विराटनगरमा दीपाश्री निरौलाको घर नजिकै थियो, बालिका स्कुल। जहाँ छात्राहरू मात्रै पढ्न पाउँथे। सिनित्त कपाल कोर्दै जामामा सजिएर विद्यालय जान्थे अरूहरू। तर, दिपाश्री रत्तिएर खुसी हुन्थिनन्। स्कुलभित्र छिरेपछि सधैँ उनलाई लाग्थ्यो, ‘यो पर्खालभित्र मेरो स्वतन्त्रता कैद छ।’
तीसको दशक थियो त्यो। सुरक्षाको दृष्टिले अभिभावकहरू आफ्ना छोरीलाई गर्ल्स स्कुलमा पढाउने गर्थे। तर, दिपाका लागि त्यही दृष्टि निकै कष्टकर थियो। त्यहाँ पढ्न कत्ति पनि मन थिएन उनलाई। उनलाई लाग्थ्यो, घरदेखि पचास मिटरको दूरीमा रहेको त्यो बालिका स्कुलले शिक्षा दिने बहानामा छोरीको स्वतन्त्रता खोसिरहेको छ।
‘मन नलाई–नलाई मैले त्यहाँ सात कक्षासम्म पढेँ। तर, आठ कक्षामा भर्ना हुन मानिनँ,’ आमाको मर्जीविरुद्ध पहिलोपटक जिद्दी कसेको सम्झिइन् उनले। खासमा उनलाई केटा र केटी सँगै स्कुल जाने विद्यालयमा पढ्न मन थियो। उनको घरबाट दश मिनेट लाग्ने त्यो आदर्श स्कुलमा केटा र केटी सँगसँगै स्कुल गएको देखेर उनी लोभिन्थिन्। बालिका स्कुलका केटी साथीले भन्दा आदर्श स्कुल जाने केटाहरूले उनको ध्यान खिच्थ्यो। हक्की स्वभावकी दिपाले आमासँग कक्षा सातको अन्तिम परीक्षा दिएपछि एकदिन ढिपी कसिन्, ‘मलाई दिदीसँग स्कुल जान मन छैन। आदर्श स्कुल पढ्छु। त्यहाँ केटाहरू पनि पढ्छन्।’
उनको त्यो प्रस्ताव सुनेर एकछिन त आमा छक्क परिन्। स्कुलबाट फर्किने बित्तिकै सधैँ दिपा हाफ पाइन्ट लगाउँथिन्। खासमा उनी त्यस्तै हाफ पाइन्ट लगाएर स्कुल जान चाहन्थिन्। बाटुला गोडा, पुक्क परेको गाला, ठूला आँखा र मोटो शरीर। उनको शारीरिक बनौट सानैदेखि यस्तै थियो।
त्यसैले होला, उनलाई जामा र कोरीबाटीतिर कहिल्यै मन गएन। केटीको भन्दा केटाको जस्तो स्वभावका कारण घरमा आमा र दिदीहरू पनि छक्क पर्थे। त्यसैले एकदिन घरमा उनलाई बा’ले ‘साइँला’ भनेर बोलाए। घरकी साइँली छोरी थिइन् उनी। चौथो सन्तान पनि छोरी नै जन्मिन्। त्यसपछि हो, उनी घरमा साइँलीबाट साइँला बनेको। भन्छिन्, ‘मेरो आनीबानी छोरा मान्छेको जस्तो लाग्न थालेपछि सबैले साइँला भनेर बोलाउन थाले।’
खासमा उनलाई केटा र केटीसँगै स्कुल जाने विद्यालयमा पढ्न मन थियो। उनको घरबाट दश मिनेट लाग्ने त्यो आदर्श स्कुलमा केटा र केटी सँगसँगै स्कुल गएको देखेर उनी लोभिन्थिन्। बालिका स्कुलका केटी साथीलेभन्दा आदर्श स्कुल जाने केटाहरूले उनको ध्यान खिच्थे।
जब उनले केटाहरू पढ्ने स्कुलमा पढ्छु भनिन्, दिपाकी आमाले उनलाई डर देखाइन्, ‘केटा मान्छेले पिट्छन्, चिमोट्छन्, झगडा गर्छन्, त्यसैले त्यहाँ पढ्न हुँदैन।’ तर, दिपा के डराउँथिन् र! उल्टै भनिदिइन्, ‘त्यसोभए म नि पिट्दिन्छु, आमा।’
दिपाको बानी देखेर आमा भित्रभित्रै खुसी भए पनि व्यवहारमा छोरीलाई सिकाउनु पर्ने अनुशासन उस्तै परम्परागत थियो। छोरी मान्छे भएर छोरा मान्छेजस्तो हुनुहुन्न भन्थिन् सधैँ। एकदिन दिपाले आमालाई फकाउँदै भनिन्, गिरिजाबाबु पढेको स्कुलमा पढ्नुपर्छ आमा। त्यहाँ पढ्दा ठूलो मान्छे बन्न सकिन्छ। ‘त्यसपछि आमाले मान्नुभयो,’ दिपाश्रीले सम्झिइन्, ‘म आदर्श स्कुलमा भर्ना पनि भएँ। तर, गल्र्स स्कुल छाडेर केटाहरू पढ्ने स्कुलमा पुग्दा आमाले छरछिमेक र आफन्तको गाली पनि खानुपर्यो। त्यतिबेलाचाँही नरमाइलो लाग्यो।’
दिपा र उनका दिदीहरूबीच लिङ्ग मिले पनि स्वभाव मिल्थेन। दिपा आफ्ना दिदीहरूजस्तै लजाउने र डराउने टाइपकी थिइनन्। उनी त निडर थिइन्, निर्धक्क थिइन्। त्यसैले त आदर्श स्कुल पुगेसँगै उनको संगत केटीहरूसँगभन्दा केटाहरूसँग ज्यादा भयो। ‘यो केटाहरूसँगै बढी हिँड्छे, हामीसँग आउदिन् भन्दै गुनासो गर्थे मेरा केटी साथीहरू,’ त्यो बेला सम्झिएर यो बेला आफै हाँस्छिन् दिपाश्री। भन्छिन्, ‘केटा साथीसँग प्रतिस्पर्धा गर्ने लोभ र केटीहरूको संगतबाट टाढिने चाहका कारण पनि म आदर्श स्कुल जान चाहेकी थिएँ।’
दिपाश्रीलाई सुन्दा लाग्छ, आफ्नै स्वभावका कारण आफूलाई बदल्न उनले जे–जे विद्रोह गरिन्, त्यसैले उनलाई आजको दिपाश्री निरौला बनायो। भन्छिन्, ‘त्यो विद्रोह मेरो स्वभावले जन्माएको थियो। त्यसलाई आजसम्म स्थापित गर्नसकेको छु भन्ने लाग्छ।’
०००
आठ वर्षको उमेरदेखि नै नाच्न सिपालु थिइन् दिपा। स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा अग्रस्थान ओगट्थिन् उनी। मेडल जित्थिन्। पढाइमा पनि उनी कम थिइनन्। कक्षा कोठाको अघिल्लो बेन्चमा बस्थिन्। केटाहरूसँग दौडिन्थिन्। खेल्थिन्।
एकदिन त आफ्नै कक्षामा पढ्ने केटा साथीलाई आँखा फुट्ने गरी दनक दिइन् उनले। ‘मलाई हेपेको कत्ति मन पर्दैनथ्यो। उसले हेपेर जिस्काइरहेको थियो , मैले पिट्दिएँ। पछि उसको आमा तेरो छोरीले मेरो छोरा पिट्यो भन्न घरमै आएकी थिइन्,’ बाल्यकालको त्यो घटना अझै बिर्सिएकी छैनन् दिपाले।
जब उनले केटाहरू पढ्ने स्कुलमा पढ्छु भनिन्, दिपाकी आमाले उनलाई डर देखाइन्, ‘केटा मान्छेले पिट्छन्, चिमोट्छन्, झगडा गर्छन्, त्यसैले त्यहाँ पढ्न हुँदैन।’ तर दिपा के डराउँथिन् र! उल्टै भनिदिइन्, ‘त्यसोभए म नि पिट्दिन्छु, आमा।’
स्कुल पढ्दा नै हो, जीवनमा पहिलोपटक उनले केटाको ड्रेस लगाएर मञ्चमा नाचिन्। ‘मेरो शारीरिक संरचनाका कारण पनि केटा भएर नाच्दा केटैजस्तो देखिएकी भनेर कति जिस्काए साथीहरूले’, उनले मोबाइलमा रहेको बाल्यकालको एक पुरानो फोटो पनि देखाउँदै भनिन्।
आफूलाई केटा जस्तो बनाउन खोजेकी त थिइनन् तैपनि कहीँ न कहीँ ‘दबङ्ग लेडी’ जस्तो देखिन पुगिन्। यी कुरा उनको आफ्नै फुपूले भनेपछि थाहा पाएकी थिइन् उनले। ‘यो केटी अरू दिदीबहिनीजस्तो छैन, यसलाई धेरै नकराओ है’ भन्थिन् उनकी फुपू। तिनै फुपूले डान्स कक्षा हालिदिएकी थिइन् उनलाई। जब डान्स सिक्न थालिन्, उनको नृत्यले ‘वान्समोर’ पाइरह्यो।
त्यसपछि दिपाले कराँते पनि सिकिन्। बल्याकबेल्ट नजिते पनि झन् आत्मरक्षा गर्नसक्ने भइन्। उसै त आँटिली, झन् आत्मबल बढेर गयो। त्यसपछि त केटाहरूसँग झन् काँधमा काँध मिलाएर हिँड्न थालिन्।
‘तँलाई कस्तो भगवान्ले मिस्टेक गर्दिएछन्, छोरा बनाउनु पर्नेमा छोरी बनाइदिएछन्’, नजिकका साथी तथा दिदीहरूले जिस्काउँथे उनलाई।
जीवनमा के बन्ने होला भनेर हिँड्नु परेन उनले। बरु उनको प्रतिभाले उनलाई बाटो देखाउँदै लग्यो। त्यसैले त आज जहाँ छिन्। आफ्नै स्वभावले गरेको विद्रोहको नतिजा ठान्छिन् उनी।
०००
नृत्य, पढाई, अभिनय गरिरहेको बेला उनी प्रेममा परिन्। त्यो आफूभन्दा अलिकति परिपक्व पुरुषसँग। त्यही समय हो, उनले आफूलाई स्त्री हुनुको महसुस गरिन्।
कक्षा १२ पढ्दै थिइन् त्यतिबेला। एकदिन प्रेमीबाटै विवाह गर्ने प्रस्ताव आयो। विवाहको लागि यति छिट्टै प्रस्ताव आउँला, उनले सोचेकी थिइनन्। एकातिर करिअर थियो, अर्कोतिर प्रेमी।
दुवै सँगै बढाउन सकिएला, यस्तो उनलाई लाग्थेन। के रोज्ने, अन्योलमा परिन् उनी। उता प्रेमी आफ्नै ‘मुसिबत’मा थियो। घरबाट बिहेको प्रेस थियो। तर दिपाले धेरै सोचेर दुई वर्षको समय मागिन्। केटोले मानेन्।
एकदिन त आफ्नै कक्षामा पढ्ने केटा साथीलाई आँखा फुट्ने गरी दनक दिइन् उनले। ‘मलाई हेपेको कत्ति मन पर्दैनथ्यो। उसले हेपेर जिस्काइरहेको थियो, मैले पिट्दिएँ। पछि उसको आमा तेरो छोरीले मेरो छोरा पिट्यो भन्न घरमै आएकी थिइन्,’ बाल्यकालको त्यो घटना अझै बिर्सिएकी छैनन् दिपाले।
पछि दिपा आफै तयार भइन्। तर, विडम्बना त्यतिबेला ढिला भइसकेछ। ‘जतिबेला म बिहेका लागि तयार भएँ, त्यतिबेला उसको अर्कैसँग बिहे तय भइसकेछ,’ टुटेको प्रेम कथा सम्झिँदा आज पनि उसैगरी टुट्छिन् दिपा।
प्रेम र विवाह विल्कुल अलग कुरा रहेछन्, यो दिपाले त्यहीबेला महसुस गरिन्। ‘करिअर’का कारण आफूले चाहेको मान्छे आफ्नो बनाउन सकिनन् उनले। त्यही चोटमा कयौं रात सुतिनन् उनी। कयौं रात उनका आँखा गिला भए, सिरानी भिजिरहे।
कक्षा १२ पास त भइन् उनी, तर प्रेममा फेल भइन्। भन्छिन्, ‘त्यसपछि म सधैँ प्रेममा फेल भएँ तर करिअरमा पास भएँ।’
प्लस टु सकेपछि उनी स्नातक पढ्नतिर लागिनन्, बरु कामलाई अँगालिन्। आफ्नो नृत्य यात्रा अघि बढाउँदै गइन्। भन्छिन्, ‘मैले त्यतिखेर प्रेम र पढाई रोजेको भए करिअर यो ठाउँमा पुग्थेन सायद। केही पाएँ, केही गुमाएँ तर म दुःखी भने छैन। खुसी नै छु।’
०००
२०४० सालदेखि मञ्चमा डान्स गर्न थालेकी दिपाले पढाई र मनमा अल्झिएको प्रेम छोडेर राजधानी आइन्। काठमाडौंमा संघर्ष गर्न थालिन्। २०४८ सालमा पहिलोपटक ‘अग्निपथ’ नामको टेलिफिल्ममा काम गरे पनि सफल हुन सकिनन्। ‘नासो’ नामको चलचित्रमा उनले सानो भूमिका गर्न पाइन्। २०५० सालमा मधेशी ‘टोन’ मा बोल्ने महिला पात्रको खाँचो रेडियो नेपालले खोजेपछि रेडियो नेपालमा काम खोज्न पुगिन्। रेडियो नेपालमै पहिलोपटक दीपकराज गिरीसँग भेट भयो उनको। त्यो भेटपछिको यात्रा आजसम्म निरन्तर छ। रेडियोमा ‘धनियाँ’ पात्रको भूमिका गर्दै आवाजको दुनियाँमा स्थापित भइन्। यसरी उनले २०५४ सालमा ‘गाउँले’ नामको चलचित्रमा नायिका भएर देखा परिन्। अभिनय, रेडियो र मञ्चलाई सँगसँगै लैजाने क्रममा उनले २०६० सालबाट ‘तितो–सत्य’मा अनुबन्धित भइन्। १२ वर्ष तितोसत्यमा उनले काम गरिन्।
अनुभवको सँगालो र आफूले सिकेको ज्ञानका आधारमा उनले निर्देशनमा हात हालिन्। र, लगातार हिट फिल्म दिने निर्देशकमा स्थापित भइन्। उनको निर्देशनमा बनेको ‘छक्का–पञ्जा’ हिट भयो। ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ निर्माताको रूपमा काम गर्दा पनि सफल भइन्। ‘छक्का–पञ्जा२’, ‘छक्का–पञ्जा३’ ले सफलताको रेकर्ड नै बनायो। फिल्म सफल हुनुको पछाडि दिपकराज गिरी, जितु नेपाल, र केदार घिमिरेलाई पनि जान्छ। यहाँ पनि उनका साथी सबै केटा नै भए। केटी त उनी मात्रै भइन्।
जीवनमा केटा साथीहरूकै संगत र सहयोगले दिपाले ठूलो सफलता पाइन् भन्दा फरक नपर्ला। तर, जीवनमा भने उनी एक्ली छिन्। न उनलाई कसैसँग प्रेम छ। सहरका रेष्टुरा या पार्कहरूमा होस् या भ्याली बाहिर डाँडा पाखा र चौतारीहरूमा, आफ्नो डेटिङ जाने कोही प्रेमी छैन भन्छिन् उनी।
‘साँच्चै, मेरो कोही प्रेमी छैन अहिले। मलाई बाहिरफेर हात समाएर घुम्ने फुर्सद पनि छैन। मेरो प्रेमी नै मेरो काम हो’, उनले भनिन्।
काम–काम भनेरै पहिलो प्रेमी गुमाएकोमा पछुतो त छैन उनलाई तर यादहरू अझै उनीभित्र जीवन्त छन्। कुनै मोड र घुम्तीमा ती प्रेमिल पलहरू सम्झनामा नआएका पनि होइनन्। तर जीवन सम्झनाहरूको सँगालो न हो! सम्झिएरै बिर्सिरहिन् उनले।
जब आफ्नो पहिलो प्रेम गुमाइन्, त्यसपछि उनलाई प्रेमप्रति गहिरो रुचि रहेन। २०७० साल अगाडिसम्म कहिलेकाहीँ भए पनि उनलाई विवाह चाहिँ गर्नुपर्ला भन्ने लाग्थ्यो। तर ७० सालपछि विवाहको ख्याल आउनै छोडेको बताउँछिन् उनी। ‘‘जब ‘छक्कापन्जा’ हिट भयो, त्यसपछि एक्लै मरेँ भने पनि म खुसी हुन्छु भन्ने लाग्यो,’ उनले भनिन्।
दिपाश्रीलाई जीवनमा डर लाग्ने भनेको जहाज चढ्दा हो। उनको मनमा भय सधैँ भइरहन्छ, ‘कतै क्र्यास पो हुने हो कि!’
तर उनी ढुक्क छिन्, केही भयो भने पनि उनका लागि रोइदिनेहरू केही त छन्।
‘म एकदिन हिरोइन हुन्छु, धेरै नाम कमाउँछु। त्यसपछि म मर्दा मेरा मलामी पनि धेरै हुनेछन्,’ बाल्यकालदेखि यस्तै सपना देख्दिन दिपा। र, आज पनि यही सपना पुरा गर्ने दौडमा रहेको बताउँछिन्।
०००
दिपाका बुबा पुरोहित हुन्। धेरैको घरबार जोडिदिए उनले। तर आफ्नै छोरीको जोड्न पाएनन्।
त्यसैले उनका आफन्तले उनलाई सधैँ गनगन गरिरहे, दुनियाँका छोरीको विवाह गराइस्, आफ्नै साइँली छोरीको गराउन सकिनस्। तर दिपालाई लाग्छ, मान्छेले चाहेर मात्रै विवाह नहुने रहेछ। चाहेको भए पहिलो प्रेम नै विवाहमा बदलिनुपर्थ्यो। उनी भन्छिन्, ‘मेरो विवाह भएन भनेर बुवा कुनै समय दुखी पनि हुनुभयो। तर म कहिल्यै दुखी भइन्। म खुसी नै छु।’
बिहेको प्रस्तावसहित घरमा उनलाई धेरै केटाहरू हेर्न नआएका होइनन् तर कुनै केटाप्रति रुचि भएन उनलाई। ‘आफूले मन परेको मान्छेले विवाह गरेपछि मलाई विवाहप्रति पनि रुचि हरायो’, दिपा भन्छिन्, ‘आफू असक्षम भएको भए विवाहप्रति आकर्षण बढ्थ्यो पनि होला। तर सामान्य जीवनशैली बाँच्ने भएकोले पनि मलाई केही कुराले आकर्षित गरेन। न कुनै पुरुष देखेर आकर्षित नै भएँ। जतिखेर थिएँ, त्यतिखेर विवाह भएन।’
दीपकराज गिरीसँगको प्रेमबारे दिपाश्री भन्छिन्,‘रातदिन उहाँसँग हुँदा पक्कै प्रेमको झिल्को बल्यो होला। प्रेम भयो पनि होला तर विवाह गर्ने खालको होइन।’
’दिपाको कलाकारिता करिअरसँगै उनीसँग एकदमै नजिक भएका पात्र हुन्, दिपकराज गिरी। लामो समययता उनी दीपकसँग सहकार्य गरिरहेकी छिन्। ‘तितो सत्य’ हेर्ने दर्शकले त दीपक–दिपालाई श्रीमान्–श्रीमती पनि भने। कतिले अझै पनि प्रेमजोडी भन्छन्। के हो त खासकुरा? जवाफमा दिपा ‘कूटनीतिक’ भइन्, ‘रातदिन उहाँसँग हुँदा पक्कै प्रेमको झिल्को बल्यो होला। प्रेम भयो पनि होला तर विवाह गर्ने खालको होइन,’ दिपा भन्छिन्, ‘एकअर्कालाई सम्मान गर्ने, विश्वास गर्ने र कामप्रतिको इमानदारिताका हिसाबले प्रेम भयो। आज पनि दीपकप्रति त्यो प्रेम र सद्भाव त छँदैछ।’
दिपाश्रीलाई लाग्छ, देखिएको जीवनभन्दा निकै फरक हुन्छ मान्छेले भोगिरहेको जीवन। सम्बन्ध पनि त्यही कसीमा राखेर हेर्छिन् उनी। भन्छिन्, ‘रिलेशनसिप भन्ने कुरा फिल गर्ने कुरा हो। देखिनु नै पर्छ भन्ने छैन।’
‘‘वान साइट लभ’ गरेरै पनि मान्छे जीवन बिताइदिन सक्छ,’ उनी थप भन्छिन्, ‘जीवनभरि एक्लै पनि खुसी हुन सक्ने धेरै तरिकाहरू छन्। त्यसैले मेरा लागि कोही बनेको रहेनछ भने पनि म दुखी हुन्न। अहँ, हुँदै हुन्न।’
०००
दिपा आफूलाई अत्यन्तै संवेदनशील मान्छिन्। स–साना कुराले छुन्छ उनलाई। जहाँ पनि खुसी हुन सक्छिन्। उनलाई ठूल्ठूला दुनियाँले भन्दा पनि स–साना कुराले बढी आकर्षित गर्छ।
तर, नेपाली समाजले विवाहलाई पनि एउटा भव्य दुनियाँ या समारोह मान्छ। अझ छोरीले मान्छेले त समयमै बिहे नगर्दा अनेक लाञ्छना खेप्नुपरेको हामीले देख्दै/सुन्दै आएकै हो। त्यतिबेला उसको कमजोरी खोज्ने, भाग्यलाई दोष दिने, यो त हाम्रो समाजमा वर्षौँदेखि गढेर बसेको रोग नै हो।
दिपाश्रीले समाजका यी विविध पुरातन मान्यताहरूको सामना नगर्नुपरेको होइन। तर यस्ता कुराले कहिल्यै फरक पारेन उनलाई। भन्छिन्, ‘मेरो मर्जीको मालिक म आफै हो। सानोमा अभिभावकको मर्जी अनुसार हिँड्नुपर्थ्यो। तर ठूलो भएपछि ‘सेल्फ डिफेन्स’ गर्न सक्ने भएँ। अब त मेरो जीवनमा मरै मर्जी। त्यसैले त स्वतन्त्र भएर हिँड्न सकेकी छु।’
सिनेमा छायांकनका क्रममा धेरैपटक चर्को बोल्नु परको छ उनले। उनको आवाज सुनेर धेरै सहकर्मीहरू आत्तिन्छन् पनि। उनी स्वयम्लाई पनि आफू अलिकति सिधा स्वभावको छु भन्ने लाग्छ।
यद्यपि मान्छेको जीवनमा केही न केही कुरा पछाडि परिरहेकै हुन्छ। केही न केही भुलिरहेकै हुन्छ मान्छे। अनि केही न केही छुटिरहेकै हुन्छ।
‘तपाईंको जीवनमा पनि त्यस्तो केही छ जुन तपाईंलाई छुटिरहेजस्तो लाग्छ,’ हामीले दिपाश्रीलाई सोध्यौं। जवाफमा उनी हाँस्दै भन्छिन्, ‘अरूलाई श्रीमान् छुट्यो कि भन्ने लाग्ला तर मलाई त्यस्तो केही लाग्दैन।’