काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चोभारमा बनेको सुख्खा बन्दरगाह आफूले उद्घाटन गर्न खोज्दा कांग्रेसले रोकेको गुनासो गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार उद्घाटन गरेको बन्दरगाहको उद्घाटन गर्नबाट कांग्रेसले आफूलाई तीनपटक रोक्ने प्रयास गरेको आरोप उनले लगाए।
बुधबार भक्तपुरको सिपाडोलस्थित शान्ति निकेतन माध्यमिक विद्यालय भवन उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसले निर्माण गर्न अवरोध गरेको उक्त बन्दगाह एमालेको सरकारले नै निर्माण सम्पन्न गरेको र अहिले प्रधानमन्त्री देउवाले उद्घाटन गरेको बताए। सुख्खा बन्दरगाहको शिलान्यास ओलीले नै प्रधानमन्त्रीको हैसियतमा २०७५ माघ ३ गते गरेका थिए।
फरक प्रसंगमा ओलीले सत्ता गठबन्धनलाई कुहिएको गठबन्धनको संज्ञा दिए। उनले भने, ‘कुहिएको गठबन्धन झरेपछि फेरि मुलुक विकासको बाटोमा अघि बढ्नेछ। परमादेशपछि बनेको वर्तमान सरकारका कारण मुलुकको विकासको काम नै अवरुद्ध भएको छ।’
ओलीले भने, ‘जसरी फल कुहिनेबित्तिकै झर्दैन, केही समय लाग्छ। यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो। कुहिएको फल छुट्न थालेसँगै गठबन्धन टुट्न थाल्छ।’ ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गरे। चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने उनको भनाइ थियो।
विद्यार्थीलाई देशभक्तिबारे अहिलेदेखि नै सिकाउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए।