काठमाडौं– लामो कर्ली कपाल। कालो साडीमा हरियो र रातो रंगको फल्स। साडीलाई म्याच गर्ने कानका झुम्का र निधारमा टीका। कार्यक्रम सञ्चालन गरिरहँदा माइकमा गुञ्जने मिठो आवाजकी सरितालाई झट्ट हेर्दा सबैले अरुजस्तै सामान्य महिला नै देख्छन्।
तर, उनैलाई सोध्यो भने नि? ‘म सरिता केसी, एक्जिक्युटिभ डिरेक्टर अफ मितिनी नेपाल,’ उनी खुलेरै जवाफ दिन्छिन्, ‘म महिला हुँ। तर, म महिलासँगको प्रेम सम्बन्धमा छु। किनभने म एलजीबिटीक्यू समुदायकी बाइसेक्सुअल महिला हुँ। ’
उनी अझ विस्तारमा थप्छिन्, ‘लेस्बियन पनि भन्दा हुन्छ। जेन्डर फल्युइड हुन सक्छ। मान्छे बाइसेक्सुयल सिनपछि लेस्बियन हुन सक्छन्। खासमा म अझै आफूलाई पढिरहेकै छु।’
सरिता केसी विगत सात वर्षदेखि यो संस्थासँग आबद्ध छिन्। उनलाई आफ्नो पेशागत जिम्मेवारीले धेरै ठाउँ पुर्याउँछ। तर धेरै ठाउँमा धेरैले उनको परिचयलाई सामान्य रुपमा लिँदैनन्। उनको लैंगिकतालाई स्वीकार्न तयार हुँदैनन्।
धेरैले उनलाई यो समुदायको भन्दा आश्चर्य मान्छन्। एकपटक सशस्त्र प्रहरीको लागि आयोजना गरिएको लैंगिकता सम्बन्धी सचेतना कार्यक्रममा पुग्दा त्यहाँ उपस्थित पुरुष सहभागीहरुले उनलाई अचम्म मान्दै सोधे– ‘हेर्दा त तपाईं महिलाजस्तै देखिनुहुन्छ। विवाहित जस्तो लाग्छ तर, पुरुषहरुका लागि फिलिङ्स नै छैन भन्नुहुन्छ। यो कसरी सम्भव भयो? ’
विडम्बना नै भन्नुपर्छ, आफ्नो पहिचान र अधिकारका लागि समाज र सत्तासँग लडिरहेकी सरिता परिवारमाझ अझै खुल्न सकेकी छैनन्। भन्छिन्, ‘मामुलाई सुगर छ। दीर्घ रोगको बिरामी हुनुहुन्छ। उहाँसँग आँखा जुधाएर आफू को हुँ अझै भन्न सकेकी छैन।’
मान्छेको लैंगिक पहिचान स्वरुप हेरेर थाहा नहुने त्यहाँ उनले स्पष्ट पारिन्। भन्छिन्, ‘अझै पनि हाम्रो समुदायका व्यक्ति सबै कुरुप र एलियन जस्ता हुन्छन् भन्ने मानसिकता यो समाजमा हटेको छैन। अझै उहाँहरु (समाज) हामीलाई असामान्य पहिरन र मेकअपमा देखिने पात्रको रुपमा चित्रण गर्नुहुन्छ। ’
‘अर्काे एक कार्यक्रममा पुग्दा त्यहाँ सहभागी एक महिलाले ‘यो समुदाय त छोटो लुगा लगाउने, अंग प्रदर्शन गर्ने छाडा स्वभावका हुन्छन्’ भनिरहनुभएको थियो। त्यहीबेला मैले ‘म पनि त्यही समुदायकी हुँ’ भन्दा उहाँले तलदेखि माथिसम्म घुरेर हेर्नुभयो। तर पनि मलाई पत्याउँदै पत्याउनु भएन,’ उनले अर्को प्रसंग सम्झिइन्।
हुन पनि हो। उनको पहिरन, शारीरिक बनावट र स्वर सुन्दा आम महिलाझैं सामान्य नै लाग्छ। त्यसैले आफूलाई बौद्धिक र प्रतिष्ठित पेशामा छु भन्नेहरु पनि उनको पहिचान स्विकार्न तयार हुँदैनन्।
यस्तो धेरैपल्ट भएको छ। एकपटक उनीसहित अन्य चारजना बाइसेक्सुअल महिलाहरु कार्यक्रममा पुगेका थिए। त्यतिबेला त त्यहाँ उपस्थित डाक्टरले उनलाई औँल्याएर नै भनिदिए, ‘उहाँहरु तीन जनाचाहिँ ‘त्यस्तो’ हो। तर तपाईंचाहिँ होइन।’
जवाफमा उनले बाध्य भएर उल्टै प्रश्न गरिन्, ‘ल ठिक छ, मेरो निजी भावना तपाईंले मान्न तयार हुनुभएन। तर, तपाईंसँग मेरो सेक्सुआलिटी नाप्ने त्यस्तो यन्त्रचाहिँ के छ? मलाई भनिदिनुपर्यो।’ उनको यो प्रश्नपछि ती डाक्टर नाजवाफ भए। केही बोल्न सकेनन्। तर सरितालाई थाहा छ, तिनी ‘कन्भिन्स’ हुन पनि सकेनन्।
०००
सरिताको पहिचान थाहा नपाउने त छँदैछन्, तर थाहा पाएपछि उनीसँग डराउने मान्छेको पनि कमी छैन। ‘नाम नभनौँ। सरकारको उच्च पदमा रहेका एक जना पुरुषसँग भेट भएको थियो। उहाँले मलाई सिधै भन्नुभयो– मलाई बाइसेक्सुअलसँग भेट्न औधी डर लाग्छ,’ सरिता सम्झिन्छिन्, ‘त्यसपछि मैले कारण सोधेँ। जवाफमा उहाँले भन्नुभयो– तपाईंहरुलाई केटा पनि मन पर्छ, केटी पनि।’
आफू र आफ्नो समुदायप्रति त्यस्तो आशंका व्यक्त गरेपछि यो सरितालाई सह्य भएन। जवाफमा उनले कड्किएर भनिदिइन्, ‘हो केटा केटी दुवै मन पर्न सक्छ। त्यसको मतलब ‘एैरे गौरे, नत्थु खौरे’ सबै मनपर्छ भन्ने हैन। बाटोमा हिँड्ने सबै मन पर्छ भन्ने हैन नि!’
त्यतिबेला मन दुखेका ती घटनाहरु सम्झिँदा अहिले उनी खित्का छाडेर हाँस्छिन्। भन्छिन्, ‘प्रेम–सम्बन्ध त दोहोरो फिलिङ्समा हुने कुरा हो। हाम्रो समुदायको भन्दैमा सबैलाई मन पराउने वा जबरजस्ती सम्बन्ध कायम गराउन चाहने हुन्छन् भन्ने सोच्नुचु गलत हो। तर, के गर्ने यस्तो मानसिकता हाम्रो नियन्त्रणमा हँदैन, बुझाउने कसरी?’
अचेल त धेरै ठाउँमा ठोक्किने यस्ता मानसिकताका व्यक्तिहरुले उनलाई कत्ति पनि चित्त दुखाउँदैनन्। ‘आफ्नो जीवन आफ्नो मर्जीमा जिउने हो। कसैको स्विकारोक्ति या स्वीकृति आवश्यक ठान्दिनँ।’
००००
विडम्बना नै भन्नुपर्छ, आफ्नो पहिचान र अधिकारका लागि समाज र सत्तासँग लडिरहेकी सरिता परिवारमाझ अझै खुल्न सकेकी छैनन्। भन्छिन्, ‘मामुलाई सुगर छ। दीर्घ रोगको बिरामी हुनुहुन्छ। उहाँसँग आँखा जुधाएर आफू को हुँ अझै भन्न सकेकी छैन।’ यद्यपि विभिन्न माध्यमबाट उनका आफन्त र भाइले भने उनको पहिचान थाहा पाएका छन्। उनलाई लाग्छ, सायद ‘मामु’ले पनि देखेकी छिन्।
आमासँग मात्रै होइन, आफ्नो पहिलो प्रेमीसँग पनि उनी खुल्न सकिनन्। ११ कक्षा पढ्दा पहिलोपल्ट पुरुषको प्रेम पत्र पाएकी थिइन्। तर, युवतीसँगको प्रेमको टुसो भने २१ वर्षको उमेरमा मात्रै अंकुरायो। थाहै नपाई उनी ती युवतीसँगको प्रेममा परिन्। सधैं सँगै हुन्थिन्, तर कहिल्यै त्यस्तो अनौठो आभाष भएन। जब ती युवती साथी विदेश गइन्, त्यसपछि मात्रै आफू प्रेममा परेको पक्का भइन्।
‘आफूले माया गरेको मान्छे विदेशिने बेला अंगालो हालेर रुन मन थियो तर सकिनँ,’ उनी सम्झिन्छिन्, ‘घर फर्किएर धेरै रोएँ। मामुलाई लाग्यो– मिल्ने साथी विदेश गएका कारण रोएको होला। तर, मलाई पो थाहा थियो मेरो मनको पीडा।’
त्यस समय आफ्नो त्यो भावना उनले ती युवतीलाई पनि भन्न सकिनन्। मलाई जस्तै फिलिङ्स, उनलाई थिएन भने? यही सोचेर डराइन् उनी। भएको साथी पनि गुम्छ भन्ने डरले मनको भावना मनभित्रै गुम्स्याएर राखिन्। र, वर्षौंसम्म यसरी नै गुम्सिरह्यो।
०००
पहिलो प्रेमको प्रसंग सम्झिनेबित्तिकै सरिता बाल्यकालमा फर्किन्छिन्। काठमाडौंको भैंसेपाटीमा हुर्किएकी उनलाई राम्रोसँग याद छ, आफ्नो चुलबुलेपन। सानो छँदा कति चकचके र छुच्ची थिइन्, त्यो बिर्सिएकी छैनन्। त्यहीकारण विद्यार्थी जीवनमा आठ पिरियड पढ्दासम्म आठ ठाउँ सिट चेन्ज गरिसक्थिन्। घरमा अरु छोरीहरु भन्दा फरक थिएन उनको हुर्कने वातावरण र सिकाइ। केटा र केटीबीचको प्रेम विवाह त देख्दै सुन्दै हुर्केकी थिइन्। तर, केटीले केटीलाई प्रेम गरेको या बिहे गरेको न कहिल्यै देखिन्, न सुनिन् नै।
मितिनी नेपालकी संस्थापक लक्ष्मी घलानसँगको भेटमा जब उनले आफ्ना यी सबै अनुभूतिहरु सुनाइन्, तबमात्रै उनले आफ्नो पहिचान थाहा पाइन्।
जो युवतीलाई उनी मन पराउँथिन्, उनीसँग सधैं सँगै हिँडेको र मिलेको देखेर एकदिन एक मित्रले उनीहरुलाई हाँस्दै भनेका थिए– ‘के तिमीहरु लेस्बियन हौ?’ तर, त्यतिबेला उनलाई लेस्बियन भनेको पनि थाहा थिएन। ‘हामी दुबै जना मोटा थियौं। त्यसैले हामी दुवै आलुको लेज चिज जस्ता छौ भनेको होला भन्ने बुझ्यौं। पछि पो थाहा भयो, अर्कै भनेको रहेछ।’
जब पहिलो प्रेममा परिन् तबमात्रै आफूभित्रको द्वन्द्व महसुस गर्न थालिन्। ‘मैले आफ्नोबारे ढिलो थाहा पाएँ,’ उनी भन्छिन्, ‘लामो समय आइडेन्टिटी क्राइसिस नै भोगेँ। महिला–पुरुषको सम्बन्ध मात्रै स्विकार्ने यो समाजमा म आफैंलाई यो स्विकार्न गाह्रो भयो। कुनै समय यस्तो पनि आयो कि म आफैले आफूमा मानसिक समस्या छ कि भन्ने शंका गर्न थालेँ। हर्मोनको डिस्ब्यालेन्स पो छ कि भनेर डराउन थालेँ।’
००००
मितिनी नेपालकी संस्थापक लक्ष्मी घलानसँगको भेटमा जब उनले आफ्ना यी सबै अनुभूतिहरु सुनाइन्, तबमात्रै उनले आफ्नो पहिचान थाहा पाइन्। ‘म अहिले ३६ वर्ष पूरा गरीसकेकी छु,’ उनी स्पष्ट बोल्छिन्, ‘केही वर्ष अघिसम्म मोबाइल र इन्टरनेटको त्यस्तो पहुँच थिएन। कति कुरा थाहै थिएन। अहिले प्रविधि मार्फत यस समुदाय र आफैँबारे पढ्न सहज भएको छ। ’
सरिता केसीको सामाजिक सञ्जाल इन्द्रेणी रंगको संकेतले भरिएका छन्। उनको प्रोफाइल तस्बिरदेखि वालहरु एलजीबिटीक्यु यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका हक र अधिकारसम्बन्धी जानकारीले भरिएका छन्। पछिल्लो समय सामाजिक सञ्जाल मार्फत कसैले आफ्नो लैंगिकताबारे खुल्दा धेरै अनौठो मान्न छोडिसकेको छ, नेपाली समाज। तर आफ्नो पहिचान खुल्दा सहजै जीवनयापन गर्न अनुमान गरेभन्दा धेरै जटिल छ। केसीको अनुभवले त्यहि भन्छ।
‘पारिवारिक जमघटमा त्यति जादिनँ म। भोजभतेर र धेरै आफन्त भेट हुने पार्टीतिर पनि सहभागी हुन मन लाग्दैन। किनभने मेरो अघि केहि नबोले पनि उहाँहरुले मनदेखि मलाई स्वीकार्न नसकेको अनुभव गर्न सक्छु,’ उनले भनिन्।
यद्यपि परिवारका ठूला सदस्यले बुझ्न नमाने पनि आफू समानका सदस्यबाट सकारात्मक प्रतिक्रिया आएको उनको अनुभव छ। भाइले उनको समुदायसँग सम्बन्धित घटना र खबरबारे उनलाई मेसेन्जरमार्फत जानकारी दिइरहेका हुन्छन्। यसमा उनी खुशी छिन्।
उनीसँगै हुर्किएका दिदीबहिनीको बिहे भइसक्यो। त्यसैले घरबाट पटक पटक उनलाई विवाहको प्रस्ताव र दबाब नआएको हैन। तर उनले मानिनन्। अहिले त आमाले पनि विवाहको दबाब दिन छाडेकी छिन्। भन्छिन्, ‘आत्मनिर्भर भइसकेपछि परिवारबाट आउने त्यस्तो दबाब स्वतः कम भएको छ। तर मलाई अझै परिवारसँग ‘आफू को हुँ’ भनेर खुलेर रम्न एउटा विद्रोह बाँकी नै छ। अहिले भित्रभित्रै यही संघर्षमा छु।’
००००
सरिता आफूलाई कुनै पनि बक्सभित्र राख्दिनन्। समाजले बनाएका मानकभन्दा बाहिर र यहि समुदायको सीमाभित्र पनि फरक फरक पहिचान हुन सक्छन् भन्ने उनको मान्यता छ। आफ्नो पहिचान यात्रा आफ्नो मर्जीअनुसार बाँचिरहेकी छिन् उनी। जतिसुकै हन्डर खानु किन नपरोस्, अब त सामना गर्ने साहस पनि बटुलिसकेकी छिन्।
सरिता झण्डै आठ वर्षअघि पुरुषसँगको सम्बन्धमा पनि बसेकी थिइन्। तर त्यो सम्बन्ध सुखद् रहेन। भन्छिन्, ‘उसँग प्रेम नै हुन सकेन। त्यसपछि कुनै पुरुषसँग आकर्षित हुन सकिनँ। ’
अहिले उनी एक महिलासँगको प्रेम सम्बन्धमा छिन्। आफ्नो प्रेमलाई विवाहको रुप दिन चाहन्छिन्। ‘राज्यले दियो भने अहिलेकी प्रेमिकासँग झ्याइँझ्याइँ बाजा बजाएर बिहे गर्ने मन छ,’ उनले आफ्नो रहर सुनाइन्। तर उनलाई यो पनि थाहा छ, हाम्रो देशको विवाह सम्बन्धी काुनन यौनिक तथा अल्पसंख्यक समुदायबारे न स्पष्ट छ, न उदार नै। तर पनि उनलाई आशा छ, यो लोकतान्त्रिक भनिएको समाजमा एक दिन त पक्कै आफूलाई मन लागेको मान्छेसँग बिहे गर्न पाइएला!