काठमाडौं– आन्तरिक किचलोमा अल्झिएको जनता समाजवादी पार्टी(जसपा) अन्ततः चिरा पर्ने भएको छ। यसको संकेत मंगलबार जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले काठमाडौंमा भेला डाकेका छन् भने कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जलाई रोजेका छन्। दुवै पक्षले वीरगञ्ज र काठमाडौं भेलालाई अवैधानिक भनिसकेका छन्।
यसअघि १६ असारमा सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा यादव र भट्टराईबीच छलफल भएको थियो। छलफलमा कार्यकर्ता अन्तरघुलित हुन नसकेकाले सहमतिमै छुट्टिनुपर्ने प्रस्ताव बाबुरामले राखेका थिए। उक्त प्रस्तावमा यादवले सहमति जनाएपछि सहमतिकै आधारमा जनता समाजवादी पार्टी फुट्ने उतिबेलै छनक देखिएको थियो।
१६ असारको बैठकमा नेता बाबुरामले अध्यक्ष यादवप्रति संकेत गर्दै भनेका थिए, ‘जुन उद्देश्यका साथ पार्टी एकीकरण गरेका थियौं। त्यसलाई तपाईंले सहज रूपमा लिनुभएन। पार्टी निर्णय सहमतिका आधारमा हुनुपर्नेमा तपाईंले एकलौटी गर्दै जानुभयो। गरिरहनुभएको छ। अब पार्टीबाट हामी दुवै छुट्टिन भद्र सहमति गरौं।’
बाबुरामले यस्तो कुरा राख्नासाथ बैठकमा सहभागी अन्य नेताले पार्टीलाई फुटबाट जोगाउनुपर्ने अडान लिए। अध्यक्ष उपेन्द्रले भने बाबुरामको प्रस्तावलाई ‘ओके’ भनिदिए। त्यसको भोलिपल्ट अध्यक्ष यादवले जसपाको दुई दिने कार्यकारिणी समितिको बैठक वीरगञ्जमा हुने भनेर विज्ञप्ति निकाले। अध्यक्ष यादवको विज्ञप्तिलगत्तै नेता बाबुराम पक्षधरले काठमाडौंमा दुईदिने बैठक हुने मितिसहितको विज्ञप्ति निकाल्यो।
जसपामा बाबुराम–उपेन्द्रले छुट्टाछुट्टै बैठक आह्वान गरेपछि पार्टी फुटको अन्तिम घोषणा हुन मात्र बाँकी छ। वीरगञ्ज र काठमाडौं बैठकले सम्भवतः एउटा पार्टी दुईटा भएको औपचारिक घोषणा गर्नेछ। यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच २०७६ वैशाखमा एकता भएको थियो।
एकतापछि संघीय समाजवादी पार्टी बनेको थियो। संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टीबीच २०७७ वैशाख २३ मा एकता भएर जसपा बनेको थियो।
उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको बैठक पर्साको वीरगञ्जस्थित पुजन होटलमा बोलाएको छ। बुधबारदेखि टाउन हलमा केन्द्रीय समितिको विस्तारित बैठक बस्ने यादव पक्षले बताएको छ। भट्टराई पक्षले पनि मंगलबार बोलाएको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंको जडीबुटीस्थित एक ब्यांक्वेटमा बसिरहेको छ।
बाबुराम–उपेन्द्रले पार्टीबाट अलग हुने समझदारी गरिसकेकाले दुई पक्षका नेताहरूले समानान्तर बैठक बोलाएका हुन्। समानान्तर बैठक बोलाउनासाथ यादव र भट्टराई एकअर्काबाट अलग्गिनेछन् ।
यसअघि बाबुरामलाई साथ दिएका अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका उपेन्द्रको यादवको क्याम्पमा पुगेका छन्। राई र श्रेष्ठ उपेन्द्रको बैठकमा सहभागिता जनाउन वीरगञ्ज पुगिसकेका छन्। यादव पक्षले भट्टराई समूहको बैठक विधान विपरीत भएको र आफ्नो आधिकारिक भएको दाबी गरेको छ।
उपेन्द्रसँग अलिग्गन लागेका भट्टराई पक्षका नेता गंगानारायण श्रेष्ठले विस्तारित बैठकमा समसामयिक राजनीतिसँगै पार्टी नेतृत्वमा देखिएको समस्याका विषयमा छलफल हुने बताएका छन्। पार्टीलाई एकढिक्का बनाउन आफूहरूको बैठकले अधिकतम पहल गर्ने उनको भनाइ छ।
यादव र भट्टराईबीच एक–अर्काको कार्यशैली, समानुपातिक नेतृत्व प्रणालीलगायतका विषयमा मतभेद हुँदै आएको थियो। जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको तिक्तता अन्ततः पार्टी फुटको सँघारमा पुगेको छ।
यादव र भट्टराईबीच एक–अर्काको कार्यशैली, समानुपातिक नेतृत्व प्रणालीलगायतका विषयमा मतभेद हुँदै आएको थियो। जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादवबीचको तिक्तता अन्ततः पार्टी फुटको सँघारमा पुगेको छ।
पार्टीभित्र बाबुराम सहमतिमै बाहिरिन तयार भएपछि जसपा अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरूलाई मन्त्री बनाइसकेका छन्। हालका लागि जसपामा अल्पमत/बहुमतको खेल सकिएको छ। एपेन्द्र यादवले पार्टीलाई आफू अनुकूल हुने गरी संरचना तय गरिसकेका छन्। जसपामा स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा भएको सहमति अध्यक्ष यादवले नस्वीकारेपछि भट्टराई पक्षले पार्टीमा बहुमत पुर्याउने कसरत गरेको थियो।
भट्टराईलाई आफ्नो पक्षमा बहुमत पुर्याउन ढुक्क हुनुको कारणचाहिँ तत्कालीन राजपाबाट आएका महेन्द्रराय यादव, राजकिशोर यादव, अमृत अग्रहरीका साथै यादव समूहकै मो. इस्तियाक राई र प्रदीप यादवको साथ थियो। यस्तै, मृगेन्द्रकुमार सिंहलगायतका नेताहरू पनि अध्यक्ष यादवसँग असन्तुष्ट थिए। तर उनीहरू भट्टराईतिर लागिसकेका थिएनन्। यादवले आफूप्रति असन्तुष्टलाई मन्त्री पद थमाएर भट्टराईतिर जानबाट रोकेका छन्। यसको उदाहरण भट्टराई क्याम्पमा हाम फाल्नै लागेका यादव, राई र सिंह साताअघि मन्त्री भइसकेका छन्।
जसपामा ३४ सदस्यीय कार्यकारिणी समिति छ भने ५०७ सदस्यीय केन्द्रीय समिति रहेको छ। कार्यकारिणी समितिको बहुमत जुटाउँदा केन्द्रीय कमिटीमा बलियो हुने सम्भावना रहन्छ। त्यसैले इस्तियाक र प्रदीपलाई आफ्नो पक्षमा ल्याउन यादवले मन्त्री पदको सुविधा दिए।
पार्टीभित्र एकलौटी गरेपछि जसपा अध्यक्ष यादवले असार १९ मा भट्टराईलाई भेटेर पार्टीमा बस्न नचाहेको भए अलग हुन सुझाए। जसपाले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री रेणु यादव र वनमन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर त्यसको ठाउँमा नयाँ अनुहार पठाएको छ। जबकि भट्टराई पक्षधर संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठको मन्त्री पद थमौती गरेर यादवले चलाखी देखाएका छन्।
यादवले राष्ट्रिय सभा सदस्य सिंहलाई कृृषि, इस्तियाकलाई भौतिक पूर्वाधार र प्रदीपलाई वनमन्त्री बनाएका छन्। पार्टी विभाजन हुने संकेत पाएलगत्तै यादवले आफू निकट रेणु र रामसहायलाई मन्त्री छाड्न सहमत गराए र भट्टराईलाई छाडेर आफूहरूतिर आएकालाई मन्त्री बनाइछाडे।
जसपा कार्यकारिणी अध्यक्ष उपेन्द्रले पार्टीभित्र आफूलाई बाइपास गरेर नयाँ मन्त्रीको नाम सिफारिस गरेको पत्तो पाएलगत्तै संघीय परिषद् अध्यक्ष भट्टराईले प्रधानमन्त्रीलाई फोन गरेर एकलौटी निर्णय भएकाले कार्यान्वयन नगर्न अग्रह गरेका थिए। तर प्रधानमन्त्रीले बाबुरामको आग्रह सुनेनन्।
२९ र ३० असार दुई दिनसम्म हुने वीरगञ्ज र काठमाडौं बैठकले जसपाको आधिकारिकता दाबी गर्ने वा नयाँ दल बनाउने भन्ने औपचारिक निर्णय गर्नेछ। भट्टराई पक्षले केन्द्रीय समिति र संसदीय दलको बहुमत पुर्याए आधिकारिता पाउनेछ भने ४० प्रतिशत पुर्याए नयाँ दलको मान्यता पाउने संवैधानिक व्यवस्था छ। दुवै पक्षका वीरगञ्ज र काठमाडौं बैठकले समाजवादी पार्टी औपचारिक रूपमै फुट्ने निश्चित छ।
जसपा काठमाडौं भेलामा बाबुराम भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदनको पूर्णपाठ