काठमाडौं– पाँच दलीय सत्तारुढ गठबन्धन स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गरेर जाने तयारीमा छ। चुनावी तालमेल गर्ने निर्णय यसअघि नै गठबन्धनको बीचमा भइसकेको छ।
स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गरेर जान गठबन्धनमा आवद्ध दलहरु सहमत भए पनि मोडालिटीको ‘क्लियर पिक्चर’ भने तयार भइसकेको छैन। तर, गुल्मीको एउटा गाउँपालिकामा भने तालमेलको टुंगो लागेको छ।
सत्ता गठबन्धनमा आवद्ध दलहरुको स्थानीय संयन्त्रले मालिका गाउँपालिकामा तालमेलको टुंगो लगाएको हो। दलहरुबीच बनेको सहमति अनुसार नेकपा माओवादी केन्द्रले गाउँपालिकाको अध्यक्ष पाउने भएको छ। यस्तै नेपाली कांग्रेसको भागमा उपाध्यक्ष परेको छ।
‘तालमेलका लागि आवश्यक सहमति जुटाउन स्थानीय संयन्त्रलाई जिम्मा दिएका थियौं। र, संयन्त्रले तालमेलका सन्दर्भमा सहमति जुटाएको छ,’ गुल्मी कांग्रेसका सभापति खिलध्वज पन्थीले भने। सहमतिअनुसार गठबन्धनले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका देवीराम अर्याललाई उम्मेदवार घोषणा गरेको छ।
उनी माओवादीका गाउँपालिका अध्यक्षसमेत हुन्। अर्याल यसअघिको निर्वाचनमा अध्यक्षमा एमालेका रितबहादुर थापासँग पराजित भएका थिए। उपाध्यक्ष भागमा परेको कांग्रेसले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन। कांग्रेसबाट उपाध्यक्षका लागि पालिका सभापति उपेन्द्र अर्याल, उपसभापति दीपक भण्डारी, वडा नम्बर १ का वडाध्यक्ष इन्द्र बहादुर घर्तीले दाबी गरिरहेका छन्।
गठबन्धनको सहमतिअनुसार आठ वडा रहेको गाउँपालिकामा माओवादी केन्द्रलाई पालिका अध्यक्षसहित दुई वडाअध्यक्ष भागमा परेको छ। यस्तै कांग्रेसको भागमा उपाध्यक्षसहित ६ वटा वडा परेका छन्।