काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। प्रधानमन्त्री देउवाले बिहीबार गरेको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले बन्दीलाई कानुनमन्त्रीमा नियुक्त गरेकी हुन्।
मन्त्री बन्दीलाई बिहीबार नै पद तथा गोपनीयतको शपथ गराउने तयारी गरिएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटकसम्म गरेको संसद विघटनविरुद्ध रिट निवेदन दायरदेखि बहससम्मका गतिविधिमा बन्दी सक्रिय बनेका थिए। एमसीसीको व्याख्यात्मक घोषणाको मस्यौदा तयार पार्ने काममा पनि बन्दी सक्रिय बनेका थिए।
बन्दी माधवकुमार नेपाल निकट कानुन व्यवसायी मानिन्छन्। उनी गैरसांसद अवस्थामा नै मन्त्री बनेका हुन्। गैरसांसद व्यक्ति ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था छ।
बन्दीलाई कानुनको जिम्मा दिइएपछि हालका कानुनमन्त्रीलाई भने उद्योग मन्त्रालय दिने तयारी गरिएको बालुवाटार स्रोतले बताएको छ। प्रधानमन्त्री देउवाले उद्योग मन्त्रालय आफैँसग राखेका छन्।