आइतबार, साउन ३१, २०८३

पाँच दलीय गठबन्धन केटाकेटीको खेल : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई केटाकेटीको खेलको संज्ञा दिएका छन्।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई केटाकेटीको खेलको संज्ञा दिएका छन्। सोमबार प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन अदालतले बनाइदिएको आरोप लगाए।

उनले भने, ‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि, यो दुई दिनको केटाकेटीको खेल हो। अदालतले ल्याएर जोडजाड गरिदिएको पुतली हो। टालाटुली बटुली कति राम्री पुतली भनेजस्तो यी टालाटुली बटुलेका पुतलीहरु राम्रा पनि छैनन्। टाला पनि मिलाएर बनाउन जानेको छैन।’

ओलीले यो गठबन्धन अस्थायी भएको बताए। ओलीले भने, ‘स्थायी कुरा त जनताको आदेश हो। जनताको आदेश के थियो र के आउँछ भन्ने कुरा आगामी निर्वाचनले देखाउँछ।’ 

अध्यक्ष ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड र माधव नेपाल प्रतिगमनको विरोध गर्ने भन्दै प्रतिक्रियावादीको पछि लागेको टिप्पणी गरे। तत्कालीन नेकपामा प्रचण्ड–माधव समूहले सरकार र पार्टीविरुद्ध सकेजति बल लगाएको बताए ।

ओलीले भने, ‘उनीहरूले सकेसम्म गरे। बैठकबाट बाहिर निस्किएपछि सरकार र पार्टीविरुद्ध खोइरो खने। आन्दोलन समाप्त पार्न खोजे तर सफल हुन सकेनन्। त्यसपछि उनीहरूले पार्टी कब्जा गर्ने नियत लिए। कब्जा गर्न पनि असफल भएपछि प्रतिक्रियावादीको पछि लागेर दक्षिणपन्थी गठबन्धन बनाए।’ ओलीले यसपटक पार्टी नेताहरूले नभई कार्यकर्ताले जोगाएको भन्दै कार्यकर्तालाई धन्यवाद दिए।

प्रचण्डको चर्को आलोचना गरेका ओलीले मानिसहरुले नबुझेर वामपन्थी भन्दा प्रचण्ड सम्झिने गरेको भन्दै यदि प्रचण्ड कम्युनिस्ट हुन् भने आफू कम्युनिस्ट नभएको बताए। उनले भने, ‘मैले एक पटक भनेको थिएँ– यदि प्रचण्ड भन्ने मान्छे कम्युनिस्ट हुन् भने म कम्युनिस्ट होइन। म कम्युनिस्ट हुँदा प्रचण्ड कम्युनिस्ट हुनै सक्दैनन्। उहाँ अकारण देशमा द्वन्द्व मच्चाउनुहुन्छ, म शान्तिको पक्षमा हुन्छु। उहाँ जातजातमा भिडाउन खोज्नुहुन्छ, म मिलाउन खोज्छु। उहाँ मधेस र पहाडलाई भिडाउन खोज्नुहुन्छ, म शान्ति कायम गरेर मेलमिलाप गरेर अगाडि बढाउनुपर्छ भन्छु। उहाँ यो धर्म र त्यो धर्म भनेर घृणाको खेती गर्न खोज्नुहुन्छ, म त्यो गर्दिनँ। उहाँ वामपन्थी आन्दोलन कमजोर पार्न काम गर्न हुनुहन्छ, म बलियो बनाउन लाग्छु। मैले एकता गराउने काम गरेँ, उहाँ पार्टी फुटाएर हिँड्नुभयो।’

ओलीले तत्कालीन नेकपा माओवादी केन्द्रलाई आफूले बलपूर्वक एकतामा ल्याएको समेत दाबी गरे। उनले भने, ‘झ्याप समातेर घिस्याएर ल्याएको हो, अब त ठीकै भयो होला भनेर यसो छोडेको त गुरुरु टाप।’ 
प्रकाशित: Apr 04, 2022| 16:12 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...