काठमाडौं- नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरबहादुर पुनले गठबन्धन आफ्नो प्रदेशमा राम्रो नभएको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
'हाम्रो प्रदेशमा ४० स्थानीय तहमा गठबन्धन गरेको १६ तह जित्यौँ। हाम्रोमा गठबन्धन राम्रो भएन। ६९ पालिकामा एक्लै लड्दा ३२ पालिका जित्यौँ। माओवादी बलियो भएको ठाउँमा गठबन्धनको नाम पनि सुन्न चाहेन। कमजोर भएका ठाउँमा गठबन्धन गर्न भन्यौँ। गठबन्धन भएको ठाउँमा भन्दा पनि एकल लडेका ठाउँमा राम्रो नतिजा आएको छ,' उनले भने।
पार्टी विधानसम्मत नचलेको पनि उनको आरोप छ। यस्तै तल्ला तहलाई दिइएका अधिकार उपभोग गर्न नपाएको पनि उनले गुनासो गरे।
'टिकट दिने अधिकार तल दिइयो। उपमहानगर नगर र गाउँपालिकाको टिकट केन्द्रले हस्ताक्षर गरेर पठायो। यो कुरा मैले उठाएँ। संघीयतामा गइसकेपछि प्रदेश सरकारलाई निरीह बनाइएको छ,' उनले भने, 'पार्टीको प्रदेश समितिलाई पनि पंगु बनाउन खोजिएको छ। प्रदेश चाहिँदेन भने खारेज गर्न भनेको छु। पंगु बनाउने हो भने किन चाहियो प्रदेश?'
लेवी बाँडफाँडको निर्णय भएको तर अहिलेसम्म आफूहरू नपाएको समेत उनले गुनासो गरेका थिए। 'प्रदेश समिति चलाउन कठिन भयो। संघ र प्रदेशले राजनीतिक नियुक्ति गर्दा संस्थागतरूमा गरियोस् भनेर कुरा राखेँ। मापदण्ड बनाएर समानरूपमा बजेट विनियोजन होस् भनेर कुरा राखेँ। शक्तिशाली नेताको क्षेत्रमा सबै अवसर पुर्याउने, अरू निरीह बनेर जाने कुरा राम्रो होइन्। केन्द्रले भातृसंस्था बनाउन सकेन भने हामीलाई जिम्मा दिइयोस् हामी चलाउँछौँ,' उनले भने।
पार्टीको जगलाई बलियो बनाउने 'लोकतन्त्र' भन्न नेहुने समेत उनको धारणा छ। लोकतन्त्र कम्युनिस्टले रूचाएको शब्द भएको तर पार्टीको सिद्धान्त राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र भएको उनले स्मरण गराएका थिए। युवाहरू पार्टी पदाधिकारी भएपनि पार्टी अघि बढ्न नसकेको उनले भनाइ थियो।