काठमाडौं- सुर्खेतकाे गुर्भाकोट–१४ का ३२ वर्षीय अनिल गुरुङ पाँच महिनाअघि संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि गत पुस ७ गते कंगो पुगेका थिए। कंगो पुगेको तीन महिनापछि जम्माजम्मी एकपल्ट मात्र बुबासँग उनको फोन सम्पर्क भएको थियो।
फोनमा कुराकानी गर्दै बुबा लालबहादुरलाई उनले भनेका थिए, ''बा अब हाम्रा दुःखका दिन गए। एक वर्षपछि म घर फर्किन्छु अनि गाउँमा दुई तलाको घर ठड्याउनुपर्छ। म भाइलाई पनि सेनामा भर्ती गराएरै छाड्छु। तपाईं केही 'टेन्सन' नलिनुस्।’ ‘हुन्छ छोरा, सकुशल फर्केस्,’ त्यसबेला बुबा लालबहादुरले खुशी हुँदै फोन राखेका थिए।
विडम्बना ! त्यो फोन नै बुबा–छोराबीचको अन्तिम संवाद भइदियो। ‘शान्ति मिसनमा जान पाएपछि खुशी थियो,’ शोकमा रहेका बुबा लालबहादुरले सम्झिए, ‘भेट हुँदा सधैँ दुःखसुखको कुरा हुन्थ्यो। घरमा सबैको चिन्ता गर्थ्यो, केही टेन्सन लिनुपर्दैन, म फर्केपछि सब ठिक हुन्छ भन्थ्यो। के थाहा, कहिल्यै नफर्किने गरी गएको रहेछ।’
000
गुरुङ अफ्रिकी मुलुक कंगोस्थित शान्ति मिसनमा रहेको नेपाली सेनाको पहिलो डफ्फामा सिपाहीका रुपमा कार्यरत थिए। डफ्फालाई कमान्ड गरिरहेका थिए, प्रमुख सेनानी निकिल कुँवरले। त्यहाँ कुँवरको कमान्डमा सेनाले अपरेसन ‘बाली’ चलाइरहेको थियो। जसअन्तर्गत विद्रोहीको कब्जामा रहेको जमिनलाई जसरी पनि फिर्ता लिनु थियो। यो अपरेसनमा सेना सफल पनि भयो। तर, दुर्भाग्य ! त्यहाँबाट भागेको विद्रोही पक्षले अचानक अज्ञात स्थानबाट 'फायर' गर्यो। त्यही क्रममा गोली लागेर सिपाही गुरुङले ज्यान गुमाए।
विद्रोही पक्षको गोली लागेर ज्यान गुमाएका गुरुङलाई हेलिकोप्टरमार्फत उपचारका लागि कंगोको बुनियाँस्थित लेबल-२ अस्पतालमा पुर्याइएको थियो। तर उनी बच्न सकेनन्। बुधबार जंगी अड्डा उनको निधनको खबर प्रेषित गर्न बाध्य भयो।
बुबा लालबहादुरलाई यो खबर सबैभन्दा सुरुमा सेनामै कार्यरत उनकै नाति पर्ने चन्द्रबहादुर गुरुङले सुनाएका थिए। चन्द्रबहादुरले मंगलबार नै उनलाई फोन गरेर भनेका थिए, ‘बुबा, अनिलले वीरगति प्राप्त गर्यो। पल्टनबाट करसा’बको फोन आउला, उठाउनु है!'
लगत्तै आधा घन्टापछि पल्टनबाट कर्णेलको फोन आयो। ‘करसा’बले दुःख प्रकट गर्दै घटनाबारे जानकारी गराउनुभयो,’ बुबा चन्द्रबहादुरले भने, ‘एक हप्ताभित्र शव पठाइसक्ने कुरा छ। कहिले आउने हो थाहा छैन।’
चन्द्रबहादुर यतिबेला गाउँमै छन्। अनिलको निधनको खबरले सबै विक्षिप्त छन्। यता अनिलकी श्रीमती विद्या महर्जन र छोरा काठमाडौंमै छन्। छोरालाई काठमाडौंमै पढाउने भनेर विद्या सोह्रखुटेस्थित माइतीघरमै बस्दै आइरहेकी थिइन्।
गाउँमा लालबहादुरका ९० वर्षका बिरामी बुबा पनि छन्। बुबालाई एयरपोर्टमा छोराको शव लिन आउन मन त छ तर बूढो भएका बिरामी बुबालाई छोड्न पनि सकेका छैनन्। ‘यता ९० वर्षको बुबाको हेरचाह मैले नै गर्नुपर्छ,’ उनले भने, ‘उता नाति (चन्द्रबहादुर)ले फोन गरेर माथि हाकिमलाई भनेर म आफै शव लिएर आउने कोशिश गर्छु भनेको छ। हेरौं के हुन्छ!’
000
छोराले वीरगति प्राप्त गरेपछि उनका पक्षमा सामाजिक संजालमा व्यक्त भइरहेको श्रद्धाञ्जलीहरु पनि देखिरहेका छन्, बुबा लालबहादुर। उनलाई यतिखेर छोरालाई जबर्जस्ती सेनामा भर्ती गराएको क्षण झल्झली सम्झना आइरहेको छ।
‘द्वन्द्वकालका बेला माओवादीले दुई पटक उसलाई फकाएर जनसेना बनाउने भन्दै लिएर गएको थियो,’ उनले सम्झिए, ‘तर, म त्यसको पक्षमा थिइनँ। पहिलोपटक लिएर जाँदा म खोज्दैखोज्दै माओवादीसम्म पुगेको थिएँ। तर, माओवादीले लुकाइहाले, मैले भेटिनँ। अर्को दिन जाँदा भेट्टाएपछि फर्काएर ल्याएको थिएँ। तर, फेरि माओवादीले रातारात उसलाई लिएर गयो। त्यसको एक हप्तापछि म फेरि खोज्न निस्किएँ। तर, त्यतिबेला भेट्टाएपछि घरमा लगिनँ, रातारात काठमाडौं पठाइदिएँ। त्यतैबाट सेनामा भर्ती गराइदिएँ।’
लालबहादुरका भान्जा रणबहादुर गुरुङ पनि सैनिक सेवामा कार्यरत थिए। उनी जर्नेलका बडीगार्ड बनेका थिए। ‘काठमाडौं ल्याएपछि उनै भान्जाको जिम्मा लगाएर म सुर्खेत फर्किएको थिएँ, उनकै पहलमा उनी सेनामा भर्ती भए,’ लालबहादुरले सुनाए।
अनिल सेनामा भर्ती भएको १३ वर्ष भएको थियो। भर्ती भएको एक वर्षपछि उनले विद्यासँग प्रेम विवाह गरेका थिए। गाउँमा एक तलाको घर त थियो तर अपूरो। प्लास्टर गर्न बाँकी नै थियो। भाइ विनोद गुरुङ पनि सेनामा भर्तीको लागि तयारी गरिरहेका थिए। तर नाम निस्किरहेको थिएन। त्यसैले कंगोबाटै अनिलले बुबासँग भनेका थिए, ‘अब म फर्किएपछि त्यो अपूरो घर पनि दुई तला ठड्याउँछु। भाइलाई पनि सेनामा भर्ती गराएरै छाड्छु। तपाई चिन्ता नलिनस् है।’
९ दशकमा हिँडिरहेका लालबहादुरका बुढ्यौलीसँगै स्वास्थ्य समस्यासँग पनि जुधिरहेका छन्। बुबा हेर्दैगर्दा लालबहादुरले छोराको निधनको खबर सुन्नुपर्यो। ‘समयको चक्र यस्तै त रहेछ। त्यतिबेला त्यस्तो भन्थ्यो, आखिर यस्तो भयो,’ गाउँमा छोराको शव कुरिरहेका लालबहादुर अझै पनि त्यो अन्तिम फोन संवाद सम्झेर झस्किन छाडेका छैनन्।