काठमाडौं– नौ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा आइतबारबाट सुरु भएको छ।
स्थानीय भाषामा बिस्का पनि भनिने यो जात्रामा स्थानीयको उल्लेख्य सहभागिता देखिएको छ। पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण यो जात्रा नराम्ररी प्रभावित बनेको थियो।
प्यागोडा शैलीमा बनाइएको तीनतले काठै काठको करिब ३० फिट अग्लो भैरवनाथको रथलाई दुवैतिरबाट डोरीले तानेसँगै जात्रा सुरु भएको हो।
लिच्छविकालदेखि सुरु भएको बिस्केट जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि परम्परागत रूपमा तान्त्रिक विधिअनुसार भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गर्ने परम्परा छ।