काठमाडौं- नेपाल बार एसोसिएसनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता कायमै राखेका छन्।
हालसम्म २५ केन्द्रको ३२०३ मत गणना हुँदा उनले १ हजार ९ सय ९० मत प्राप्त गरेका छन्। प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले १ हजार ४ मत प्राप्त गरेका छन्।
नेपाल बार एसोसिएसन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार हालसम्म २५ केन्द्रको मतगणना सम्पन्न भएको छ। ६ स्थानमा गणना भइरहेको छ। अब थप दुई स्थान बढाएर आठ स्थानमा मतगणना गर्ने तयारी भइरहेको बताइएको छ।
हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ। महासचिवमा अञ्जिता खनालले १ हजार ७६५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले १ हजार १५७ मत पाएका छन्। कोषाध्यक्ष भरतबहादुर राउतले १ हजार ९२८ मत र उनका प्रतिस्पर्धी जगतबहादुर कार्कीले १ हजार ६६ मत प्राप्त गरेका छन्।