समुद्रबाट अंग्रेजहरू आएजसरी नै क्रिकेट खेल पनि पौडिँदै हिन्दूस्तानसम्म आइपुगेको हो। अंग्रेज भारत आइपुगेको लामो समयम्म पनि क्रिकेट भारतीयको खेल बन्न चाहिँ सकिरहेको थिएन। आफ्नो देशबाट छुट्टिनुपरेको पीडा, बिरानो मुलुक अनि भारतको गर्मी मौसममा हायलकायल भएका अंग्रेज नाबिक अंग्रेज नाबिक र उनीहरुका साथीले सुरुसुरुमा क्रिकेट खेल्ने गरेका थिए।
यता हिन्दूस्तानीहरु चाहिँ त्यो खेललाई परैबाट हेर्थे मात्र। हिन्दूस्तानको समुद्री किनारामा खेलिने अंग्रेजी खेल (क्रिकेट) लाई भारतका केही युवाहरुले पछि आफ्नै तरिकाले खेल्न सुरु गरे। भारतमा पहिलो पटक अंग्रेजले ल्याएको ‘धेरै खराब खेल’ खेल्न सिक्ने पारसी समुदायका युवा थिए।
उतिबेलाको बम्बई र अहिलेको मुम्बईमा आफ्नो परम्परागत भेषभुषामा क्रिकेटको कखरा सुरु भएको हो। भारतको ठूलो यो सहर लामो समयसम्म क्रिकेट र क्रिकेटरको गढका रुपमा रह्यो। हिन्दूस्तानमा सानो संख्यामा भएपनि पारसी समुदायले क्रिकेटलाई भारतसँग जोडे। एक समय त भारतीय क्रिकेट टिममा चारदेखि पाँच खेलाडी यही समूदायका हुने गर्दथे।
तर, विगतका यी पन्ना आज इतिहासमा सीमित भएका छन्। आजका भारतीय क्रिकेटर हेर्ने हो भने पारसी समूदायको प्रतिनिधित्व नगण्य छ। सन् १९७५ मा भारतको राष्ट्रिय टिमबाट क्रिकेट खेलेका फारुक इन्जिनयर पारसी समूदायका अन्तिम खेलाडी बनेका छन्। अहिले त राष्ट्रिय टिममा मात्र होइन, भारतको घरेलु क्रिकेटमा हेर्ने हो भने पनि पारसी खेलाडी भेट्न मुस्किल छ। अनि उनीहरुले भारतीय क्रिकेट टिममा अवसर बनाउन पनि पाएका छैनन्।
एक समय यस्तो थियो कि पारसी समुदायका चार खेलाडी एकैपटक भरतीय टिममा खेलिरहेका थिए। अहिले घरेलु क्रिकेटमा नै खोज्ने हो भने पनि औँलामा गन्न सकिने खेलाडी मात्र पारसी समुदायका छन्।