काठमाडौं- चार दिने नेपाल भ्रमणका रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेता लि जियान्चाओले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दुई घण्टा छलफल गरेका छन्। उक्त छलफलका क्रममा चीनले नेपालमा कुनै पनि शक्ति राष्ट्रको हस्तक्षेप आफ्ना लागि स्वीकार्य नहुने बताएको भेटवार्तामा सहभागी माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिएका छन्।
उनले चीनले नेपालको आन्तरिक मामिलामा आफू पनि हस्तक्षेप नगर्ने र अरु देशले पनि नगरुन् भन्ने सन्देश दिएको बताएका छन्। भने, ‘चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। यससँगै नेपालमा अरु शक्तिले पनि हस्तक्षेप नगरुन् भन्ने चाहना व्यक्त गर्नुभएको छ।'
जवाफमा प्रचण्डले नेपाल चीनसँग व्यापार घाटामा रहेको बताउँदै त्यसलाई घटाउन र ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्क विकास गर्नुपर्नेमा जोड दिएको पुनले बताएका छन्। पुनका अनुसार लिउले प्रचण्डसँग मुख्य चार कुरा गरेका छन्। जसमा छिमेकीलाई प्राथमिकता दिएर पहिलो भ्रमण नेपाल गरेको, माओवादी, एमाले, कांग्रेससँग 'पार्टी-टु-पार्टी' सम्बन्ध राम्रो बनाउने र दुई देशको सम्बन्ध राम्रो बनाउन यो भ्रमण गरेको, नेपालमा लगानी विस्तार गर्न चीन तयार रहेको र बीआरआई अगाडि बढाउन चाहेको र चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र अरुले पनि नगरुन् भन्ने चाहना व्यक्त गरेको कुराहरु रहेका छन्।
आइतबार बिहान काठमाडौं ओर्लिएका लिउ माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न सात सदस्यीय प्रतिनिधिमण्डलसहित उनकै निवास खुमलटार पुगेका थिए। भेटका क्रममा अध्यक्ष प्रचण्डले नेपाल एक चीन नीतिको पक्षमा रहेको, नेपाल र चीनबीच सम्बन्ध थप सुदृढ गर्न चाहेको पनि बताएका थिए।
भेटमा अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, देव गुरुङ र पम्फा भुसाल सहभागी थिए। लिउले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरेका थिए। उक्त भेटमा लिउले बीआरआईको कुरा उठाए पनि प्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा अनुदान भए स्वीकार गर्न सकिने र ऋण स्वीकार गर्न नसकिने स्पष्ट गरेका थिए।
लिउ सोमबार बिहान सुन्दरीजलस्थित बीपी संग्राहलय अवलोकन गर्न पुगेका थिए। मंगलबार लिउले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ।