काठमाडौं- नेपाली कांग्रेसले पार्टीका सातवटै तहमा स्थानीय तह निर्वाचनका लागि निर्वाचन परिचालन र प्रचारप्रसार समिति गठन गर्ने भएको छ। केन्द्रीय स्तरमा गठन भएका समितिले मातहतका निकायलाई समिति गठन गर्न निर्देशन दिएका हुन्।
केन्द्रीयस्तरमा उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति, महामन्त्री गगन थापाको संयोजकत्वमा घोषणापत्र तयारी समिति र प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा प्रचारप्रसार समिति गठन भएको छ। खड्काको संयोजकत्वमा ५६ सदस्यीय र महतको संयोजकत्वमा ६८ सदस्यीय समिति बनेका छन्। त्यसैगरी थापा संयोजकत्वको समितिमा २७ जना छन्।
खड्का संयोजकत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशलगायत विभिन्न तहका सभापतिको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्न निर्देशन दिएको छ। कांग्रेसमा केन्द्र, प्रदेश, जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा गरी ७ तहका संरचना छन्।
महानगरपालिका प्रमुख–उपप्रमुखको केन्द्रीय संसदीय समितिले, उपमहानगर र नगरपालिका प्रमुख–उपप्रमुखको प्रदेश संसदीय समितिले, गाउँपालिका प्रमुख–उपप्रमुखको जिल्ला संसदीय समितिले र वडाध्यक्ष तथा सदस्यको प्रतिनिधिसभा क्षेत्र संसदीय समितिले उम्मेदवारको निर्णय गर्छन्।
कुनै पनि तहको प्रत्यक्षतर्फको मनोनयन दर्ता हुने मितिभन्दा एक महिना अघि उम्मेदवारको अन्तिम निर्णय गरिसक्नुपर्ने छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गतेका लागि उम्मेदवारी मनोनयनको मिति तोकेको छ।