सोमबार, साउन २५, २०८३

'एम अधिकारी'बारे संसद्‍मा गगन थापाको व्यंग्य

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको योजना विभागको सदस्य बनेको भन्दै व्यंग्य कसेका छन्।
 |  बुधबार, असार २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असार २९, २०७९

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको योजना विभागको सदस्य बनेको भन्दै व्यंग्य कसेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा अन्य सांसदहरूले गभर्नर अधिकारीमाथि छानबिनको माग गरिरहेका बेला गगनले शून्य समयमा बोल्दै मौद्रिक नीतिमा केही अपेक्षा रहे पनि त्यो एमालेको अर्थ तथा योजना विभागको सदस्यसँग सम्बन्धित नभएको बताए।

उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्ने बताए। ‘तरलताको अभाव, चुलिँदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिती, अकासिँदो मूल्यवृद्धि र मागमा संकुचन यी चुनौतीलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याइनुपर्छ। परियोजनामा आधारित कर्जा, बैंकिङ प्रणाली बाहिर रहेको पैसालाई सिस्टममा ल्याउने कुरा र केही घरानाहरूको कब्जामा रहेको इकोनोमीलाई बाहिर ल्याउने आँट मौद्रिक नीतिले गर्नुपर्छ,’ उनले भने।

उनले सेयर बजारमा राष्ट्र बैंकले ल्याएको नीतिबाट अपेक्षा गरे अनुरूप परिणाम नआएको भन्दै सच्याउनुपर्ने माग गरे। ‘सेयर बजारमा सुधार भनेर ४/१२ को नीति ल्याइयो, यसले ठूलालाई पोस्ने र सानालाई कस्ने काम भयो। राष्ट्र बैंकले जे सोचेको भए पनि अपेक्षा अनुरूप परिणाम नआएपछि यसलाई सच्चाइनुपर्छ, यसलाई सच्याइएन, हटाइएन या बन्द गरिएन भने लाखौं सेयरमा लगानी गरेका साना लगानीकर्ता सडकमा आउँछन्,’  थापाले भने।

उनले आफूले यी अनुरोध नेकपा एमालेका अर्थ योजना विभागको सदस्य मिस्टर एम अधिकारीलाई नभनेको भन्दै व्यंग्य गरे। ‘मैले गरेको यी सबै अनुरोध नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारीलाई हो। नेकपा एमालेको अर्थ योजना विभागको सदस्य मिस्टर एम अधिकारीले मलाई भनेको हो कि भनेर बुझ्नु भएमा क्षमा चाहन्छु,’ थापाले भने।

प्रकाशित: Jul 13, 2022| 13:23 बुधबार, असार २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...