काठमाडौं- चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेट गर्दै कम्युनिस्ट पार्टीहरु एकताबद्ध भएर अघि बढुन् भन्ने चाहेको बताएका छन्।
काठमाडौंस्थित एक होटलमा मंगलबार अध्यक्ष नेपालसँग भेट गर्दै चिनियाँ विदेश विभाग प्रमुख लिउले द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने कुरा राखेको पनि बताइएको छ। भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले भने, 'सम्बन्धलाई बलियो बनाएर लैजाने कुरामा दुवै पक्षले कुरा राखेका छौं। एकतामा नै बल हुन्छ, एकताबद्ध भएर नै कम्युनिष्ट पार्टीहरु अघि बढुन् भन्ने कुरा लिउले राख्नुभयो। चीनको सुरक्षा चासोका बारेमा हामीले स्पष्ट पार्ने काम गरेका छौँ।’
नेता नेपालले लिउँसँगको वार्ताका क्रममा सम्बन्धलाई कसरी अझै बलियो र विस्तार गर्नसकिन्छ भन्ने कुरा राखेको बताएका छन्। उनले थपे, 'नेपालले चीनबाट र चीनले नेपालबाट पारस्परिक रुपमा सिक्नुपर्ने कुराहरु छन्, त्यसको निम्ति पार्टीका जनवर्गीय संगठन लगायतका बारेमा छलफल भए। हामीले नेपाल एक चीन नीतिमा दृढ भएको स्पष्ट पारेका छौं।'
चीनको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप नेपालको बहसमा नभएको पनि बताएका छन्। उनले थपे, 'नेपाल अरुलाई भूमि प्रयोग गर्न दिने पक्षमा छैन। हामीले चीनसँग कुनै समस्या पाएका छैनौँ। यो सम्बन्धलाई अझै अघि लैजानुपर्छ भनेर कुरा भए। चिनियाँ पक्षले पनि नेपाल र चीन बीचको सम्बन्ध सुमधुर रहेको कुराको चर्चा गर्दै विभिन्न पार्टीहरुसँगको सम्बन्धलाई पनि बलियो बनाउन चाहेको कुरा गर्नुभयो। नेपाललाई पहिलो महत्व दिएको कुरा पनि गर्नुभएको छ। कुरा अत्यन्त राम्रो भएको छ।'
चिनियाँ विदेशमन्त्री लिउ आइतबार बिहान काठमाडौं अवतरण गरेका हुन्। उनले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेका छन्।
उनले मंगलबार नै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। विदेश विभाग प्रमुख लिउ बुधवार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने र भोलि बेलुका नै स्वदेश फर्किने छन्।