सोमबार, साउन २५, २०८३

संघीयता सफल भएन भने परिवर्तन गर्न पनि तयार हुनुपर्छ : ओली

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता सफल भएन भने परिवर्तन गर्न पनि तयार हुनुपर्ने बताएका छन्।
 |  सोमबार, असार २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २७, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयता सफल भएन भने परिवर्तन गर्न पनि तयार हुनुपर्ने बताएका छन्। सोमबार दिउँसो काठमाडौंमा सम्पादकहरूसँग कुरा गर्दै ओलीले संविधान जारी गर्ने बखतमा हतारहतार संघीयता राखिएको स्वीकार गरे।

ओलीले भने, ‘जे भए पनि हामीले संघीयता ल्याएको हो। यसको कार्यान्वयनका लागि ऐन, कानुन बनाएका छौं। अहिले नै यो सफल हुँदैन भनेर असफल पार्नेतिर जाने होइन तर व्यवहारिक रूपमा यो असफल नै हुने रहेछ भने जति मेहनत गरे पनि हुँदैन। सफल भएन भने परिवर्तन गर्न हामी तयार हुनुपर्छ।’

फरक प्रसंगमा ओलीले सरकार प्रधानमन्त्रीले नचलाएको आरोप लगाए। उनले सरकार शेरबहादुर देउवाले नभई उनकी पत्नी आरजु राणालगायतले चलाएको आरोप लगाए। ओलीले भने, ‘सरकारले कसले चलाउँछ? सरले कि मेडमले? दिदीले चलाउनुहुन्छ कि भाइले? भिनाजुले कि सालोले? कसले चलाउनुहुन्छ?’

अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त पारेको बताउँदै ओलीले बजेटमा सेटिङ, हतियार खरिद लगायतका प्रक्रिया जस्ता पछिल्ला घटनाक्रमको उदाहरण दिँदै यस्तै अवस्था रहे मुलुक श्रीलंकाको अवस्थामा पुग्ने चेतावनी दिए। उनले भने, ‘व्यापारीका प्रतिनिधि राखेर बजेट बनाइन्छ। अहिले हतियार खरिदका कुरा आएका छन्। अनधिकृत मान्छे ल्याएर अर्थतन्त्रलाई नै ध्वस्त पार्ने गरी अवाञ्छिन तत्व घुसाउने काम भयो।’

अध्यक्ष ओलीले अहिलेको सरकारलाई नराम्रा कामहरुको थुप्रोको संज्ञा दिए। ओलीले भने, ‘अब अति भयो। अतिबाट पनि अति भयो। अब यो सरकार स्वीकार्य हुन सक्दैन। यो सरकारको काम छैन, अबिलम्ब हट्नुपर्छ। लाज नभएका व्यक्तिहरु त्यही अनुहार देखाएर ठिङ ठिङ बाटोमा हिँडिरहेका छन्।’

वर्तमान सरकारले राम्रो एउटा पनि काम नगरेको र नराम्रो मात्रै गरेको उनले आरोप लगाए। ‘यो सरकारले एक वर्षमा एउटा राम्रो काम गरेको देखाओस् त। नालायक, भ्रष्ट, अनैतिक, सरकारमा एकछिन बस्न पनि नमिल्ने यो सरकार अबिलम्ब हट्नुपर्छ,’ ओलीले भने। सरकार आफैं नहटे जनताले टिपेर मिल्काउने अवस्था आउन सक्ने चेतावनी पनि उनले दिए।

प्रकाशित: Jul 11, 2022| 17:05 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...