काठमाडौं– पाँच दलीय गठबन्धनबाट स्थानीय निर्वाचनमा टिकट पाउन गाह्रो भएपछि पार्टी छाड्ने क्रम बढिरहेको विषय यो साता चर्चामा रह्यो। सत्तारुढ नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी तथा जनमोर्चासमेतलाई मिलाएर टिकट दिनुपर्दा गठबन्धनका तर्फबाट धेरै स्थानीय नेताले टिकट पाएनन्। त्यसकै पछिल्लो उहाहरण हो भरतपुरमा बागी उठेका कांग्रेसका जगन्नाथ पौडेल।
विपक्षी एमालेले भने गठबन्धनका दलभित्र देखिएको टिकट नपाएपछि पार्टी परित्याग गर्ने समस्या आफ्नो पार्टीमा नआउने बताएको थियो। यद्यपि अहिले टिकट नपाएकै कारण एमाले छाड्ने नेताहरूको संख्या बढ्दै गएको छ।
शनिबार बनेपा नगरपालिकाबाट २०७४ मा मेयर भएका लक्ष्मीनरसिंह बादेले पार्टी परित्याग गरे। पत्रकार सम्मेलन गर्दै बादेले जिल्ला इन्चार्ज गोकुल बास्कोटाले धोका दिएको भन्दै पार्टी छाडेका हुन्।
मेयर बादेले एमालेको साधारण सदस्यतासमेत त्याग गरेको घोषणा गरे। ‘नगर प्रमुखमा तपाईं नै हो भनेर अन्तिममा धोका दिइयो। त्यस्तो धोका दिने पार्टीमा बसिरहन मन लागेन। त्यसैले एमालेको साधारण सदस्यसमेत नरहने गरी परित्याग गरेको घोषणा गर्छु,’ बादेले भने।
यस्तै धनकुटाको पाख्रीबास नगरपालिकाका एमाले मेयर बिर्खबहादुर राईले पनि पार्टी परित्याग गरेको घोषणा गरेका छन्। राईले फेसबुकमार्फत आफू पार्टीमा नरहने उल्लेख गरेका हुन्। राईले फेसबुकमा लेखेका छन्, ‘मैले आजदेखि पार्टीमा नरहने घोषणा गरेँ, दुःख त लागेकै छ तर बाध्य भएँ।’
स्रोतका अनुसार राई पुनः मेयरमा आकांक्षी थिए। तर, पार्टीले टिकट नदिएपछि उनी असन्तुष्ट थिए। जिल्ला नेताहरुलाई बारम्बार लबिङ गर्दासमेत राईले टिकट नपाएपछि बाध्य भएर पार्टी त्यागेका हुन्।
एमाले अध्यक्ष केपी ओलीको गृहनगर झापामा पनि मेयर पदको टिकट नपाएपछि एक नेताले एमाले छाडेका छन्। झापा जिल्ला कमिटीका सदस्य डिल्ली घिमिरेले मेचीनगरको मेयरको टिकट मागे पनि सिफारिसमै नपरेपछि चैत अन्तिम साता तत्काल एमाले छाडे।
विपक्षी एमालेले भने गठबन्धनका दलभित्र देखिएको टिकट नपाएपछि पार्टी परित्याग गर्ने समस्या आफ्नो पार्टीमा नआउने बताएको थियो। यद्यपि अहिले टिकट नपाएकै कारण एमाले छाड्ने नेताहरूको संख्या बढ्दै गएको छ।
चैत २८ गते पत्रकार सम्मेलन गरेर आफूमाथि अन्याय भएको र केही नेताहरूले निरन्तर पेल्दै ल्याएर रूँदै पार्टी छाड्ने अवस्थामा पुर्याएको भन्दै उनी रोएका थिए। एमालेका एक केन्द्रीय सदस्य स्थानीय निर्वाचनको टिकट वितरणमा पार्टीभित्रको एक गुटमात्र हाबी भएको बताउँछन्। उनका अनुसार माथिदेखि तलसम्म केपी ओली समूहका मानिसलाई मात्र छानेर टिकट दिइएको छ। कसलाई टिकट दिने र कसलाई नदिने भन्ने कामको सेटिङ धेरै पहिलेदेखि नै गरिएको उनको आरोप छ।
एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी भने टिकटको विवादले मात्र पार्टी नछाडेको दाबी गर्छन्। ‘राजनीतिक असन्तुष्टि र नयाँ अवसरका लागि निर्वाचनको बेला पार्टी परित्याग गर्नु सामान्य विषय हो। टिकटकै कारणले मात्र कसैले पार्टी छाडेको छैन,’ अधिकारीले भने।
एमालेले स्थानीय तहकै कमिटीलाई आधार मानेर टिकट दिने निर्णय गरेको थियो। यद्यपि स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको टिकट दिँदा जिल्ला अध्यक्ष र इन्चार्ज हाबी भएका छन्। पोखरामा शीर्ष नेताहरूको रस्साकसीपछि दीपक पौडेलको नाम अन्तिम समयमा नाम काटिएको थियो।
एमालेका असन्तुष्ट स्थानीय नेताहरूले जिल्ला अध्यक्षले सिफारिस गरेका मानिसले मात्र टिकट पाएको आरोप लगाउँदै आएका छन्। उनीहरूका अनुसार स्थानीय कमिटीबाट सिफारिस भएर गएको नामभन्दा बाहिर गएर जिल्ला अध्यक्षले अर्को व्यक्तिलाई टिकट दिएको बताएका छन्।
रुपन्देहीको सैनामैनामा उम्मेदवार छनोटका विषयमा असहमति जनाउँदै लुम्बिनी प्रदेश कमिटी सदस्य खुशीराम चौधरीसहितका नेताहरूले पार्टीबाट राजीनामा दिएका थिए। मेयर पदका आकांक्षी रहेका चौधरीसहित प्रदेश कमिटी सदस्यहरू नरबहादुर घर्ती मगर, शालिकराम भण्डारी तथा जिल्ला कमिटी सदस्यहरू हेमन्त थापा, शिवलाल बस्याल लगायतका नेता कार्यकताहरुले जिल्ला तहका नेताको टिकट वितरणमा हालिमुहाली भएको भन्दै एमाले परित्याग गरेका हुन्।