काठमाडौं- सोमबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा चलिरहेको छ। सोमबार प्रदेश सभापतिसहितका केही केन्द्रीय समिति सदस्यहरूले धारणा राखेका थिए। मंगलबार पनि केन्द्रीय समिति सदस्यहरूले धारणा राख्ने क्रम जारी रह्यो। हालसम्म ४८ जना केन्द्रीय समिति सदस्यले धारणा राखेका छन्। बुधबार पनि दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ।
केन्द्रीय समिति बैठकमा बोल्नका लागि सदस्यहरूलाई ७ मिनेट समय निर्धारण गरिएको छ। यो बीचमा केन्द्रीय सदस्यले उठाएका विषयमा चित्त नबुझे अरु पदाधिकारी खासै उत्तर दिँदैनन्। तर आफूलाई लागेको सभापति देउवा भने बोलिहाल्छन्। उनका उत्तर तत्काल सिर्जना भएका हुन्छन्। आफूमाथि प्रश्न गर्नेहरूमाथि नै प्रश्न गर्छन्। बेलाबेला केन्द्रीय समिति बैठक संवादात्मक बन्छ। बेलाबेला देउवा झ्वाकिन्छन् पनि, यद्यपि यो उनको नयाँ बानी भने होइन।
मंगलबार दोलखाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय समिति सदस्य जिपछिरिङ लामाले धारणा राख्ने पालो पाए। पार्टीले आफ्नो योगदानलाई मूल्यांकन नगरेको आरोप उनको थियो। आफूलाई पार्टीले मूल्यांकन नगरेकोमा दुख लागेको बताए। यसका साथै आगामी चुनावमा आफू नलड्ने चेतावनीयुक्त अभिव्यक्ति पनि दिए।
'दोलखा कांग्रेसका लागि मैले धेरै दु:ख गरेको छु। आजका दिनसम्म पनि मैले उत्तिकै महेनत गरिरहेको छु। तर मेहनत मात्र गर्ने पार्टीले मूल्यांकन नगर्ने प्रवृत्ति देखियो। यस्तो प्रवृत्तिले कार्यकर्तामा निराशा छाउँछ,' उनले भने, 'पार्टीले मूल्यांकन गर्दैन भने कार्यकर्ताले किन दु:ख गर्नु? यदि यस्तै अवस्था रहने हो भने आगामी चुनाव नलड्ने घोषणा गर्छु।' आफूभन्दा ‘जुनियर’ नेता मन्त्री बनेको तर आफूलाई अवमूल्यन गरिएको उनको गुनासो थियो।
'विगतका तुलनामा यसपालि हाम्रो जिल्लामा कांग्रेसको अवस्था सुधार भएको छ। ३० वर्षपछि भीमेश्वर नगरपालिका जितेको छ,' दोलखाका कांग्रेस नेता भन्छन्, 'कार्यकर्तामा उत्साह थपिएका बेला सभापतिले नै कांग्रेसले नजित्ने आशयको अभिव्यक्ति दिँनु दुखद् हो।'
जिपछिरिङको गुनासो सुनेपछि देउवालाई चित्त बुझेन। उनले आफ्नो प्रतिक्रिया दिइहाले। 'दोलखामा कांग्रसले चुनाव जित्दैन भनेर जिपछिरिङजीले चुनाव नलड्ने भन्नुभा होला,' देउवाले भनेका थिए। आफूले दुख गरेर कांग्रेसको संगठन निर्माण गरेको बताएका लामा देउवाको जवाफमा सन्तुष्ट देखिएनन्।
दोलखामा कांग्रेसको अवस्था सुधारोन्मुख छ। यसपालि स्थानीय तहको निर्वाचन उत्साहजनक परिणाम आएको कांग्रेसका एक स्थानीय नेता बताउँछन्। ९ तह रहेको दोलखामा कांग्रेसले ३ पालिका जितेको छ। 'विगतका तुलनामा यसपालि हाम्रो जिल्लामा कांग्रेसको अवस्था सुधार भएको छ। ३० वर्षपछि भीमेश्वर नगरपालिका जितेको छ,' दोलखाका कांग्रेस नेता भन्छन्, 'कार्यकर्तामा उत्साह थपिएका बेला सभापतिले नै कांग्रेसले नजित्ने आशयको अभिव्यक्ति दिँनु दुखद् हो।'