदा उहाँले हामीलाई सहयोग गर्नुभएन।’ अघिल्लोपटक काठमाडौं आन्दोलन गर्न आउँदा मेयर आफैँ माइतीघरमा आएर आफूहरूलाई हेरेर गएको तर कुनै प्रतिक्रया नदिएको उनले बताए।
राजनीतिक संरक्षणबाहेक गाउँमा धम्क्याउने साहुका सहयोगीहरू पनि रहेको उनले बताए। भारत विहार घर भएका मुरारी पहलमान नामका व्यक्तिले त्यसको नेतृत्व गरिरहेको अध्यक्ष गुप्ता बताउँछन्। ‘मैले पीडितहरूलाई एकजुट गर्न थालेपछि एकपटक चोकमा उभिएर पख्लास् भनेर औँला देखाएका थिए,’ उनले भने।
मिटरब्याज व्यवसाय गरिरहेका चार बानियाँ दाजुभाइ केरा र उखु खेती तथा हार्डवेयर पसल सञ्चालन गरिरहेका छन्। नेपाली कांग्रेस निकट उनीहरूले पहिले क्रसर उद्योग पनि चलाएका थिए। सुनील, जगदीश, सुरेश र सुजित चार दाजुभाइले २०६० देखि मिटरब्याजमा लगानी गरिरहेका छन्। यद्यपि, पाँच वर्षयता उनीहरूले उक्त व्यवसाय छाडेका छन्। उनीहरूका हजुरबाले बिँडी उद्योग चलाउँथे। उनका बुवा स्थानीय विद्यालयका प्रधानाध्यापक थिए। यसै क्रममा ऋण लगानी गर्न थालेका उनीहरू आफूहरूले मिटरब्याज नचलाएको दाबी गर्छन्।
‘अप्ठ्यारो पर्दा सहयोग गरेका हौँ। हामीलाई मिटरब्याजमा लगानी गर्न आवश्यक पनि थिएन। तर अहिले उल्टै हामी अन्यायमा पर्यौँ।’
मिटरब्याजी भनेर चिनिएका जगदीश बानियाँले आफूले साँवासम्म नपाएको बताएका छन्। मिटरब्याजका रूपमा नभएर ‘समाजसेवा’का रूपमा आफूहरूले सहयोग गरेकोमा उल्टै आफूहरूविरुद्ध षड्यन्त्र भएको दाबी उनको छ। छानबिनका क्रममा २१ दिन भाइ सुनीलसँग हिरासतसमेत बसेका उनले भने, ‘हामीले केही व्यक्तिको साँवासमेत उठिनसकेको भए पनि गत असार १५ मा २० जनाको तमसुक पनि च्यात्यौँ।’ साँवा पनि नउठ्नेगरी पीडित हुँदा पनि किन तमसुक च्यात्नुभयो भन्ने प्रश्नमा उनले भने, ‘प्रहरीले नै अनुरोध गरेपछि च्यात्यौँ।’ उनले १० हजारको मात्रै दृष्टिबन्धक भएका किसानले पनि २६ लाख तिरेको भनी आफूहरूमाथि अन्याय गरेको बताए।
यसैगरी जगदीशका भाइ सुनिलले आफूहरूले केही ऋणीबाट साँवासमेत नपाएको दाबी गरे। मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष गुप्ताले अन्य मानिसहरूबाट १०/१० हजार रुपैयाँ उठाएर ऋण माफी गराइदिने भन्दै आन्दोलनमा लगेको आरोप उनको छ। ‘पीडित त हामी हौँ, ब्याजभन्दा त साँवा पनि पाएका छैनौँ,’ उनले भने, ‘अप्ठ्यारो पर्दा सहयोग गरेका हौँ। हामीलाई मिटरब्याजमा लगानी गर्न आवश्यक पनि थिएन। तर अहिले उल्टै हामी अन्यायमा पर्यौँ।’ उनले आफूहरू निर्दोष सावित हुने दाबी गर्दै लगानी गरेको पैसा यसै नछाड्ने बताए।