काठमाडौं- नेकपा एमालेका सांसद नवराज सिलवालले कमिसनका लागि सरकारले हतियार किन्न लागिएको आरोप लगाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व डिआइजी समेत रहेका सिलवालले नेपाल प्रहरीलाई आवश्यक नै नपर्ने हतियार किन्न लागिएको भन्दै सरकारको आलोचना गरेका हुन्। सिलवालले गठबन्धनका नेताहरुलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न लागिएको आरोप समेत लगाए।
सिलवालले बिचौलियाले खडा गरेको फाइलमा सही गर्न लगाएर प्रहरी अधिकारीहरुलाई फसाउने र विगतको सुडान घोटाला जस्तै कमिसनखोर र नेताहरु जोगिने तर निरीह कर्मचारी फस्ने अवस्था आउनसक्ने बताए।
उनले हतियार खरिदबारे उच्च प्रहरी अधिकारीलाई जानकारी नदिई बिचौलिया र गठबन्धनका नेता तथा मन्त्रीहरुले भित्रभित्रै सेटिङ गरेको आरोपसमेत लगाएका छन्।
सिलवालले प्रहरीलाई अहिले हतियार होइन ब्यारेक र प्रविधि चाहिएको भन्दै गठबन्धनलाई पैसा जम्मा गर्न र बिचौलियाको कमिसनका लागि डलर अभाव भएका बेला हतियारका नाममा भ्रष्टाचार गर्न लागिएको आरोपसमेत लगाएका छन्।