काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गराएको २४ घण्टा पनि नबित्दै एक पालिकाका अध्यक्ष पुनः नेकपा माओवादीमा नै फर्किएका छन्। सोमबार ओली निवास बालकोट पुगेर ओलीका हातबाट खादा पहिरिँदै एमाले प्रेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी फेरि माओवादी केन्द्रमा फर्किएका हुन्।
डल्लाकोटीले मंगलबार विज्ञप्ति जारी गर्दै आफू माओवादी केन्द्रमा फर्किएको प्रष्टीकरण दिएका छन्। आफूले आवेशमा आएर मात्र एमालेमा पुगेको उनको भनाइ छ।
'मभित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रूपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनीघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर रूपमा आत्माआलोचना गर्न चाहन्छु। आगामी दिनमा माओवादी केन्द्रमा रही पार्टीको निर्णय अनुसार क्रियशील हुन्छु,' पालिका अध्यक्ष डल्लाकोटीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।