काठमाडौं– जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष उपेन्द्र यादवले पार्टी कब्जा गर्न थालेपछि जसपा पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगिएको बताएका छन्।
जसपामा उपेन्द्र र बाबुराम पक्षधरले मंगलबारदेखि वीरगञ्ज र काठमाडौंमा दुई दिने छुट्टाछुट्टै बैठक गरिरहेका छन्।
पार्टी विभाजन हुनै लाग्दा मंगलबार काठमाडौंमा आयोजित आफूपक्षीय केन्द्रीय कार्यसमिति बैठकमा ‘पार्टी पुनर्गठनको औचित्य र कार्यभार’ विषयक राजनीतिक प्रतिवेदन पेस गर्दै भट्टराईले उपेन्द्रकै कारण जसपा पुनर्गठन गर्नुपरेको दाबी गरे।
‘पार्टी एकता गर्दा विचार, सिद्धान्त र एजेन्डामा आधारभूत समानता कायम नगरिएको होइन तर कार्यान्वयनको पाटोबाट त्यसको बुझाइमा एकरुपता देखिएन’, उनले प्रतिवेदनमा भनेका छन्, ‘कांग्रेस, कम्युनिस्टजस्ता परम्परावादी दलको विकल्प निर्माण गर्दै देशलाई आर्थिक विकास, सुशासन र समृद्धिको युगतिर अभिमुख गर्नु थियो। तर पार्टी निर्माणको तरिका भने क्षेत्रीय दलतिरै सीमित हुनतिर अभिमुख र अभिप्रेरित देखियो।’
देशका अन्य भाग र प्रदेशमा पार्टी निर्माणका लागि संगठित तथा संस्थागत प्रयत्न गर्ने प्रयासमा उपेन्द्रले पहल नगरेको भट्टराईले आरोप लगाए। ‘पार्टी एकताका ३ वर्ष किन फलदायी भएनन्? पार्टीभित्र के–कस्तो समस्या आयो र त्यो गतिरोधमा पुग्यो? किन एकतापछिको एक आमचुनावसम्म, एक महाधिवेशनसम्म पनि एकता कायम हुन सकेन?’ उनले सोधेका छन्, ‘यसमा कसको, कुन पक्षको के–कस्तो भूमिका रह्यो? हामी फेरि पार्टी पुनर्गठन गर्नुपर्ने निष्कर्षमा किन पुग्यौं? यसको गम्भीर समीक्षा हुनुपर्ने देखिन्छ।’
उनले एकतायता पार्टी संगठन, व्यवस्थित र चुस्तदुरुस्त बन्न नसकेको बताए। ‘पार्टी समायोजनकै बेलादेखि पार्टी कब्जा गर्ने सोच हाबी भयो’, उनले भनेका छन्, ‘सबै पक्षको सम्मानजनक र यथोचित सहभागिता एवं प्रतिनिधित्व हुने गरी समयमै समायोजन सम्पन्न गर्न सहजीकरण गर्नु र सम्पूर्ण पार्टी पंक्तितलाई एकताबद्ध बनाई लक्ष्य उद्देश्यतर्फ निर्दिष्ट गर्नेभन्दा अनेक झमेला सिर्जना गरी महिनौं अल्झाउने, कार्यकर्तामा निराशा बढाउने र राजनीति तथा संगठनात्मक जीवनबाट पलायन हुन बाध्य पार्ने काम गरियो।’