काठमाडौं- नेपाली कांग्रेसले केही भ्रातृ तथा शुभेच्छुक संस्था थप्ने तयारी गरेको छ। थुप्रै भ्रातृ तथा शुभेच्छुक संस्थाले मान्यताका लागि निवेदन दिएपछि त्यसको प्रक्रिया अघि बढेको हो।
कांग्रेसको १३ औं महाधिवेशनपछि भ्रातृ र शुभेच्छुक संघसंस्थाको मान्यता पाउँ भन्दै निवेदन परेको थियो। त्यसबेला केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा कांग्रेसले समिति नै बनाएर भ्रातृ तथा शुभेच्छुक संघसंस्थाबारे अध्ययन गरेको थियो।
सोमबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा नयाँ भ्रातृ तथा शुभेच्छुक संघसंस्थालाई मान्यता दिनेबारे छलफल सुरु भएको छ। कांग्रेस पदाधिकारी बैठकले थपिने भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका विधानबारे यसअघि नै अध्ययन पनि गरिसकेको छ।
कांग्रेसले दुई भ्रातृ संस्था थप गर्न लागेको छ नेपाल थारू संघ र नेपाल आदिवासी जनजाती महासंघ। यी भ्रातृ संस्थाअन्तर्गत रहेर शुभेच्छुक संस्था पनि थप गर्ने गृहकार्यमा कांग्रेस जुटेको छ। अन्य केही संघसंस्थाले पनि भ्रातृ तथा शुभेच्छुक आवद्धताका लागि माग गरिरहेका छन्।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘कतिपय संघसंस्थाले भ्रातृ तथा शुभेच्छुक आवद्धताका लागि पार्टीमा केही समयअघि निवेदन दिनुभएको थियो। यसबारे पदाधिकारी बैठकमा छलफल गरियो। एनपी साउदको नेतृत्वमा बनेको समितिको सुझाव र सिफारिसका आधारमा यो विषय पनि केन्द्रीय समितिमा छलफलका लागि पेश गरिएको छ।’
कांग्रेसले शुभेच्छुक संघसंस्थातर्फ नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघ, नेपाल लोकतान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ, नेपाल लोकतान्त्रिक उद्योग व्यापार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघ, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ, नेपाल लोकतान्त्रिक आयुर्वेद तथा प्राकृतिक चिकित्सक संघ, नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघ, नेपाल लोकतान्त्रिक भाषा साहित्य लेखक संघ थप गर्न लागेको छ।
सोमबारको केन्द्रीय समिति बैठकमा शुभेच्छुक संस्थाका नामबारे केही केन्द्रीय सदस्य तथा प्रदेश सभापतिले फरक मत राखेका छन्।
गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले लोकतान्त्रिक शब्द राखेकोमा विरोध गरेका थिए।
‘राष्ट्रियता, प्रजातन्त्र, समाजवादलाई बलियो बनाउने काममा कांग्रेस केन्द्रित हुनुपर्ने ठाउँमा लोकतन्त्र लोकतन्त्र भनेका छौं। भ्रातृ संस्था, शुभेच्छुक संस्थाका नाममा लोकतान्त्रिक राखिएको छ, त्यसमा मैले विरोध गरेँ,’ शर्माले भने, ‘हाम्रो पार्टी राष्ट्रियता, प्रजातन्त्र, समाजवादको जगमा स्थापित पार्टी हो। जगलाई बलियो बनाउने कार्यक्रम चाहिन्छ। लोकतन्त्र भन्न हुन्न।’ उनले लोकतन्त्रको ठाउँमा प्रजातन्त्र राखिनुपर्ने तर्क गरेका छन्।
कांग्रेसमा अहिले १३ भ्रातृ तथा १८ शुभेच्छुक संस्था छन्। अधिकांशको महाधिवेशन हुन सकेको छैन।