आइतबार, साउन ३१, २०८३

लमजुङमा ४ दलले तालमेल गर्ने

लमजुङमा सत्ता गठबन्धन दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय भएको छ।
 |  मंगलबार, चैत २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २२, २०७८

लमजुङ- लमजुङमा सत्ता गठबन्धन दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय भएको छ। नेपाली कांग्रेसका जिल्ला सभापति टकराज गुरुङको अध्यक्षतामा सत्ता गठबन्धन दलको आज बेँसीशहरमा बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेससहित चार दलको गठबन्धन गर्ने निर्णय गरेको हो। ‍

कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जिल्लास्तरीय नेताहरूको बैठकले निर्वाचनमा एक भएर अगाडी बढ्ने निर्णय गरेको बताइएको छ। 

बैठकले जिल्लाका सबै वडादेखि गाउँ र नगरपालिकासम्म नै गठबन्धन गरेर निर्वाचनमा अगाडि बढ्ने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति गुरुङले जानकारी दिए। 

यसका लागि सभापति गुरुङको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक मधु अधिकारी गुरुङ, नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष रामबाबु अधिकारी र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष गमबहादुर तामाङ सदस्य रहने जिल्ला निर्वाचन संयन्त्र बनाउने निर्णय पनि गरेको उनले बताए। 

जिल्लाका आठ पालिकामा गठबन्धन दलहरुको संयन्त्र सम्बन्धित दलका प्रमुख रहने गरी निर्माण गर्ने निर्णय गरेको छ। पालिका स्तरीय संयन्त्रमा संयोजक कांग्रेसका सम्बन्धित पालिका सभापति र सदस्यमा सम्बन्धित पालिकाका गठबन्धन दलका अध्यक्ष वा प्रमुख रहने निर्णय गरेको कांग्रेस जिल्ला सभापति गुरुङले बताए।

'गठबन्धन दलबीच गठबन्धनको मर्म र भावना अनुरुप सुमधुर सम्बन्ध कायम राख्दै दल भित्रका जिम्मेवार नेता तथा कार्यकर्ताले एक आपसमा गठबन्धन विरोधी आरोप प्रत्यारोप नगर्न नगराउन, सामाजिक सञ्जाललगायतका सञ्चारमध्यमबाट अशिष्ट, गालीगलोजजस्ता गतिविधि नगर्न नगराउन, आ–आफ्नो दलका नेता तथा कार्यकर्तालाई अपिल गर्ने एवं आपसी सम्मान र हार्दिकताको विकास गर्दै संयुक्तरुपमा स्थानीय तहको निर्वाचनमा सहभागी हुन निर्देशन गर्ने निर्णय गरिएको छ,' उनले भने। 

गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकाका प्रमुख तथा अध्यक्ष जितेको थियो। त्यस्तै, माओवादी केन्द्रले दोर्दी गाउँपालिका अध्यक्ष पद जितेको थियो। त्यस्तै, सुन्दरबजार नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेस, मर्स्याङ्दी गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्र, राइनास नगरपालिकामा कांग्रेसले उपप्रमुख पद जितेको थियो।


प्रकाशित: Apr 05, 2022| 18:59 मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...