काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसको तीन दिनदेखि जारी केन्द्रीय समिति बैठकमा हरेक दिन रोचक विषयले प्रवेश पाउँछन्। केन्द्रीय सदस्यले बोलिरहँदा सभापति शेरबहादुर देउवाले जवाफ फर्काउन भ्याइहाल्छन्। बैठकमा बोलेको कुरा सञ्चारमाध्यममा आएको विषयप्रति केन्द्रीय सदस्यहरु चित्त दुखाउँछन्। र भन्छन्, ‘काठमाडौंका मेयर बालेन शाहले कार्यपालिका बैठक लाइभ गरेर चर्चा कमाइरहेका छन्। हाम्रो बैठक पनि लाइभ गरौं। होइन भने मिडियालाई प्रवेश गराऔं। यहाँ बोलिनसक्दै कुरा आइहाल्छ। नेताहरुलाई पनि एसएमएस गर्नुपर्ने दुःख रहँदैन,’ मंगलबारको बैठकमा रामहरी खतिवडाले भनेका थिए। त्यसो त जितजंग बस्नेतले पनि यो विषय बैठकमा उठाएका थिए।
बुधबारको बैठक भने अघिल्ला दुई दिनको भन्दा फरक रह्यो। आइतबार र सोमबार केन्द्रीय सदस्यहरुले सभापति देउवाको कार्यशैलीको आलोचना गरेका थिए। संस्थापन इतर समूहका नेताहरुले देउवाको आलोचना गर्दा संस्थापन समूहका नेताहरु प्रतिरक्षामा उत्रिहाल्थे। तर, बुधबारको बैठकमा आलोचना देउवाको मात्रै भएन। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि प्रश्नको घेरामा रहे। महामन्त्रीद्वयको कार्यशैली माथि केन्द्रीय सदस्यहरुले प्रश्न उठाएका थिए। महामन्त्रीद्वय सामाजिक सञ्जाल र गुट भेलामा रमाएको भन्दै केन्द्रीय सदस्यहरुले प्रश्न तेर्साएका थिए। केन्द्रीय सदस्य रमेश रिजालले दुवै महामन्त्री ट्विटर र स-साना गुट भेला गरेर मिडियाबाजीमा रमाएको आरोप लगाए। ‘मिडियाबाजी गर्ने, छुट्टै गुट भेला गरेर तपाईंहरु अतिवादमा जाँदै हुनुहुन्छ,’ रिजालले भनेका थिए।
अर्का केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले त महामन्त्रीद्वयले केटाकेटी हर्कत जारी राखे बहिस्कार नै गर्ने चेतावनी दिए। ‘महामन्त्रीद्वयको केटाकेटीपन जारी रहे हामी बहिस्कार गर्न बाध्य हुनेछौं,’ बुढाथोकीले भनेका थिए। उनले शेखर कोइराला समूहलाई गुट बैठक राख्न पार्टी कार्यालयमै कोठा दिन देउवालाई आग्रह गरे।
‘शेखरजीहरूलाई गुट भेला गर्न यहीँ एउटा कोठा दिनुपर्यो। बाहिर गुट भेला गरेर पार्टीलाई फाइदा हुँदैन,’ उनले भनेका थिए। अर्का केन्द्रीय सदस्य राजीव ढुंगानाले महामन्त्रीद्वयले केन्द्रीय समितिमा कुरा नराख्ने तर बाहिर अर्कै गतिविधि गर्ने गरेको भन्दै प्रश्न गरेका थिए। ‘पार्टीको निर्णय संस्थागत हुनुपर्छ। आफू खुसी गएर कुरा गर्दै जाने हो भने भोलि अर्को पदाधिकारी कोहीसँग कुरा गर्लान्। त्यसलाई पार्टीको निर्णय कसरी मान्न सकिन्छ,’ ढुंगानाले बैठकमा भनेका थिए, ‘जे कुरा गर्नुपर्छ केन्द्रीय समितिको बैठकमा गरौँ। पार्टी प्यालेसमा बोलेर पार्टी सुध्रिने हो भने किन पार्टी कार्यालयमा बैठक गर्ने? पार्टी प्यालेसमा नै गरौँ।’ देउवाले पनि शेखर समूहलाई पार्टी कार्यालयको बैठक हलमै गुटको भेला गर्न आग्रह गरेका थिए।
आक्रोशित देउवा
बैठकमा सभापति देउवा केन्द्रीय सदस्यहरुले बोल्दा-बोल्दै बीचैमा रोक्छन् र प्रतिक्रिया दिइहाल्छन्। बुधबार बैठकमा पनि देउवाले यही शैली दोहोर्याए। बुधबार केन्द्रीय सदस्य सञ्जय गौतमले पार्टी विधान अनुसार नचलेको बताएपछि देउवा आक्रोशित बनेका थिए।
गौतमले विभागहरू गठन नभएको, भातृसंस्थाको नेतृत्व चयन नभएको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए। उनले गठबन्धन भनेर मात्र नहुने कांग्रेसले आफ्ना मतदाता पनि बढाउनुपर्ने समेत बताएका थिए। ‘पार्टी विधानअनुसार सञ्चालन भएन। भातृसंस्थामा पनि नेतृत्व चयन र महाधिवेशन गरेर चुस्त बनाऔँ,’ बैठकमा गौतमले भने, ‘गठबन्धन मात्र भनेर मात्रै पनि हुँदैन। आफ्ना मतदाता पनि बढाउनुपर्छ।’
गठबन्धन मात्र भनेर हिँड्दा कांग्रेस झन कमजोर हुने गौतमले पुनः दोहोर्याएपछि देउवा अझ आक्रोशमा आएका थिए। ‘त्यसो भए चुनाव जितरे आउनु परो नि त१ बर्दियामा कांग्रेस हारेको हारेकै छ,’ देउवाले भनेका थिए।
यसपछि गौतमलाई रोक्दै देउवाले आफूसँग विधान संशोधनसम्म गर्ने शक्ति भएको बताएका थिए। ‘ठूला कुरा नगर्नुस्, विधान संशोधन गरेर तेस्रो पटक सभापति भइदिन्छु,’ गौतमतर्फ इंगित गर्दै सभापति देउवाले बताएका थिए।
देउवाको उक्त कुरा आएपछि बलबहादुर केसीले भने असन्तुष्टि जनाइहालेका थिए। बलबहादुरले भनेका थिए, ‘तपाईं पहिलो पटक, दोस्रो पटक पनि सभापति भएको देखिएकै हो। कांग्रेसलाई केही भएको छैन। तेस्रो पटक नै भएपनि कांग्रेसलाई के चाहिँ हुन्छ त? विधान संशोधन गरेर पुनः सभापति भए भइहाल्यो नि!’
बर्दियामा तत्कालीन एमालेका उम्मेदवार वामदेव गौतमलाई हराएर सञ्जय चुनाव जितेर आएका नेता हुन्। यो विषयलाई हेक्का नराखी सभापति देउवा बैठकमा प्रस्तुत भएको कांग्रेसकै अर्का एक केन्द्रीय सदस्य बताउँछन्।
अर्का केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी बोलिरहँदा पनि देउवाले हस्तक्षेप गरेका थिए। शिवाकोटीले दुई मिनेट बोलेपछि देउवाले अर्कै केन्द्रीय सदस्यलाई बोल्न समय दिएका थिए। ‘अजयजी बोल्दै हुनुहुन्थ्यो २ मिनेट जति भएको थियो। पाँच मिनेटको समय उपलब्ध गराइन्छ। घण्टी पनि बजेको थिएन। तर, सभापतिज्यूले अर्कैलाई बोल्न समय दिनुभयो। उपसभापति पूर्णबहादुर खड्काले अझै समय रहेको बताएपछि मात्रै अजयजीले बोल्न पाउनुभयो,’ एक केन्द्रीय सदस्यले भने।